'व्युरो चिफ'का उपमाले चर्चित स्व. अरुण जेट्ली

'व्युरो चिफ'का उपमाले चर्चित स्व. अरुण जेट्ली

बसन्त कुमार उपाध्याय  |  विदेश  |  भदौ ०७, २०७६

दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैले छैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनी गफ गर्थे । भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली ।

दिल्ली विश्वविद्यालय अध्ययन गर्नेहरू उनलाई छात्र संघका सदावहार अध्यक्ष मान्छन्, भारतीय पत्रकारहरु उनलाई व्युरो चिफ भन्थे, क्रिकेटरहरू उनलाई स्पिनर अध्यक्ष मान्थे, राजनीतिज्ञहरू उनलाई संकटमोचकका रूपमा लिन्थे , वकिलहरू उनलाई अजेयका रूपमा देख्थे ।

जयप्रकाश नारायणको आन्दोलनमा सन् १९७४ मा सक्रिय भएका अरुण जेट्लीको गत २४ अगस्टमा निधन भएको छ । सन् १९५२ मा दिल्लीमा जन्मिएका स्व. जेट्ली त्यतिबेला चर्चामा आए, जब उनी इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएकी थिइन् । संकटकालसँगै स्व. जेट्लीले १९ महिना जेल जीवन बिताएका थिए । उनलाई अम्बाला र तिहाड जेलमा राखिएको थियो ।

अखिल भारतीय आयुर्विज्ञान एम्समा ९ अगस्टका दिन भर्ना भएका जेट्लीले २४ अगस्टमा अन्तिम स्वास लिँदै यो संसारबाट भौतिक रूपमा बिदा भए । सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गराएका जेट्ली लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।

उनले आफ्नै स्वयंवरसमेत बिर्सेका थिए भन्ने पनि खुबै चर्चा हुने गरेको थियो । का‌ंग्रेसका नेता गिरिधारीलालकी छोरीसँग यिनको विवाह भएको थियो । चर्चा त यतिसम्म भएको थियो रे कि अब जेट्ली कांग्रेसमा जोडिन्छन् तर उनी भाजपामै सक्रिय भएर राजनीतिमा लागिरहे ।

करिअरको सुरुवातमा पेसाले वकिल रहेका स्व. जेट्लीले पत्रकारहरूलाई समाचारका शीर्षक कसरी राख्ने र कुन राख्नेसम्मको सुझाव दिन भ्याउँथे । एक जना पुराना पत्रकार प्रभु चावला उनका बारेमा चिया गफमा खुबै रोचक कुरा सुनाउने पनि गर्थे ।

सन् १९७४ मा दिल्ली विश्वविद्यालयको विद्यार्थी संघका अध्यक्ष रहेका स्व. जेट्लीका बारेमा पत्रकार रजत शर्मा बडो गजबले कुरा सुनाउँछन् । कुनै बेला थियो, श्रीराम कलेज अफ कमर्सका विद्यार्थी रहेका दुवै जना एक पटक रजत शर्मासँग कलेजको फी तिर्ने चार रुपैयाँ अपुग भएपछि  जेट्लीले तिरिदिएका थिए । यो कुरा पत्रकार रजत शर्माले कैयौँ पटक उनको चर्चित कार्यक्रम 'आपकी अदालत'मा भनेका पनि छन् ।

दिल्लीको फिरोज शाह कोट्ला क्रिकेट मैदानलाई अत्याधुनिक अन्तर्राष्टिय स्तरको बनाउनुमा स्व. जेट्लीको ठूलो योगदान रहेको छ । 

सन् १९९९ देखि २०१२ सम्म दिल्ली जिल्ला क्रिकेट संघको अध्यक्ष रहेका स्व. जेट्ली विवादमा त्यतिबेला आए, जतिबेला बोर्डका सदस्यहरू कृति आजाद र विशनसिंह वेदीले उनीमाथि आर्थिक अनियमितताको आरोप लगाए ।  त्यही विषयलाई अरविन्द केजरीवालले पनि खुबै चर्काए तर पछि आरोप प्रमाणित हुन नसकेपछि केजरीवालले माफीसमेत माग्नुपरेको थियो । तर लोकपालको विषयमा अन्ना हजारेको आन्दोलनमा उनको पूर्ण समर्थन थियो ।

राजनीतिक यात्रामा उनी बाजपेयी सरकारमा राज्यमन्त्री बनेका थिए । सन् २००० मा क्याविनेट मन्त्री बनेका थिए । भारतीय जनता पार्टीको महासचिवका रूपमा पनि काम गरेका थिए उनले ।
राज्यसभामा विपक्षी नेताको भूमिका निभाइसकेका स्व. जेट्लीले सन् २०१४ को लोकसभा निर्वाचन हारेयता राज्यसभा सदस्य हुँदै नरेन्द्र मोदी नेतृत्वको पहिलो सरकारका संकटमोचकका रूपमा अर्थमन्त्री भएर काम गरेका थिए ।

भारत सरकारले सन् २०१६ मा ५०० र १००० को नोट चलाउन रोक लगाउने निर्णय गराएका स्व. जेट्ली आफ्नो धारणा स्पष्ट राख्ने वक्ता पनि थिए । भारतको वित्तीय सुधारमा बैंक एकीकरण, जीएसटी कर,जनधन योजनालगायतका कामहरूका लागि भारतमा स्व. जेट्लीलाई श्रेय जान्छ ।

तर 'बलात्कारका घटना त भइरहन्छन्' भन्ने विवादित अभिव्यक्ति दिएका स्व. जेट्ली आफ्नो गल्ती भएको बुझनेवित्तिकै माफी माग्न पछि पर्दैनथे । भारतीय बदनाम व्यापारी विजय माल्याले देश छाड्नुअघि जेट्लीलाइृ भेटेको भन्ने प्रसंगमा पनि उनी विवादमा फसेका थिए ।

याे पिन 

भारतीय जनता पार्टीका वरिष्ठ नेता जेटलीको निधन