निर्जला कक्षपति | दृष्टिकोण | भदौ १०, २०७६
एक जना महिला वकिलले फोनमा कुरा गर्दै थिइन्, 'मेरो लागि त सबभन्दा पहिले आफ्नो करियर हो त्यसपछि सन्तान अनि परिवार ।' उनले गरेको सम्वाद सुनेपछि म निकै सोचमग्न हुन बाध्य भएँ । साँच्ची महिलाका लागि सबभन्दा पहिलो प्राथमिकता के रहेछ त ? यसो हेर्दा करियर पनि उत्तिकै महत्त्वपूर्ण, परिवार पनि नभई नहुने अनि आफ्नो सन्तान त झनै प्यारो र महत्त्वपूर्ण लाग्ने !
मलाई मात्र उत्तिकै महत्त्वपूर्ण लाग्ने हो कि अरूलाई पनि हो ? भनेर मैले केही नयाँ र पुराना पुस्ताका व्यक्तिहरूलाई पनि सोध्न थालेँ- 'तपाईंलार्ई आफ्नो घरपरिवार, सन्तान र करियरमध्ये कुनचाहिँ महत्त्वपूर्ण लाग्छ ? अथवा भनौँ, तपाईंले यी तीनमध्ये छान्दा कसलाई बढी प्राथमिकता दिनुहुन्छ ? र, एउटा मात्र छान्नुपर्यो भने कुनलाई छान्नुहुन्छ ?'
जवाफ थरीथरीका आएको पाएँ ।
यसरी जवाफ दिनेहरूमा तीसको दशकपछि जन्मिएका धेरैले करियरलाई पहिलो प्राथमिकता दिएको पाएँ । उनीहरूले करियर नै आफनो सबभन्दा ठूलो कुरो हो भने २० को दशकमा जन्मिएकाहरूले परिवार र आफ्नो सन्तानलाई महत्त्व दिए । कसैले भने यी तीन कुरालाई नै उत्तिकै महत्त्वपूर्ण ठान्दारहेछन् ।
देशमा राजनीतिक परिवर्तनसँगै महिलाहरूको चेतनाको स्तर पनि बढोत्तरी भएको छ । यसमा कुनै शङ्का गर्ने विषय रहेन । चेतनाको स्तर बढे सँगसँगै महिलाहरूले पनि आफ्नो करियरलाई महत्त्व दिन थालेको देखिन्छ । आफ्नो घरबार बसोस् वा नबसोस्, यदि आफ्नो करियर बनाउन सकियो भने महिलाहरू आफ्नो खुट्टामा बाँच्न सकिन्छ भन्ने सोच्न थालेको देखिन्छ । त्यसैले आफ्नो गाँस कटाएर र ज्याला मजदुरी गरेरै भए पनि छोरीलाई पढाउने संस्कार र संस्कृतिको रूपमा विकास हुन थालेको देखिन्छ । त्यसैको फलस्वरूप भन्नुपर्छ महिलाहरूको सोचमा पनि व्यापक परिवर्तन आइरहेको सहज अनुभव गर्न सकिन्छ ।
करियर सन्तान अनि घरपरिवार कुनै पनि व्यक्तिका लागि निकै नै महत्त्वपूर्ण कुरा हुन् तर महिलाका लागि भने यी तीन कुराको व्यपस्थापनमा यदि श्रीमान् र घरपरिवारको साथ सहयोग नपाउने हो भने एक मात्र छान्नुपर्ने बाध्य हुनुपर्ने अवस्था छ । कति महिलाले त यसलाई तारतम्य मिलाउन नसक्दा आफ्नो करियरलाई तिलाञ्जलि दिनुपरिरहेको छ ।
हुनत यी तिनै कुराहरू महिला वा पुरुष दुवैका लागि उत्तिकै महत्त्वपूर्णका छन् । तर करियर र व्यवस्थापनको कुरा गर्दा पुरुषको जीवनमा भने यस्तो प्रश्नले कुनै प्रभाव पारेको देखिँदैन । महिलाको जीवनमा भने यी तीन कुराले निकै नै ठूलो प्रभाव पारेका हुन्छनन् । महिलाहरूलाई यी विषयको तारतम्य मिलाउन निकै नै धौधौ परेको हुन्छ । विवाहअघि आफ्नो करियरलाई निर्बाध ढंगले अगाडि बढाइरहेकी एउटी महिलालाई विवाहपछि भने आफ्नो पेसा व्यवसाय जोगाउन नै निकै कठिन पर्ने गरेको उदाहरणहरू हाम्रो समाजमा थुप्रै भेटिन्छन् ।
करियर सन्तान अनि घरपरिवार कुनै पनि व्यक्तिका लागि निकै नै महत्त्वपूर्ण कुरा हुन् तर महिलाका लागि भने यी तीन कुराको व्यपस्थापनमा यदि श्रीमान् र घरपरिवारको साथ सहयोग नपाउने हो भने एक मात्र छान्नुपर्ने बाध्य हुनुपर्ने अवस्था छ । कति महिलाले त यसलाई तारतम्य मिलाउन नसक्दा आफ्नो करियरलाई तिलाञ्जलि दिनुपरिरहेको छ ।
व्यक्ति-व्यक्ति मिलेर परिवार बन्छ अनि परिवार-परिवार मिलेर समाज बन्ने हो । हाम्रो जस्तो समाजमा परिवारको निकै ठूलो महत्त्व छ । एक जना बच्चाका लागि परिवार नै पहिलो पाठशाला बन्छ । परिवारमा सँगै रहँदा एकअर्कामा माया र हेरचाह हुनु स्वाभाविक हो । ठूलाले सानालाई गाइड पनि गरिन्छ । कतिपय संस्कार र संस्कृतिका कुराहरू परिवारकै सदस्यबाट नै सिकिने हो । हाम्रो जस्तो समाजमा परिवारको एक जना सदस्यले कमाउने अनि त्यही कमाइबाट परिवार पालिने चलन अहिलेसम्म पनि हटिसकेको छैन । अहिले भने घरका सबै सदस्यले कमाइ गर्नुपर्छ, एक जनाको कमाइमा आश्रित भएर रहनुहुँदैन भने सोचको विकास हुँदै आएको छ । पहिले पहिले प्राय: धेरै जनाको संयुक्त परिवार नै हुने गर्थ्यो । अहिले आएर धेरै मानिसहरू एकल परिवारमा बस्न रुचाउन थालेका छन् ।
संयुक्त परवार र एकल परिवारको आआफ्नै फाइदा बेफाइदा होलान् तर सजिलोका लागि एकल परिवारमा बस्न रुचाउनेको संख्या पनि दिन प्रति दिन बढ्न थालेको छ । परिवार भनेको आफू, आफ्नो श्रीमान् र आफूले जन्माएको बच्चा मात्र हो भन्ने बुझाइ गलत रहेको छ ।
महिला होस् वा पुरुष उसको जीवनमा करियरका पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । यही आफ्नो करियर बनाउनका लागि २०औँ वर्ष खर्च गरिएको हुन्छ । आफ्नो अथक परिश्रम र मिहिनेत त छँदै छ बाबुआमाको पनि उत्तिकै मिहिनेत र लगानी परेको हुन्छ । त्यसैले आफ्नो पढाइअनुसारको काम गर्न नपाएर घरमा थन्केर बस्नु पर्दाको पीडा कति हुन्छ, त्यो हामी सहजै अनुमान गर्न सक्छौँ । परिवार र आफूले जन्माएको बच्चा त्यत्तिकै महत्त्वपूर्ण छँदै छन् ।
हिजोआज भने यसलाई अलिक फरक ढंगले पनि हेर्न थालिएको छ । युवा पिँढीको सोच पनि केही परिवर्तनकारी देखिन्छ । परिवार सन्तानलाई महत्त्व नदिएर आफ्नो करियर बनाएर बस्ने महिलाहरूको संख्या समाजमा बढ्दै गएको छ । उनीहरू विवाहलाई ठूलो कुरो मान्दैनन् । कसैसँग घर बस्न नसके पनि उनीहरूमा डर, हीनता, पश्चाताप केही पनि देखिँदैन । बच्चा जन्माउनु जरुरी ठान्दैनन् । हुनत यी सबै कुरा व्यक्तिको आफ्नो स्वेच्छामा भरपर्ने कुरा हो । तर पनि एउटा के अनुमान गर्न सकिन्छ भने यसरी आत्मबल बढ्नुको कारण उनीहरूले प्राप्त गरेको शिक्षा र रोजगारी नै प्रमुख कारण हो ।
आफ्नो परिवारको साथ र सहयोग सधैँ पाइयोस्, श्रीमानको माया पाइयोस्, आफ्नो करियर पनि धरापमा नपरोस् अनि बच्चाको रेखदेख पनि राम्रोसँग होस्, बच्चा राम्रोसँग हुर्काउन पाइयोस् भन्ने चाहना कुनचाहिँ महिलालाई नहोला र ? तर यी सब कुरा कसैलाई पुग्ने गर्छ, कसैलाई पुग्दैन । बाध्यताकै कारण, बच्चा पिठ्युँमा बोकेर गिटी कुट्ने महिला दिदीबहिनीहरू पनि यही समाजमा नभएका होइनन् । बाध्यताकै कारण, बच्चालाई रुवाउँदै ‘डे केयर सेन्टर’ छाडेर जागिर खान धाउने महिलाको संख्या पनि ठूलो छ समाजमा ।
समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा हाम्रै हातमा छ । श्रीमतीको करियर बनाउन घरपरिवार र विशेषगरी श्रीमानको पनि उत्तिकै ठूलो जिम्मेवारी र भूमिका हुन्छ ।