दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविद्हरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेलापारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेलापारिएको चिहानमध्ये सबैभन्दा ठूलो हो ।
राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खनन्का क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्त्वविद्हरूले यो स्थानमा गत वर्षदेखि उत्खनन्को काम सुरु गरेका थिए ।
हुआनचाकोमा प्रागऐतिहासिककालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । यो स्थानमा बालबालिकाको बलि दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । 'यो ठाउँमा बलि चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो', प्रमुख पुरातत्त्वविद् फारेन क्यास्टिल्लोले बताउनुभयो । क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुसी पार्न बलि चढाइएको बताउनुभयो । उहाँले अझै पनि यस्ता चिहान भेटिनसक्ने बताउनुभयो । 'यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ', क्यास्टिल्लोले भन्नुभयो ।
यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिककालमा धेरै बालबालिकालाई बलि चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो । पुरातत्त्वविद्हरूले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्छ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बलि चढाइएका १४० जना बालबालिकाको अवशेष फेलापरेको थियो ।
चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो तर इन्काहरूले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो ।