आर्थिक वर्षको अन्त्यमा काम सुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु र सवारी साधन प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–वीपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम सुरु गर्दा अलपत्र बनेको हो ।
दुईतिर पर्खाल लगाइएको करिव ४७१ मिटर सडकको दूरवस्थाका कारण सवारी चल्नसक्ने अवस्था छैन । सडकमा हिलो भएपछि पैदल यात्रु पनि हालै लगाइएको पर्खालमाथिबाट मात्र हिँड्न सक्छन् । पर्खालको चौडाइका कारण एकातिरबाट मात्र पैदल हिँड्न सकिन्छ । एकातिरको पर्खालबाट पैदल यात्रु आउजाउ गर्दा खस्नसक्ने समस्या हुने गरेको छ । वीपी चोकबाट मोटरसाइकललगायत सवारी साधन लिएर जानेले वागमती पुलमाथि राखेर हिँड्नुपर्छ ।
भद्रवासबाट मोटरसाइकललगायत सवारी साधन लिएर आउनेले भद्रवासको आदर्श माध्यमिक विद्यालय नजिकै राख्नुपर्ने बाध्यता छ । विद्यालयअघिको सडक पनि हिलोले जीर्ण छ । बनाउन नगरपालिकालगायत सरोकारवाला निकायको ध्यान जान सकेको छैन । यो सडकबाट साँखु र भक्तपुरको चाँगुनारायण जान यस क्षेत्रका मानिसलाई सहज हुन्छ । स्थानीयवासी कृष्णदेव पुडासैनी आर्थिक वर्षको अन्त्यमा रकमान्तर भई आएको बजेटले हतारमा काम गर्दा सम्पन्न हुन नसकेको बताउनुहुन्छ ।
पर्खाल लगाएको एक महिनामा केही ठाउँमा भत्किएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएर बनाइएको भनिएको सडकमा कतै पनि आयोजनासम्बन्धी सूचना राखिएको छैन । हतारमा सडक बनाइएकाले प्राविधिक अध्ययनसमेत नगरिएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी हरिकृष्ण श्रेष्ठ प्राविधिक अध्ययन नगरी सडकको दायाँबायाँ पर्खाल लगाउँदा कहिले डुबानमा नपर्ने बलौटे माटो भएको खेतसमेत जलमग्न भएको बताउनुहुन्छ । यस क्षेत्रको वागमतीको फाँटमा अझै पनि धेरै खेती भइरहेको छ । पर्खाल लगाएपछि यस वर्ष लगाइएको मकैसमेत राम्रो उत्पादन भएन । धान पनि नफल्ने किसानको चिन्ता छ । जग्गा प्लटिङ गराउने उद्देश्यले मिलेमतोमा रातारात पर्खाल लगाएको पीडित कृषकको गुनासो छ । खेतको बीचमा यसै वर्ष बनाइएको घर पनि महिनौँदेखि डुबानमा परेको छ ।
कुनै सवारी सडक पार गर्न खोजे हिलोमा फस्ने गरेका छन् । निकाल्न डोजर बोलाउनुपर्छ । यो सडक पार गर्ने यात्रु असारे विकासको परिणाम स्वरूप यस्तो भएको बताउँछन् । यात्रु शर्मिला नगरकोटी विकासका नाममा जनतालाई दुःख दिने काम भएको बताउनुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका- ३ मा यो सडक पर्छ । वडा अध्यक्ष राममणि पुडासैनी तीनवटा उपभोक्ता समिति बनाएर ४७१ मिटर सडकमा पर्खाल लगाइएको बताउनुहुन्छ । 'काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँबाट एक करोड ५० लाख रुपैयाँमा यो योजना सञ्चालन गरिएको हो । यो बजेटबाट साउनेमूलतिर पनि पर्खाल लगाउन १५ लाख खर्च गरियो', उहाँले भन्नुभयो । पर्खाल लगाउनुअघि धेरैतिरबाट निकास गएर डुबानमा पर्ने समस्या नहुने गरेको वडाध्यक्ष पुडासैनीले स्वीकार गर्नुभयो ।
आवको अन्त्यमा ठेक्का लगाउने समय नभएकाले ४७१ मिटर सडकमा पर्खाल लगाउन तीनवटा उपभोक्ता समिति बनाउन बाध्य हुनुपरेको वडा कार्यालयले जनाएको छ । रूपेन्द्र पुडासैनी, सुरज पुडासैनी र शालिकराम पुडासैनी गरी तीन जनालाई तीन उपभोक्ता समितिको अध्यक्ष बनाइएको वडा सदस्य बद्री पुडासैनीले जानकारी दिनुभयो । तीनवटा उपभोक्ता समिति बनाइए पनि काम भने ओखलढुङ्गातिरको निर्माण व्यवसायी ल्याएर गरिएको स्थानीयवासीले सुनाए । आवको अन्त्यमा आएको बजेट खर्च गर्न सार्वजनिक खरिद ऐन र नियमावलीको प्रावधानविपरीत एक करोड रुपैयाँभन्दा माथिको योजना पनि तीनवटा उपभोक्ता समिति गठन गरेर सम्पन्न गरी कागजात बनाइएको हो । वडा कार्यालयले काम सम्पन्न भएको दाबी गरे पनि सडक अलपत्र छ । सवारी पास हुँदैन । पैदल यात्रु पर्खालबाट तल झरेर हिँड्न सक्दैनन् । दुईतिरको पर्खालले पानी पास नहुँदा यस क्षेत्रको धान खेतीमा प्रभाव परेको स्थानीयवासी श्रेष्ठको गुनासो छ ।
प्राधिकरणका इञ्जिनीयर रञ्जन सिलवाल अर्थ मन्त्रालयका सचिवलाई पटक पटक आवको अन्त्यमा बजेट नपठाउनुस् भन्दा पनि पठाएर हतारमा काम गराएको स्वीकार गर्नुहुन्छ । 'अर्थ मन्त्रालयका एक सहसचिवको रुचिमा यहाँ बजेट आएको हो, बजेट डिमार्केसन वाल लगाउन आएको हो, त्यो काम राम्रोसँग सम्पन्न भएको छ', उहाँको दाबी थियो । प्राविधिक रूपले पर्खाल बनाउन उपयुक्त छ कि छैन भन्ने अध्ययन नभई रातारात आएको पैसा सिध्याउँदा गुणस्तरीय काम नभई बालुवामा पानी हाले जसरी बजेट सकिएको स्थानीय पीडितको गुनासो छ ।