बढ्यो चिदम्बरमको हिरासत

दोस्रो पटकमा ३० अगस्टसम्म म्याद थपियो

बढ्यो चिदम्बरमको हिरासत

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ११, २०७६

दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए ।

नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै लम्बिएको छ । उनी गत २२ अगस्टका देखि सीबीआई हिरासतमा छन् ।

अब सीबीआईले ३० अगस्टका दिन उनलाई पुनः अदालतमा उपस्थित गराउँने छ । तबसम्म उनी सीबीआईको हिरासतमा रहने छन् ।

अदालतले २२ अगस्टमा उनलाई ५ दिनका लागि सीबीआई हिरासतमा पठाएको थियो । 

हिरासतको अवधि सकिए पछि २७ अगस्टमा सीबीआईले उनलाई पुनः अदालतमा उपस्थित गराइ हिरासतको अवधि थप गर्ने माग गरेकोमा अदालतले ४ दिनको हिरासत अवधि थपेको हो ।
विशेष अदालतमा सीबीआईका वकील तुषार मेहताले चिदम्बरमको हिरासत अवधि थप गर्ने माग गरेका थिए ।

सीबीआईले अदालतलाई यसै भ्रष्टाचारको आरोपमा मुछिएको अर्को एक जना अभियुक्तलाई चिदम्बरमसंगै राखी सोधपुछ गरेको जानकारी गरायो । सीबीआईका अनुसार दुबै जनाको पुरानो ईमेल जाँच गर्दा उसले महत्वपूर्ण सबुत फेला पारेको छ ।

आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा चिदम्बरमका साथै नीति आयोगको पुर्व सीईओ सिंधुश्री खुल्लर पनि सह आरोपी रहेकी छन् ।

चिदम्बरम वित्तमन्त्री हुँदा सिंधुश्री खुल्लर ११ अप्रिल २००७ देखि ११ सेप्टेम्बर २००८ सम्म वित्त मन्त्रालयको अतिरिक्त सचिव रहेकी थिइन् । यसै अवधिमा आइएनएक्स मिडिया भ्रष्टाचार भएको थियो । पछि खुल्लरलाई विशेष सचिव बनाइयो । उनी २००८ को नोभेम्बरसम्म यस पदमा रहिन् ।

सीबीआईका वकील मेहताले विशेष अदालतलाई वताए– सीबीआईले यस प्रकरणमा ‘मनी लन्ङ्गिग’ को जाँचका लागि पाँच देशलाई ‘लेटर अफ रोगेटरी’ (एलआर) पठाएको छ । यी देश इग्लैण्ड, स्विट्जरलैण्ड, बरमूडा, मोरीशस र सिंगापुर रहेका छन् ।