लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | भदौ ११, २०७६
भारतीय चन्द्रयान–२ को आर्बिटर र चन्द्र धरातल बीचको दूरी अब जम्मा १७९ किमि बाँकी छ । मुख्ययान आर्बिटर अहिले चन्द्रधरातलको नजिक हुँदा १७९ किमि र आर्बिटको परिक्रमामा टाढा हुँदा चन्द्र धरातलबाट १४१२ किमि परसम्म पुग्ने गरिरहेको छ । इसरोका वैज्ञानिक व्यग्रतापूर्वक ७ सेप्टेम्बरको पर्खाइमा छन् । ७ सेप्टेम्बरको बिहानै १ बजेर ५५ मिनेटमा ‘ल्याण्डर विक्रम’ ले चन्द्र धरातल स्पर्श गर्नेछ ।
काठमाडौं, इसरो ट्विटर । बंगलुरुस्थित नियन्त्रण कक्षमा रहेका वैज्ञानिकले २८ अगस्टको बिहान ९ बजेर ४ मिनेटमा चन्द्रयान–२ को इंजन प्रज्वलित गर्ने निर्देश पठाए ।
पृथ्वीबाट चन्द्रयानसम्म यो सन्देश पुग्न १.२ सेकेण्डको समय लाग्यो । सन्देश पाएर इंजन प्रज्वलित भयो
प्रज्वलित भएको इंजनलाई ११९० सेकेण्ड पछि बन्द हुने सन्देश पठाएर यानको इंजन पुनः बन्द गरियो । अन्तरिक्ष वा चन्द्रयात्रामा यानको इंजन आवश्यक भएको बेला मात्रै सक्रिय गराइन्छ । इंजन बन्द भए पनि यानले गति गर्ने, आर्बिटमा घुमिरहने कार्य गुरुत्वाकर्षण बलको कारणले गरिरहन्छ ।
२८ अगस्टको बिहान ९ बजेर ४ मिनेटमा यानको इंजन प्रज्वलित गरेर इसरोको वैज्ञानिक टिमले यानलाई चन्द्रमाको झन तल्लो आर्बिटमा पुर्याएका छन् । ११९० सेकेण्ड इंजन प्रज्वलित भयो, यसै अवधिमा वैज्ञानिकले यानलाई १७९×१४१२ किमिको चन्द्र आर्बिटमा स्थापित गरिदिए ।
सजिलो भाषामा यसरी बुझौ– चन्द्रयान–२ अहिले चन्द्रमा माथिको आकाशमा रहेर चन्द्र धरातलको परिक्रमा गरिरहेको छ । परिक्रमा पथमा यात्रा गरिरहँदा यान र चन्द्र धरातलको दुरी कम्ती हुँदा १७९ किमि र अधिकतम दुरी १४१२ किमि सम्म पुग्छ ।
खगोलविदले दुइ पिण्ड नजिक हुँदाको स्थितिलाई अपोगी र टाढा हुँदाको स्थितिलाई पेरोगी भन्ने गर्छन् । यी शब्द ल्याटिन भाषाबाट आएका हुन् ।
२२ जुलाईमा पृथ्वीबाट प्रक्षेपण गरिएको चन्द्रयान–२ ले २० अगस्टका दिन चन्द्रमाको आर्बिटमा प्रवेश गरेको थियो । चन्द्र आर्बिटमा प्रवेश गर्दा चन्द्रयान ११४×१८०७२ किमि माथिल्लो आर्बिटमा स्थापित भएको थियो
२१ अगस्टमा यसको आर्बिट परिवर्तन गरि ११४×४४१२ किमि आर्बिटमा झारियो । यसैगरी अगस्ट २८ मा यानलाई तेस्रो चन्द्र आर्बिटमा स्थापित गराइएको हो ।
इसरोका अनुसार ३० अगस्टको बेलुका ६–७ को बीचमा यानलाई झन तल्लो चन्द्र आर्बिटमा, १२६× १६४ किमिमा स्थापित गराइनेछ ।
भारतीय अभियानको सबैभन्दा गाह्रो पक्ष २–३ सेप्टेम्बरमा हुनेछ । चन्द्र धरातलदेखि १००×१०० को आर्बिटमा रहदा मुख्ययान आर्बिटरबाट चन्द्रमामा ओर्लिने अर्को यान ‘ल्याण्डर विक्रम’ लाई विच्छेद गरी अवतरणका लागि पठाइनेछ । मुख्ययान आर्बिटर भने १०० किमि माथिल्लो आर्बिटमा रहेर परिक्रमा गरिरहनेछ ।
दुबै यान बेग्लै भएपछि इसरोलाई झनै चुनौती थपिन्छ । मुख्ययान आर्बिटरलाई नियन्त्रण गर्नुका साथै ‘ल्याण्डर विक्रम’ लाई पनि नियन्त्रणमा राख्नु पर्छ ।
४ सेप्टेम्बरमा ल्याण्डर विक्रम ३५×९७ किमि माथिल्लो चन्द्र आर्बिटमा पुग्छ । अर्को तीनदिनसम्म यसले यसै ऊचाईबाट चन्द्र परिक्रमा गरिरहन्छ । त्यसपछि यसको (ल्याण्डर विक्रम) इंजन प्रज्वलित गरी यसलाई अत्यन्त कम गतिमा संचालित गरी चन्द्रमामा ओरालिने छ । अवतरण हुनु पूर्वका अन्तिम १५ मिनेट इसरोका वैज्ञानिकहरुका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछन् ।
चन्द्रमामा अवतरण गर्ने बेलामा ल्याण्डर विक्रमको गति नियन्त्रत गरेर २ मिटर प्रति सेकेण्ड अर्थात ७ किमि प्रति घण्टामा ल्याउनु पर्छ । कुनै पनि चन्द्र अभियानको सबैभन्दा जटिल पक्ष यही नै हो । गति बढी भएमा चन्द्र धरातलसंग ठोक्किएर ल्याण्डर विक्रम ध्वस्त हुनसक्छ ।
ल्याण्डर विक्रमको चन्द्र अवतरण चन्द्रमाको दक्षिणी धु्रव स्थित दुईवटा क्रेटर मंजिनस सी र सिमपेलियस एनबीचको मैदानमा हुनेछ ।
इसरोसंग चन्द्र आर्बिटमा यान पुर्याउने पुरानो अनुभव छ । तर चन्द्रमामा ‘सफ्ट ल्याण्डिग’ गर्ने उसको यो पहिलो प्रयास हो । यो प्रयास सफल भएमा इसरो चन्द्रमामा ‘सफ्ट ल्याण्डिग’ गर्ने विश्वको चौथो अन्तरिक्ष एजेन्सी बन्न पुग्ने छ ।