रमेश क्षितिजः ‘साइलेन्ट सर्जक’, जो सिर्जनामै रमाउनुहुन्छ

रमेश क्षितिजः ‘साइलेन्ट सर्जक’, जो सिर्जनामै रमाउनुहुन्छ

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  भदौ १४, २०७६

उहाँलाई पढ्नेहरूले उहाँका सिर्जना मात्र पढ्छन् । उहाँलाई चिन्नेहरूले चाहिँ उहाँका सिर्जना र उहाँको व्यक्तित्व अनि स्वभावलाई पनि उहाँका सिर्जनामा जोडेर पढ्छन् । चर्चा र प्रचारमा अत्यन्त आउन नरुचाउने उहाँ वर्तमानका ‘आगो’, ‘छुरा’ वा ‘खतरा’ लेखकका कोटीमा पर्नुहुन्न । कारण– उहाँलाई ती विशेषण दिने ‘समालोचक’, ‘समीक्षक’, ‘पत्रकार’हरू उहाँसँग बसेर न जाँड खान्छन्, न त कफी नै । अर्थात् उहाँको प्रचारमुखी नभएर अन्तर्मुखी स्वभाव अनि आफ्नै गतिको सिर्जनकर्मले गर्दा उहाँ पर्दापछाडि नै बढी रहनुहुन्छ ।

हो, रमेश क्षितिज, जो आफ्नो सिर्जनकर्ममै मात्र विश्वास गर्नुहुन्छ, उहाँको जीवनयात्रा र सिर्जनायात्रा विविध पाटाबारे यस पटक लोकसंवाद डटकमले उधिन्ने प्रयास गरेको छ ।

जन्म, बाल्यकाल र अध्ययन

सल्यान जिल्लाको हिओल्चामा जन्मनुभएका रमेश क्षितिजको परिवार उहाँ बालक छँदै दाङ झर्‍यो । पहाडमा जन्मिएर तराईमा हुर्किनुभएका रमेशलाई पहाड र तराई दुवैतिरको सामाजिक, सांस्कृतिक, प्राकृतिक वातावरणमा घुलमिल हुने अवसर प्राप्त भयो । सानैदेखि प्रकृतिप्रेमी रमेशलाई आफू जन्मिएको र हुर्किएको प्राकृतिक वातावरण र सौन्दर्यले निकै मजाले छोयो । 

उहाँले पढ्ने स्कुल घरदेखि अलिक टाढै थियो । स्कुल जान र आउन ४५/४५ मिनेट लाग्थ्यो । त्यसबेला सवारी साधन थिएन, पैदल नै हिँड्नुपथ्र्यो । स्कुल जाँदा र घर आउँदा बाटोमा खोला थियो । वर्षाको बेला उक्त खोला बढेर घन्टौँसम्म खोलाको बाढी घट्ने समय कुरेर बिताउनुपथ्र्यो । बाटोमा देखिने प्राकृतिक दृश्यहरू निकै मोहक लाग्थे रमेशलाई । 

‘नदी, बजार, खेत, पाखा, पखेरा, यी सबै देखिन्थे त्यहाँ’, रमेश भन्नुहुन्छ, ‘यी प्राकृतिक दृश्यहरू नै मेरा सिर्जनाका स्रोत हुन्, प्रेरणा हुन् ।’ र, हुन पनि उहाँका प्रायः रचना प्रकृतिकै वरिपरि नै घुमिरहेका हुन्छन् । सूक्ष्म रूपले प्रकृतिको मानवीकरण गर्न रुचाउने स्रष्टाका रूपमा लिइन्छ रमेश क्षितिजलाई ।

‘यही जागिर छ र त देश विदेश घुम्न पाएको छु, परिवार र जीविका चलाएको छु, बचेको समय सिर्जनामा लगाउन पाएको छु ।’

स्कुल पढ्दै लेखनमा लाग्नुभएका रमेशलाई स्कुलका शिक्षकहरूबाट पनि लेखनका लागि निकै प्रोत्साहन हुनेगथ्र्यो रे ! स्कुलको पुस्तकालयमा रहेका कुनै पनि पुस्तक उहाँले पढ्न छुटाएजस्तो लाग्दैन रे ! ‘मलाई लेख्नमा भन्दा पढ्नमा बढी रुचि थियो’, रमेश भन्नुहुन्छ, ‘नेपाली र हिन्दी भाषाका भेटेजति पुस्तक पढेँ ।’

वि.सं. २०४३ मा दाङबाटै एसएलसी पूरा गरेर रमेश काठमाडौं आउनुभयो । इन्जिनियर बन्ने उहाँको इच्छा थियो तर पढ्नुपर्‍यो कानुन । भएछ के भने, उहाँका दाजु कानुन पढ्नुहुँदोरहेछ । रमेशलाई पनि ल क्याम्पसमै भर्ना गरिदिनुभएछ । दाजु वागबजार बस्ने र ल क्याम्पस नजिकै भएकाले पनि दाजुले भाइलाई सजिलो होस् भनेर त्यसो गर्नुभएको होला भन्ने लाग्छ रमेशलाई ।

कलेज विहान लाग्थ्यो, दिनभर खालि । तर, उहाँले त्यो खालि समय पनि अन्य बेतुकका काममा खर्चिनुभएन । दिउँसो कहिले सिनेमा हेर्ने, त्यो पनि सिर्जनशीलतामा सहयोगसँगै मनोरञ्जन पनि होस् भन्नाका लागि, कहिले रेडियो नेपाल जाने र अग्रज स्रष्टा÷संगीतकारसँग भेट गर्ने अनि कहिले पत्रपत्रिकाहरू खोजीखोजी पढ्ने गर्नुभयो । यसले आफ्नो सिर्जनशक्तिलाई अझ तिखारेको महसुस गर्नुभएको रहेछ रमेशले । 

ऊबेलाको काठमाडौं सम्झिँदा भने एकछिन उदास बन्नुभयो रमेश । मैतीदेवी बस्ने रमेशले ऊबेलाको मैतीदेवीको चित्र कोर्नुभयो– ‘यति सुन्दर थियो मैतीदेवी, खेत र तलाउ थिए, हरियाली थियो ।’ त्यसो त अहिलेको कंक्रिटको जंगलले भरिएको अनामनगरमा स्याल कुद्थे रे त्यसबेला । एक्लै हिँड्न निकै डरलाग्दो थियो रे ! तर पनि अनामनगरको ऊबेलाको प्राकृतिक सौन्दर्य रमेशका आँखामा झलझली आइरहेको छ । भन्नुहुन्छ– ‘ठूला फाँटहरू, लहलह धान झुल्ने खेत, हराभरा र शान्त, ओहो ! कति सुन्दर थियो काठमाडौं त्यो बेला !’

एउटा प्रकृतिपूजक, प्रकृति भनेपछि हुरुक्कै हुने, त्यही प्रकृतिकै काखमा बसेर प्रकृतिकै सौन्दर्य वर्णन गर्न रुचाउने, प्रकृति र मानवको सहज र स्वाभाविक अनि अन्योन्याश्रित सम्बन्ध खोजिरहने व्यक्ति, जो आफू जन्मेर्‍हुर्केको परिवेश र दृश्य खोज्दै छ, उसले उही गाउँको दृश्य काठमाडौंमै पाएपछि खुसी नहुने कुरै थिएन ।

रमेशलाई लाग्यो– ‘हो, यही हो मेरा लागि उपयुक्त ठाउँ ।’ र, उहाँ काठमाडौंमै रमाउनुभयो । उहाँले त्यसताका काठामाडौंमा रहेका सबैजसो ढुंगेधारामा नुहाउनुभएको सम्झना छ उहाँलाई । ‘आहा ! कस्तो आनन्द हुन्थ्यो ढुंगेधारामा नुहाउन’, स्मृतिमा हराउनुभयो रमेश केही क्षण ।

वि.सं. २०४९ मा उहाँले कानुनमा स्नातक पूरा गर्नुभयो । पछि कानुनमै स्नातकोत्तर गर्नुभयो भने जनप्रशासनमा पनि स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभयो । राजनीतिशास्त्र उहाँको रुचिको विषय भएर भर्ना भए पनि पूरा भने गर्नुभएन ।

अभिनय र खेलकुदमा पनि रुचि भएका रमेशले ती क्षेत्रमा भने निरन्तरता दिनुभएन । केही समय तेक्वान्दो खेल्नुभयो भने केही समय अभिनय सिक्नुभयो तर ती क्षेत्र आफ्ना लागि होइनन् भन्ने लाग्यो उहाँलाई । ‘मेरो खास क्षेत्र त लेखन नै रहेछ’, रमेश भन्नुहुन्छ, ‘त्यसमा पनि कविता र गीत ।’ उसो त उहाँले निबन्ध पनि लेख्नुभएको छ भने केही समयभित्रै उहाँको कथासंग्रह पनि प्रकाशन हुँदै छ ।

जागिरे जीवन

वि.सं. २०४६ तिरै कानुन सहायकका रूपमा जागिर खानुभएका रमेशले केही समय हुलाकघरमा नायव सुब्बाका रूपमा पनि जागिर खानुभयो । २०५६ सालमा लोकसेवा पास गरेर सरकारी अधिकृत बन्नुभएका रमेश हाल पर्यटन मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत हुनुहुन्छ । 

जागिरकै क्रममा उहाँले देशभित्रका र देशबाहिरका विभिन्न स्थानहरू भ्रमण गर्नुभएको छ । जागिरको क्रममा गर्नुपर्ने काम वा जिम्मेवारी त छँदै छ, त्यसबाहेक उहाँको भ्रमणको उद्देश्य नयाँ कुरा खोज्नु, नौलो संसार अनुभूत गर्नु अनि आफ्ना सिर्जनामा तिनै देखेका, भोगेका र अनुभूत गरेका विषयलाई दार्शनिक ढंगले मानवीय संवेदनासँग एकाकार गराएर प्रस्तुत गर्नु हुन्छ ।

उहाँको पछिल्लो कविताकृति ‘घर फर्किरहेको मानिस’मा उहाँले आफूले देश, विशेषगरी विदेश भ्रमणका क्रममा देखेका, भोगेका र अनुभूत गरेका घटना, विषयलाई समेट्नुभएको छ । ‘मलाई प्रकृतिसँगै हाम्रो जीवन बगिरहेको हुन्छ भन्ने लाग्छ’, रमेश भन्नुहुन्छ, ‘यस कारण पनि मेरा सिर्जनामा प्रकृति नै बढी आउँछ ।’

मानिसका विभिन्न आयाम हुन्छन्, राजनीतिक, सामाजिक, पारिवारिक आदि । उहाँका पनि छन् यस्ता आयाम । रमेश भने मूलतः स्रष्टाका रूपमा आफूलाई चिनाउन रुचाउनुहुन्छ तर सरकारी अधिकृत उहाँको अर्को पहिचान हो । जागिरे जीवनसँग उहाँको गुनासो त छैन तर कहिलेकाहीँ लाग्दोरहेछ– ‘यो जागिर नभइदिएको भए म कति धेरै लेख्थेँ/पढ्थेँ होला !’

फेरि अर्को मनले भन्दोरहेछ– ‘यही जागिर छ र त देश विदेश घुम्न पाएको छु, परिवार र जीविका चलाएको छु, बचेको समय सिर्जनामा लगाउन पाएको छु ।’

कहिले कविले अफिसरलाई र कहिले अफिसरले कविलाई सहयोग नै गरेको भने उहाँलाई लाग्छ नै ।

सिर्जनायात्राः कविता र गीत बढी प्रिय

स्कुल तहदेखि नै सिर्जनामा रुचि राख्ने रमेशले स्कुल पढ्दाताका नै कविता र गीतहरू लेख्नुभयो । विभिन्न स्कुलस्तरीय प्रतियोगिताहरूमा पुरस्कृतसमेत हुनुभयो । त्यसपछि पनि उहाँमा आफ्नो सिर्जनशीलता र सिर्जनशक्तिमा विश्वास बढेको हो भन्ने लाग्छ उहाँलाई । 

उहाँ विस्तारै रेडियो सुन्न थाल्नुभयो । त्यसताका रेडियो भन्नु सरकारी रेडियो अर्थात् रेडियो नेपाल मात्र त थियो । तर, ऊबेला रेडियोमा बज्ने गीतहरू भने निकै सदाबहार, निकै सुन्दर र निकै ओजिला हुने गरेका रमेश सम्झनुहुन्छ । ‘यस्तो लाग्थ्यो कि रेडियोबाट बज्ने ती सुन्दर गीतको सर्जक म नै हुन पाए !’, रमेश ऊबेलाको कल्पना सुनाउनुहुन्छ । त्यति मात्र होइन, उहाँले जुन राम्रा किताब पढ्नुहुन्थ्यो वा जुन राम्रा सिर्जनामा उहाँको ध्यान जान्थ्यो, उहाँलाई ती वा त्यस्तै सिर्जनाको सर्जक आफू हुनपाए ? भन्ने लागिरहन्थ्यो । ‘सायद मभित्र सिर्जनाको भोक, असल सर्जक हुने उत्कट चाहना ज्यादा नै थियो ऊबेला’, रमेश भन्नुहुन्छ ।

ऊबेला रेडियोमा बज्ने गीतहरू भने निकै सदाबहार, निकै सुन्दर र निकै ओजिला हुने गरेका रमेश सम्झनुहुन्छ । ‘यस्तो लाग्थ्यो कि रेडियोबाट बज्ने ती सुन्दर गीतको सर्जक म नै हुन पाए !’, रमेश ऊबेलाको कल्पना सुनाउनुहुन्छ ।

त्यसो त रमेशको स्वभाव नै अन्यको भन्दा भिन्न छ । नेपथ्यमा बसेर सुन्दर सिर्जना गर्नु, अध्ययन, भ्रमण र ध्यानमा केन्द्रित हुनु उहाँको स्वभाव हो । धेरै साथीभाइसँगको संगत, होहल्ला, चाकडी, चाप्लुसी र दम्भ उहाँका लागि रुचिका विषय होइनन् । त्यही भएर त उहाँ धेरैजसो साहित्यिक/सांगीतिक कार्यक्रमहरूमै पनि देखिनुहुन्न । आफ्नो अन्तर्मुखी स्वभावप्रति रमेशको कुनै चिन्ता वा गुनासो पनि छैन । भन्नुहुन्छ– ‘मेरो यही स्वभावले नै म सिर्जनकर्ममा एकत्रित हुनसकेको छु, केन्द्रित हुनसकेको छु ।’

नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा २०५१ मा प्रथम हुनुभएका रमेश यसअघि नै अर्थात् २०५० सालमा भएको रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय गीत प्रतियोगितामा सर्वोत्कृष्ट गीतकार बनिसक्नुभएको थियो । उहाँको ‘नमाग मसँग सहारा नमाग/भुइँमा छु आकाशका जूनतारा नमाग’ बोलको गीत, जुन भरत लामाको संगीतमा राजेशपायल राईले गाउनुभएको थियो, उक्त प्रतियोगितामा प्रथम हुन सफल भयो । त्यसयता एउटा जिम्मेवार र सशक्त गीतकारका रूपमा आफूलाई उभ्याइरहनुभएको छ रमेशले ।

संयोग कस्तो पर्‍यो भने, उहाँका धेरैजसो गीत नातिकाजीको संगीत र राजेशपायल राईको स्वरमा रहे । झण्डै १०० गीत रेकर्ड गराइसक्नुभएका रमेशको २०६३ सालमै ‘आफैँ आफ्नो साथी भएँ’ गीतसंग्रह प्रकाशन भइसकेको छ भने २०७० सालतिर सन्तोष श्रेष्ठको संगीतमा ‘क्षितिज’ गीति एल्बम पनि प्रकाशित छ ।

उहाँका ‘अर्को साँझ पर्खेर साँझमा, २०५७’ र ‘घर फर्किरहेको मानिस, २०६९’ नेपाली काव्यफाँटका अनुपम उपलब्धि हुन् । पहिलो कविताकृतिमा प्रकृतिसँग लहरिँदै गरिएका कविता संकलित भएका र दोस्रोमा मुलुकबाहिरका प्राकृतिक र सामाजिक अनि मानवीय विषयहरू समेटिएका कविता संगृहित रहेका रमेश बताउनुहुन्छ ।

उहाँ आफ्ना रचनामा विविध विषय भएका तर आफूले दिन खोजेको भने आफू बाँचेको समय, जीवनबोध र जीवनको रहस्यको खोजी रहेको बताउनुहुन्छ । ‘तर मेरा रचनाका बिम्बचाहिँ प्राकृतिक बिम्ब नै हुन् भन्ने लाग्छ’, रमेश भन्नुहुन्छ, ‘जीवन दर्शन पनि मेरो रुचिको विषय हो ।’

आफू जन्मिएको र हुर्किएको परिवेशले आफ्ना सिर्जनामा निकै प्रभाव पार्ने रमेशको बुझाइ छ । उहाँलाई लाग्छ– कविले कविता लेख्ने र माहुरीले मह बनाउने काम उस्तै हो । ‘माहुरीले फूलको प्राकृतिक रस चुसेर मह बनायो वा कृत्रिम रस चुसाएर बनाइयो’, रमेश भन्नुहुन्छ, ‘त्यसमा महको स्वाद फरक परेजस्तै कविताका बिम्ब र शैलीले कसरी निर्माण भएका छन्, त्यसले पनि कविताको स्वाद फरक पार्छ ।’

रमेशलाई समकालीन कवि र गीतकारको भीडमा अलग्गै छु भन्ने लाग्छ । उहाँ भन्नुहुन्छ– ‘मेरा रचनाको स्वाद अरूमा भेट्न नसक्नु नै मेरो छुट्टै पहिचान हो नि, होइन ?’ आफ्नै प्रकारको विषय, शैली र बिम्ब रमेशका रचनाका विशेषता पनि हुन् ।