संघीय संसदले किनेका गाडीमा प्राविधिक कमजोरी, आपूर्तिकर्तालाई कानुनबमोजिम कार्वाही गर्न सिफारिस

संघीय संसदले किनेका गाडीमा प्राविधिक कमजोरी, आपूर्तिकर्तालाई कानुनबमोजिम कार्वाही गर्न सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७६

काठमाडौं : संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ ।

संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेका ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो ।

सामान्य प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका तीनवटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको छानबिन समितिका एक सदस्यले जानकारी दिए । छानबिन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुनबमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ ।

प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरुको प्रयोजनका लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानबिनका लागि सांसद रामनारायण बिडारी संयोजक तथा सांसदहरू तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।