रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदै छ । दुवै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।
रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम)को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुग्नुभएको छ । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवर्द्धनका विषयमा छलफल हुने गर्छ । रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।
राजनीतिक रूपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वर्ल्ड इकोनोमी इस्टिच्युटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुवै नेताबीच आर्थिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीनबाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताउनुभयो ।
'यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुवै नेताबीच छलफल हुनसक्छ', उहाँले भन्नुभयो । सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनुहुनेछ । उहाँहरू दुवैले एकअर्कालाई सन् २००१ देखि नै चिन्नुहुन्छ । रुसी मिडियालाई दिनुभएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुवै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताउनुभएको छ ।
दुवै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो । भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको थियो ।