सुनसरीका शैक्षिक संस्थामा बम बिष्फोट, विप्लव समूहले गराएको प्रहरीको दाबी

सुनसरीका शैक्षिक संस्थामा बम बिष्फोट, विप्लव समूहले गराएको प्रहरीको दाबी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७६

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यराती बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कुलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुनसक्ने सुनसरीका प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

केही दिन अगाडि सुनसरीको इटहरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरूले नै बिष्फोट गराएको प्रहरी नायव उपरीक्षक शर्माको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उहाँले बताउनुभयो । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।