लोकसंवाद संवाददाता | समाचार | भदौ २०, २०७६
दक्षिण कोरियाले काठमाडौं उपत्यकाका प्राचीन बस्ती पुनर्निर्माण र स्मार्ट सिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्ट सिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पुनर्निर्माण तथा स्मार्ट सिटी निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले शहरी क्षेत्रको पुनर्निर्माण तथा स्मार्ट सिटीहरूको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुसी लागेको बताउनुभयो । सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरूको विकास गर्न तथा आवासहरूको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।