दुरा समुदायका संस्कारमा न्वारानदेखि पुटपुटेसम्म

दुरा समुदायका संस्कारमा न्वारानदेखि पुटपुटेसम्म

यमबहादुर दुरा  |  समाज  |  भदौ २०, २०७६

दुरा समुदायका आफ्नै जन्मसंस्कार प्रचलनमा रहेका छन्  । पेटमा बच्चा आएको थाहा पाएदेखि हुनेवाला बच्चाका आमा र बुबाले आ–आफनै नियम पालना गर्नुपर्ने हुन्छ । खाशगरी काटमारबाट अलगै रहनुपर्छ भन्ने मान्यता छ । बच्चा नजन्मँदासम्म बुबाले आफ्नो कपाल समेत काट्न हुँदैन भन्ने मान्यता रहेको छ । बच्चा जन्मे पछि सुतक बार्ने चलन त छंदैछ । सुतकमा पूजाआजा गर्न बन्देज लगाइन्छ । बच्चा जन्मेको तीन दिनमा सम्बन्धित घर तथा भाइखलकको घरमा गाईको गहुँत छर्केर चोख्याउन चलन छ । 

बच्चा जन्मिएको छैटौं दिनमा सुत्केरी र बच्चालाई चोख्याउने आफ्नै विधि रहेको छ । त्यस कार्यलाई ‘छैटु’ भनिन्छ । उक्त दिन बच्चा र आमालाई नुहाइ धुवाइ गर्ने गरिन्छ । चामलको भातमा बेसार हाली पकाइन्छ । परम्परागत रूपमा यस संस्कारलाई ‘बच्चा निकाल्ने’ पनि भनिन्छ । बच्चालाई सुत्केरी कोठाबाट हातमा नचाउँदै बाहिर निकालिने परम्परा रहेको छ । बच्चाको नाभी झरेपछि त्यसलाई नजिकको चौतारीमा गाड्ने चलन छ । कसैकसैले त्यही नाभीलाई जन्तर बनाएर बच्चाको घाँटीमा लगाइदिने गरेको पनि पाइन्छ । तर, अहिले यस्तो चलनमा व्यापक ह्रास आउँदै आएको छ । 
न्वारान

सामान्यतयाः दुरा समुदाय सातौँ, नवौँ र एघारौंँ दिनमा न्वारान गर्ने चलन रहिआएको छ । न्वारान गर्दा पनि गाउँका बुढापाका मानिसहरू भेला भएर गर्ने गरिन्छ । न्वारन गर्दा परिवारको खर्च गर्ने गच्छेअनुसार भाइखलकका आमा र इष्टमित्रका पनि आमाहरूलाई निम्तो गरिन्छ । परदेश गएको अवस्थामा बाहेक बच्चाको बुबा न्वारानसम्बन्धी जमघटमा अनिवार्य उपस्थित हुनुपर्ने चलन छ । 

पहिले पहिले घरको पाको सदस्यले बच्चाको नाम राख्ने चलन थियो । अहिले बच्चा जन्मेको समय, दिन र तिथि हेरेर बच्चाको राशीको नाम चलन पनि आएको छ । राशीको नाम सामान्यतयाः गोप्य रहन्छ । त्यसपछि बोलाउने नाम राखिन्छ । यस कार्यमा  लामा वा व्रह्मण पण्डितको सहयोग लिइन्छ । घरका अग्रज सदस्य (मूलतः बाजे वा बज्यै) ले बच्चाको हात, गोडा र घाँटीमा बेसार र खरानीले रङगाइएको धागो बाँधिदिन्छन् । यसलाई ‘रख्खेडोरो’ गर्ने चलन छ । घाँटीमा रख्खे बाँधिदिने काममा उसका मावली र छरछिमेकीको पनि  सहभागिता रहने गरेको छ । बच्चालाई रोगव्याधि नलागोस् तथा उसको सर्वत्र रक्षा होस् भन्नका लागि ‘रख्खेडोरो’ बाँधिदिने चलन छ । 

छोरा भए धुनषकाँड र बन्दुक भिराइदिने गरिन्छ भने छोरी भएमा सालको पातको डालो वा डोको बनाई बोकाइदिने गरिन्छ । यसले दुरा समुदाय शिकार र खेतीपातीसँग गाँसिएको परम्परागत जीवनशैलीलाई सङ्केत गर्छ । न्वारानका दिन भाइखलक, टोल–छिमेकका मूलतः आमाहरूलाई बोलाई भोज खुवाइन्छ । सामान्यतयाः न्वारानमा सम्बन्धित घरका बाहेक अन्य पुरुषलाई समावेश गरिँदैन । तर, अहिले यस्तो चलनमा धेरै फेरबदल आएको छ ।

पुटपुटे

कुनै परिवारमा पहिलो छोरो जन्मँदा उसको मावली गाउँबाट उसले कृष्णचरित्रमा आधारित नृत्यमार्फत हर्ष बढाइँ, सुु–स्वास्थ्य, दीर्घायु र मानसम्मानको आर्शीवाद प्राप्त गर्छ । यस कार्यलाई नै ‘पुुटपुुटे’ भनिन्छ । पहिलो छोराको भात खुवाइपछि बच्चाको गाउँले र मावली गाउँ मिलेर गर्ने संस्कार हो । कृष्णचरित्र आधारित नृत्यको लागि ‘गर्राभाइ’ मिलेर मावली गाउँका टोली बच्चाको घरमा आई नाँच नचाउँछन् । विभिन्न देवीदेउता पुकारेर बच्चालाई लयात्मक शैलीमा आशीर्वाद दिइन्छ, भलो चिताइन्छ । नाचका गुरुबाउ तथा गर्राभाइलाई पूmलपगरी गुथिन्छ ।  

गुरुबाउले पनि पुटपुटे नाचको तर्फबाट बालकलाई टीका लगाई आशीर्वाद दिने चलन छ । त्यसपछि घरपरिवार, मामली र अन्य इष्टमित्रले टीका लगाएपछि बालकलाई दक्षिणा भनेर नगद दिइन्छ भने बालकको बुबालाई साफा (सेतो कपडाले फेटा बाँध्ने) र आमालाई मजेत्रो ओढाइन्छ । त्यसैगरी, छरछिमेक तथा इष्टमित्रले फूलपगरी गरी आशीर्वाद दिन्छन् । सानोतिनो ‘भतेर’को व्यवस्था गरेर गर्राभाइलगायत सबै परपाहुनालाई मीठोमसिनो खुवाइन्छ । अन्त्यमा दान दिएर उनीहरूलाई बिदाइ गरिन्छ । अहिले पुटपुटेको चलन पातलिँदै गएको छ । 

अन्य संस्करहरु
भात खुवाइ 

छोरा भए ६ महिनामा र छोरी भए ५ महिनामा भात खुवाइन्छ । यसलाई अन्य समुदायले अन्न प्राशन वा पास्नी  भन्ने गर्छन् । भात खुवाउने कार्यका लागि शुभसाइत जुराइन्छ । यस दिनमा बच्चालाई नयाँ लुगामा पहिराइन्छ । टीकाटालो गरिन्छ । घरमा मासु, माछा, भात, तरकारीजस्ता परिकार बनाइन्छ । घरको पाको सदस्य (बज्यै वा बाजे) को हातबाट बच्चालाई भात खुवाइन्छ । सम्भव भएसम्म भद्राई चराको ठुँड प्रयोग गरेर भात खुवाइन्छ । भद्राईको ठुँड नपाइएमा सुनको टुक्रा वा चाँदीको चम्चाले भात खुवाउने गरिन्छ । भद्राइ चराको ठुँडले भात खुवाउँदा बच्चाको छिटो बोली फुट्ने, बोली प्रष्ट हुने, मृदुभाषी बन्ने तथा पढाइ–लेखाइमा राम्रो प्रगति गर्ने जनविश्वास रहिआएको छ । 

छेवर 
बच्चाको कपाल बढेर लामो भयो भन्दैमा जथाभावी कटाउन मिल्दैन । छोरा जन्मेको ५, ७, ९ वा ११ वर्षमा पहिलो पटक कपाल कटाइन्छ । अर्थात् बिजोर वर्षमा कपाल खौरिइन्छ । यसलाई छेवर गर्ने भनिन्छ । लामो समयसम्म कपाल नकटाउँदा बच्चाको कपाल लामो हुन्थ्यो । कपाल झम्टो बन्थ्यो । 

छेवर गर्दा निश्चित विधिविधान अप्नाइन्छ । यसका लगि उपयुक्त साइत वा दिन जुराइन्छ । छेवरमा मामाको निर्णायक भूमिका रहन्छ । मामाले भानिजको कपाल खौरिदिनुपर्छ भन्ने मान्यता रहेको छ । खौरिएको कपाललाई भूुइँबाट राम्रोसँग टिपेर टपरीमा राखिन्छ । त्यसपछि पँधेरो नजिकको सिस्नोका गाँज वा अरुले सजिलै नभेट्ने  ठाउँमा पयाँक्ने चलन छ ।  

छेवर गर्ने बेलामा मावलीले टोपी, एक पाथी धान, एक माना चामल, भेटी स्वरूप केही दाम, चाँदीको बालो, रोटी आदि व्यवस्था गर्छन् । मामाले भानिजलाई गोरुको गोठमा दाम्लोले बाँध्छन्, दुबो चपाउन लगाउँछन्, पातीको मुन्टोले पानी छर्केर शुद्धीकरण गर्छन् र कपाल काट्छन् । नुहाइ–धुवाइ गरेपछि मामाले भानिजलाई बालो र टोपी लगाइदिन्छन् । त्यसपछि सपरिवार बसेर खानपिन गरिन्छ । छेवर गर्दा काटिएको कपाल कुनै ठूलो नदी वा समुन्द्र समर्पण गर्ने चलन छ । 

गुन्यूचोली दिने

छोरीलाई बिजोर वर्ष पारेर गुुन्यू–चोलो दिने चलन छ । ७, ९ वा ११ वर्षभित्र गुन्यू–चोली दिइन्छ । छोरीलाई गुुन्यू–चोलो दिनु अभिभावक अहम् जिम्मेवारीमध्ये एक पर्छ । छोरीको मासिक धर्म शुुरु नहुुँदै गुन्यू–चोली दिनुपर्छ भन्ने मान्यता छ । गुुन्यू–चोलो दिएपछि उनले लगाउँदै आएको फ्रक, गञ्जीजस्ता वस्त्र लगाउन छाड्छिन् । छोरीको शरीरमा आउने शारीरिक परिवर्तन तथा मासिक धर्मसँग जोडिएका मामिलालाई सम्बोधन गर्न गुुन्यू–चोलो दिने प्रचलन बसेको अनुमान गर्न सकिन्छ । अहिले यो चलन मृतप्रायः बनिसकेको छ ।