चन्द्रयान- २: विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद, के होला अब ?

चन्द्रयान- २: विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद, के होला अब ?

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २१, २०७६

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान- २ मिसनको एउटा यान विक्रम ल्यान्डर अवतरण गर्न लागिरहेका बेला सम्पर्क विच्छेद हुनपुगेको जनाएको छ ।

इसरोका प्रमुख के. शिवनले चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य रहेको तर त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको र तथ्याङ्कको समीक्षा भइरहेको बताउनुभएको छ ।

शनिवार राती १:३० देखि २:३० को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि अवलोकन गर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुग्नुभएको थियो ।

अवतरणमा गडबड देखिएपछि इसरो अध्यक्ष प्रधानमन्त्री मोदीकहाँ गएर अवस्थाको जानकारी गराउनुभयो । इसरो प्रमुखले यसअघि नै चन्द्रमा सतहमा अवतरण गर्नुअघिको १५ मिनेट 'भयाक्रान्त' हुने बताइसक्नुभएको थियो ।

केही बेरपछि इसरोका अध्यक्षले विक्रमसँग इसरो केन्द्रको सम्पर्क विच्छेद भएको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री मोदी वैज्ञानिकहरूको बीचमा गएर उनीहरूको हौसला बढाउँदै जीवनमा उतारचढाव आइरहने बताउनुभयो । 'सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ तर यो कुनै सानो उपलब्धि होइन', मोदीले भन्नुभयो, 'मुलुकले तपाईंहरूमाथि गर्व गर्छ। तपाईंहरूको मिहिनेतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईंहरू सबैलाई बधाई छ ।'

विज्ञानले देशको र मानवजातिको ठूलो सेवा गरेको भन्दै प्रधानमन्त्री मोदीले यो चरणबाट धेरै कुरा सिकिरहेका र यात्रा अगाडि पनि जारी रहने बताउनुभयो । 'म पूर्ण रुपमा तपाईंहरूको साथमा छु', मोदीले भन्नुभयो ।

विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपर्थ्यो र उसलाई चन्द्रमाको सतहतर्फ लगिनुपर्थ्यो ।

ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर पनि थियो, जसले सुरक्षित अवतरणपछि बाहिर निस्किएर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नु थियो।

इसरोको चन्द्रयान- २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नु थियो।

सबै राम्रै भइरहेको भए पनि सतहमा पुग्नु केही बेरअघि ने ल्यान्डरसँग सम्पर्क विच्छेद भयो ।

यो मिसन यदि सफल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्नेवाला थियो ।

१५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिसनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो ।

यसअघि सन् २००८ मा भारतले चन्द्रयान- १ प्रक्षेपण गरेको थियो, जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो । चन्द्रयान- २ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए ।

यदि भारतको प्रज्ञान रोवरको सेन्सरले चन्द्रमाको दक्षिणी भागमा रहेको पानीको विशाल पोखरीको प्रमाण खोज्न सकेको भए यो ठूलो खोज हुनेवाला थियो ।  यसलाई भारतीय अन्तरिक्ष निकायको अहिलेसम्मकै सबैभन्दा जटिल र महत्त्वकांक्षी काम मानिएको थियो ।

चन्द्रयान- २ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी सावित हुने ठानिएको थियो, जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ ।

अहिले पनि पूर्ण रूपमा आशा समाप्त भइनसकेको र ल्यान्डरसँग सम्पर्क स्थापित हुनसक्ने आशा गरिएको बताइएको छ ।

(बीबीसीबाट)