सोनाहा जातीलाई सूचीकृत गर्ने सम्बन्धी परमादेश तीन वर्षसम्म  कार्यान्वयन भएन

सोनाहा जातीलाई सूचीकृत गर्ने सम्बन्धी परमादेश तीन वर्षसम्म  कार्यान्वयन भएन

एकिन्द्र तिमिल्सेना /रासस  |  समाचार  |  माघ २५, २०७५

कैलाली र नदीमा आश्रित सोनाहा समुदायलाई पछिल्ला वर्षमा जीवन धान्न गाह्रो हुँदै गएको छ । नदीमा माछा मारेर र सुन छानेर दैनिकी चलाउँदै आएका सोनाहालाई पछिल्लो समय नदीबाट मेसिनद्वारा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न थालेपछि यस्ता समस्या थपिएको हो । 

खेलामा भइरहेका अनिधकृत उत्खननले माछाको वासस्थान सरेको र सुन पाइने सतह पनि खल बलिएको उनीहरूको बुझाइ छ । मेसिन लगाउँदा माछा र सुन दुवै पाउन छाडेको राजापुर नगरपालिका–१ मुर्गौवाकी पार्वती सोनाहाले बताउनुभयो । आरक्ष र वन क्षेत्रमा त जानै पाइँदैन, अब जान पाइने ठाउँमा पनि सुन र माछा भेटिँदैनन्, पार्वती भन्नुहुन्छ, 'महङ्गी र नयाँ जमानाअनुसार खर्च बढ्दै गएको छ, हाम्रो आम्दानी हुने न माछा पाइन्छ न पहिलेजस्तो सुन पाइन्छ ।' 

बल्चौर वन तथा वातावरण स्रोत विकास केन्द्र (बाफर)ले बर्दिया र कैलालीका ६४ परिवारमा गरेको अध्ययनले पनि यस्तै देखाएको छ । नदीमा माछा मार्ने र सुन छान्ने व्यवसाय भएका परिवारको मासिक कमाइ रु १० हजार मात्रै देखिएको छ । यसले जेनतेन पेट पाला त भएको छ, तर परिवारका अरू कुनै पनि आवश्यकता पूरा हुनसकेको छुनै, अध्ययनमा संलग्न ममता रावल भन्नुहुन्छ, अध्ययन गरिएका ६४ मध्ये ४९ परिवारको आम्दानीको एक मात्र स्रोत माछा मार्नु हो, ४० परिवारको बास कच्ची घर र छाप्रोमा छ, २१ परिवार जनता आवासबाट बनेका अर्ध पक्की घरमा छन्, तीन परिवार मात्रै आफ्नै बुताले पक्की घर बनाएर बसेका छन्, २० वर्ष पूरा भएका कुनै पनि युवा पढाइमा छैनन् ।

गेरुवा गाउँपालिका–२ का अध्यक्ष आलोककुमार थारु सोनाहाले पुर्ख्यौली पेसाका नाममा बालबालिकालाई शिक्षाबाट वञ्चित गरिरहेको बताउनुहुन्छ । विद्यालय जाने उमेरका बालबालिका पनि नदीमै गइरहेका छन् । उहाँले यस वर्ष रु एक करोड ४ लाखको योजना बाँड्ने वडा भेलामा सोनाहा उपस्थित नभएकाले सोनाहा बस्तीमा गतिलो योजना दिन नसकेको बताउनुभयो । 

नदीमा आश्रित जीवन कठिन हुँदै गएपछि सोनाहा आफूलाई अल्पसङ्ख्यक आदिवासीमा सूचीकृत गरिनुपर्ने माग गरिरहेका छन् । बर्दिया, कैलाली र कञ्चनपुरमा एक हजार २०० जतिको सङ्ख्यामा मात्रै रहेका सोनाहालाई सूचीकृत गर्नु भनी सर्वोच्च अदालतले विसं २०७२ मै परमादेश जारी गरे पनि हाल सम्म कार्यान्वयन नभएको सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहा बताउनुहुन्छ । 'सोनाहाको सङख्या नै कम छ, सूचीकृत नगरे अब हामी लोप हुने अवस्थामा पुग्छौँ, शान्ति भन्नुहुन्छ',सोनाहा खोला कुर्दाकुर्दै पिछडिएका हुन् । अझै पनि बालुवामै जीवन बिताउँदछन् । उच्च शिक्षा निःशुल्क र हाम्रो क्षमताअनुसार काम दिन सरकारले पहल गरोस्, अब ढिला भइसक्यो ।

गाउँपालिका–२ का अध्यक्ष थारू पनि आफू निर्वाचित भएपछिको पहिलो गाउँसभाले नै सोनाहा जाति अल्पसङ्ख्यकमा सूचीकृत गरियोस् भनी निर्णय गरी केन्द्र सरकारलाई पठाइसकेको बताउनुहुन्छ । 'सोनाहाले जीविकाका लागि माछा मार्न पाउनै पर्ने माग गरेपछि केही वर्ष पहिले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सोनाहालाई निकुञ्जले अनुमति पनि दिएको थियो, गैँडा चोरीसिकारमा अनुमतिधारी सोनाहा मुछिएपछि सबै अनुमतिपत्र पनि खारेज भए, वडाध्यक्ष थारू भन्नुहुन्छ, अल्पसङ्ख्यकमा सूचीकृत भइदिए सोनाहा लोप हुनबाट जोगाउन सकिन्छ, स्थानीय तहबाट पनि सहयोग गरौँला ।' नदीमा माछा मार्ने र बालुवामा रहेका सुनका कणहरू छान्ने सोनाहाको पुर्ख्यौली पेसा मानिन्छ ।