राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता : प्रधानमन्त्री ओली

राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता : प्रधानमन्त्री ओली
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०७६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

विश्वमा ज्ञानको प्रसार नहुँदै नेपालमा वेदका ऋचाहरूको रचना गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘ज्ञानभूमिको रूपमा नेपाल जुन गतिले अगाडि बढ्नुपर्दथ्यो, विगतमा शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति समाउन सकेन ।’

तर अब नेपाल पछाडि परिरहन नसक्ने भन्दै नेपाल तीव्र गतिमा अघि बढ्ने, विकास र निर्माणका लागि अतिआवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ । 'ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरूमा नेपालले शैक्षिक स्तर माथि उठाउनेछ’, सन्देशमा भनिएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान् पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवन उपयोगी शिक्षा र नवप्रवर्द्धनात्मक सोचको विकास गर्नुपर्नेछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।