सम्पर्कविहीन चन्द्रयान- २ को लोकेसन पत्ता लाग्याे : इसरो प्रमुख के. सिवन

सम्पर्कविहीन चन्द्रयान- २ को लोकेसन पत्ता लाग्याे : इसरो प्रमुख के. सिवन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २२, २०७६

६ सेप्टेम्बरको राती ७ सेप्टेम्बरको बिहान झण्डै १ बजेर ३६ मिनेट जाँदादेखि सम्पर्कविहीन भएको चन्द्रयान- २ को ल्याण्डर विक्रमको लोकेसन फेलापरेको छ । 
चन्द्रमामा अवतरण गर्ने क्रममा चन्द्र सतहबाट २.१ किलोमिटर माथि पुग्दा ल्याण्डर विक्रमसँग इसरोका वैज्ञानिकहरूको सम्पर्क विच्छेद हुनपुगेको थियो । 

अवतरणका बेला ल्याण्डर विक्रमका चारवटा इन्जिन प्रज्वलित गराएर यसको गति कम गर्दै चन्द्र सतहमा ओराल्ने प्रयास हुँदै थियो । चन्द्र अर्बिटमा ल्याण्डर ४ सेप्टेम्बरदेखि नै ३५x१०१ किमीको अर्बिटमा रहेर २ हजार मिटर प्रति सेकेण्डको गतिले परिक्रमा गरिरहेको थियो । 

वैज्ञानिकहरूको लक्ष्य यसमा जडान गरिएका पाँचवटामध्ये चारवटा ‘प्रपल्सन सिस्टम' फायर गरेर क्रमशः यसको गति कम गर्दै चन्द्रमाको दक्षिणी ध्रुवस्थित दुईवटा क्रेटरका बीच ओराल्नु रहेको थियो । 

अपरेसन सुरु भयो, ल्याण्डर गति कम गर्दै ओर्लिन थाल्यो । इसरोको नियन्त्रण कक्षमा रहेको डिस्प्लेमा यान कति गतिले कति किमी ओर्लिसकेको जानकारी छिनछिनमा परिवर्तन हुँदै गइरहेको थियो । यानले ७ किमी माथिको पडाव (अप्ठ्यारो विश्रामस्थल) पार गरेर अघि बढेको जानकारी स्क्रिनमा देखियो । यानको गति १६ सय, १४ सय, १३ सय हुँदै ६७५ मिटर प्रति सेकेण्डसम्म कम भएको तथ्यांक इसरोको कम्प्युटरमा अंकित हुँदै थियो । 

तर, त्यसै बेला स्क्रिनमा ल्याण्डर विक्रम ओर्लंदै गरेको रातो रेखा हरियोमा परिवर्तन भई भित्रपट्टि बांगिएर टुंगियो । इसरोका सयौँ वैज्ञानिकको निधार खुम्चियो । त्यसबेला विक्रम चन्द्र सतहबाट २.१ किमी माथि मात्र थियो । 

ल्याण्डरले पठाइरहेको संकेत आउन रोकिएपछि थाहा भइसकेको थियो कि ल्याण्डर विक्रममा केही गडबडी उत्पन्न भएको छ । जानकारहरूका लागि यो गडबडी अरू केही नभएर ‘सफ्ट ल्याण्डिङ’ ‘क्र्यास ल्याण्डिङ’मा परिणत भएको बुझ्न पर्याप्त थियो ।

इसरोको योजना मुताबिक ल्याण्डरलाई चन्द्र सतहदेखि ७०० मिटर माथि ल्याएर १०–१२ सेकेण्डका लागि स्थिर गर्नु रहेको थियो । यस अवधिमा ल्याण्डरले अवतरण गर्ने स्थलको सर्वे गर्नु रहेको थियो । यसपश्चात् ल्याण्डरको मध्य भागमा जडित पाँचौँ प्रपल्सन सिस्टमलाई पनि ‘फायर’ गरेर २ मिटर प्रति सेकेण्डका गतिले अवतरण गराउने योजना थियो इसरोको । 

तर, ल्याण्डरबाट जुनबेला संकेत आउन छाड्यो, त्यसबेला यसको गति झण्डै ६७५ मिटर प्रति सेकेण्ड अर्थात् झण्डै २४ सय किमी प्रति घण्टा रहेको थियो । यस गतिले यानलाई चन्द्र सतहमा पुग्न ३ सेकेण्डकै समय पर्याप्त थियो ।

यसको अर्थ, बंगलुरुको नियन्त्रण कक्षमा रहेका वैज्ञानिकले 'सन्देश दिन रोकियो' भनेर एकआपसमा चर्चा गर्नुपूर्व नै ‘ल्याण्डर’ले चन्द्र सतह छोइसकेको थियो । 

७ सेप्टेम्बरमा सम्बन्ध विच्छेद भएको ल्याण्डरसँग फेरि सम्पर्क हुनसकेन । 

तर, यो सबका बीच एउटा झिनो आशा के थियो भने, ल्याण्डरले गति नियन्त्रण आफैँ गरिरहेको थियो । सम्भावना यो पनि थियो कि ल्याण्डरले गति कम गर्दै अवतरण गर्‍यो, अवतरण गर्नुपूर्व चन्द्र धरातलमा ल्याण्डरको गतिले धुलोको मुस्लो उडेर यसका सेन्सरलाई ढाकिदियो । यान सुरक्षित ओर्लियो वा गतिले यो थाहा हुन सकेन । इसरोको योजना यानलाई ७ किमी प्रति घण्टाको गतिमा ल्याएर ओर्लने बेलामा झण्डै गतिशून्य अवस्थामा ल्याई चन्द्र धरातलमा टिकाउनु थियो । 

यानले गति कम गरेर (सन्देश आउन रोकिएपछि) चन्द्र अवतरण गरेको झिनो आशा इसरोलाई अझै बाँकी छ तर गति कम नभएको भए ल्याण्डर विक्रम चन्द्र सतहसँग ठक्कर खाएर नष्ट भयो भन्ने संभावना पनि उत्तिकै । 

इसरोले सम्पर्क विच्छेद भएपछि ल्याण्डरको अवस्था अज्ञात रहेको भनेर मुख्ययान अर्बिटरबाट यसको खोजी गर्ने काम जारी राखेको थियो । अर्बिटर सुरक्षित रूपमा चन्द्र अर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहेको छ । 

यसै क्रममा आज आइतवार ८ सेप्टेम्बरमा इसरो प्रमुख के. सिवनले पत्रकार सम्मेलन गरी ल्याण्डर विक्रमको लोकेसन थाहा भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार अर्बिटरबाट प्राप्त ‘थर्मल’ तस्वीरले ल्याण्डरको पत्ता लागेको छ । 'हुनत अहिलेसम्म ल्याण्डर विक्रमसँग सम्पर्क हुनसकेको छैन', के. सिवनले भन्नुभएको छ, 'हामी ल्याण्डरसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ । अहिलेसम्म हामीलाई ल्याण्डर कुनै क्रेटरमा त पसेको होइन भनी शंका रहेको थियो तर प्राप्त तस्वीरले हाम्रो यो शंका निर्मूल भएको छ ।'

उहाँले ल्याण्डर आफूहरूले सोचेको स्थानभन्दा ५०० मिटर पर देखिएको र ल्याण्डर चन्द्र धरातलमै रहेको बताउनुभयो । 'हामी सन्देश पठाएर ल्याण्डर विक्रमको कम्युनिकेसन सिस्टमलाई अन गर्ने प्रयास गरिरहेका छौँ', उहाँले भन्नुभयो । 

अर्बिटरबाट प्राप्त भएका यी तस्वीरले इसरोलाई ठूलो आशा जगाएको छ । ल्याण्डर विक्रम यदि क्षत विक्षत भएको छैन र यसभित्रबाट रोभर प्रज्ञानले निस्किएर चन्द्र सतहको केही जानकारी वा तस्वीर पठाउन सक्यो भने यसलाई ‘सफ्ट ल्याण्डिङ’ नै मानिनेछ । तर, यस्तो हुने संभावना थोरै मात्र छ ।