बाजुरा : सडकको सहज पहुँच नहुँदा करोडौँ रुपैयाँ बराबरको स्याउ बारीमै थन्किएपछि बाजुराका किसान चिन्तित बनेका छन् । मार्तडी-कोल्टी सडक वर्षाका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडौँ मूल्यको स्याउ बारीमै थन्किएको हो ।
जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजार ५० मेट्रिक टन स्याउ उत्पादन हुने तथ्यांक छ । बारीमै १५ रुपैयाँ किलोमा बिक्री गर्दा पनि किसानको हातमा पौने दुई करोड रुपैयाँ पर्नुपर्ने हो तर किसानले सडक समस्याकै कारण वर्सेनि नोक्सानि व्यहोर्न बाध्य छन् ।
४३ किलोमिटर मार्तडी-कोल्टी सडकका लागि ३५ करोड रुपैयाँ बढी खर्च गरिसकिएको छ तर पनि हरेक वर्षातमा बाटो बन्द हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्यांकक नआए पनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।
स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी-कोल्टी सडक बन्द हुनु किसानका लागि अभिसाप बनेको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि डेढ करोड रुपैयाँको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउ खेती गरिएको छ ।