आत्महत्याको भयावह रूप : ५ वर्षमा १३ हजारले समाप्त पारे जीवन

आत्महत्याको भयावह रूप : ५ वर्षमा १३ हजारले समाप्त पारे जीवन

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  भदौ २४, २०७६

पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो आत्महत्याका समाचारहरू पढ्नु र सुन्नुपरेको अवस्था छ । हुनत आमसंचार माध्यम र सामाजिक संजालको व्यापकतासँगै यस्ता घटनाहरू बाहिर आउने भएकाले पनि अहिले यस्ता घटना धेरै देखिएको हुनसक्छ । यद्यपि, सार्वजनिक तथ्यांकलाई हेर्ने हो भने यो निकै गम्भीर विषय हुनुपर्छ राज्य र समाजका लागि ।

राज्य वा समाजलाई एउटा नागरिक परिपक्व बनाउन कति लगानी गर्नुपर्छ ? अथवा एउटा नागरिकको राज्य वा समाजमा कतिको आवश्यकता हुन्छ वा उसको महत्त्व राज्य र समाजलाई कति हुन्छ ? यसरी गमेर हेर्ने हो भने नेपाली समाजमा बढ्दो आत्महत्या दर समाज र राज्यका निम्ति टाउको दुखाइको विषय बन्नै पर्छ ।

आत्महत्याका घटना विश्वभर नै हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनसँग विश्वमा प्रत्येक वर्ष करिव ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यसरी हिसाब गर्दा विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरिरहेको छ ।

आत्महत्या गर्नेहरूले विभिन्न तरिकाले आफूलाई समाप्त पार्ने गरेका छन् । बिष सेवन गरेर, आफूले आफैँलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेका पाइन्छ । तर, नेपालमा भने धेरैजसोले पासो लगाएर वा झुण्डिएर आत्महत्या गर्ने गरेका पाइन्छ । यसरी पासो लगाएर आत्महत्या गर्नेको प्रतिशत नेपालमा ७२ छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार यस ५ वर्षको अवधिमा नेपालमा २४ हजार ६३९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका देखिन्छ भने २०७३/०७४ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका छन् । २०७२/०७३ मा ४ हजार ७०५ जना र २०७१/०७२ मा ४ हजार ३५० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ । त्यस्तै, २०७०/०७१ मा ५ हजार १०७ ले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरूमा ११ हजार ६४५ महिला र १ हजार १४६ बालबालिका छन् । यो तथ्यांकलाई विश्लेषण गर्दा देशभर प्रत्येक दिन १४ जनाले आत्महत्या गर्छन् ।

आत्महत्याको कारण

प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्छ । विभिन्न आकाङ्क्षाहरू तत्काल पूरा नहुँदा व्यक्ति निरास बन्छ र उक्त निरासा चरममा पुगेपछि मान्छेले आत्महत्याको बाटो समात्ने मनोविद्हरूको धारणा छ ।

हरेक व्यक्ति आफ्ना इच्छा, चाहना र आवश्यकताहरू परिपूर्ति गर्न चाहन्छ । तर, ती सबै चाहना र इच्छाहरू पूरा गर्ने वातावरण वा अवसर मानिसलाई प्राप्त नहुनसक्छ । यस्तो अवस्थामा मानिस चरम निरासामा पुग्छ, संसारमा आफ्नो उपस्थितिको कुनै अर्थ देख्न छाड्छ र आवेशमा आएर आत्महत्याको तहसम्म पुग्ने गर्छ ।

पछिल्लो समय प्रेम, अभाव, बेरोजगारी, आर्थिक समस्या, पारिवारिक विचलन आदि आत्महत्याका  प्रधान कारक बनिरहेका पाइन्छ । युवा-युवतीवीच प्रेम सम्बन्ध भएर उनीहरूले विवाह गर्न चाहने तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै वहानामा उनीहरूलाई विवाह गर्ने अनुमति नदिनाले युवा युवती आत्महत्याको बाटो समात्न बाध्य भएका छन् । त्यस्तै, जागिरका लागि दिइएको परीक्षामा असफल हुँदा दिक्दार भएर आत्महत्या गर्नेहरू पनि छन् भने कहीँ कतै रोजगारीको अवसर नपाएर इहलीला समाप्त पार्ने पनि छन् ।

पछिल्लो समय सामाजिक संजालको दुरूपयोग पनि आत्महत्याको कारण बन्दै गएको छ । फेसबुक, ट्विटरलगायतका संजालमारफत् सम्बन्ध बढाउने, पछि सम्बन्ध बिग्रिने र अन्ततस् आपसमै 'ब्ल्याकमेल' गर्ने अवस्थामा पुगेर आत्महत्याको परिस्थिति सिर्जना गर्ने क्रम पनि बढ्दो छ ।

मनोवैज्ञानिकका अनुसार आत्महत्या मानसिक समस्याको जटिल परिणति हो। विश्वमा एक वर्षमा मृत्यु हुनेमध्ये १।५ प्रतिशत अर्थात् ८ लाख ५० हजार जनाको मृत्युको कारण आत्महत्या हुने गरेको छ ।

आत्महत्या रोकथामका उपाय

आत्महत्याको प्रयास गर्ने अधिकांशमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने मनोवैज्ञानिकहरू बताउँछन् । मानिस जब कुनै पनि मानसिक दबाब थेग्न नसक्ने अवस्थामा पुग्छ, त्यस अवस्थामा उसले आत्महत्याबारे सोच्छ भन्ने उनीहरूको मत छ । त्यसैले व्यक्तिले थेग्न सक्ने अवस्थामै रहेको मानसिक दबाब पहिचान गरेर त्यसको व्यवस्थापन वा उपचार गर्नु महत्त्वपूर्ण हुन्छ ।

आत्महत्या गर्ने सोचमा रहेका व्यक्तिमा निम्न कुराहरू बढी मात्रामा हुने मनोविद्हरूको मत छ ।

यस्ता व्यक्तिहरूमा शारीरिक वा यौन हिंसापीडित, अभिभावक वा परिवारबाट उपेक्षित भएको आफ्नो बाल्यकाल वा विगतका केही तीता वा नमीठा अनुभवहरू आउने गर्छन् । गम्भीर मानसिक समस्याबाट पीडित भएको अवस्थामा पनि आत्महत्याबारे सोच्ने गर्छ मान्छेले भन्ने मनोविद्हरू बताउँछन् । यसरी नै लागुपदार्थमा फसेको अवस्थामा, जागिर र रोजगारीको असुरक्षाले निम्त्याएको असन्तुष्टिका कारण पनि मानिस बढी निरास बनेर आत्महत्यातर्फ सोच्ने हुन्छ ।

सामाजिक रूपमा बहिष्कृत भएको, हेला गरिएको, गुण्डागर्दीमा संलग्न रहेको मानिस वा वंशाणुगत वा आत्महत्याको पारिवारिक इतिहास भएको मानिसमा पनि आत्महत्याको जोखिम अत्यधिक हुने मनोवैज्ञानिकहरूको राय छ ।

मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडेर घरभित्रै लुकाएर राख्ने हाम्रो मानसिकतामा परिवर्तन अत्यन्त आवश्यक देखिन्छ । गरिबी र अभावका कारण उपचार गर्न नसक्नु एउटा कुरा होला तर मानसिक रोग पहिचान भइसकेपछि पनि धेरै नेपाली, शिक्षित र सम्पन्नसमेत, परिवार वा समाजबाट उपेक्षित हुने डरले उपचार गराउन जाँदैनन् । र, अन्ततस् त्यही आत्महत्याको कारक बनिदिन्छ ।

आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफूलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेको हुनसक्ने हुँदा उनीहरूका समस्याबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्ने मनोविद्हरूको सुझाव हुने गरेको छ । यसो भएमा उनीहरू आफूलाई हलुको महसुस गर्ने र आत्महत्याको विचार परित्याग गर्नसक्ने अवस्था हुनसक्छ । बच्चालाई असफल हुनु भनेको सफलताका लागि नयाँ पाठ हो भनेर सानैदेखि सिकाउनुपर्ने, उनीहरूलाई हेला गर्ने र हेप्ने गर्नु नहुने सल्लाह मनोविद्हरूले दिने गरेका छन् ।

हाम्रो जस्तो समाजमा रहेका बेथिति, महिला हिंसा, बेरोजगारी, विभेद जस्ता कुराहरू हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिने अवस्था पनि छ ।

अझ राज्य तहबाटै आत्महत्या रोकथामका लागि पहल जरुरी देखिन्छ । नेपालमा आत्महत्याविरुद्धको राष्ट्रिय नीति तयार गरेर त्यसको आधारमा ग्रामीण तहसम्मको कार्यान्वयन गरेर सामुदायिक सक्रियतामा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ ।