काठमाडौं : वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बीपी साहित्य सम्मान’ प्रदान गरिएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले मंगलवार यहाँ एक कार्यक्रमको आयोजना गरी एक लाख एक हजार रुपैयाँ राशिसहितको उक्त सम्मान उहाँलाई प्रदान गरेको हो ।
यसैगरी ५१ हजार रुपैयाँ राशिको ‘बीपी सेनानी सम्मान’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएको छ । दुवै सम्मान नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रदान गर्नुभएको हो । कार्यक्रममा काङ्ग्रेस नेता कोइरालाले बीपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न काङ्ग्रेस खरो रूपमा उत्रनुपर्ने उल्लेख गर्नुभयो ।
गणतन्त्र र सङ्घीयतालाई सम्बर्द्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताउनुभयो । सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उहाँले यसमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले बीपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताउनुभयो । राजनीतिक विश्लेषक डा. हरि शर्माले बीपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई काङ्ग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत काङ्ग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार वैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा. सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा. अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बीपीले मुलुकका लागि गर्नुभएको राजनीतिक र साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान र बीपी सेनानी सम्मान प्रदान गर्दै आएको छ ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरू डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले गत साउन १५ गते उक्त निर्णय गरेको थियोे । दुवै पुरस्कारहरू आज १०६औँ बीपी जन्मजयन्तीको अवसर पारेर प्रदान गरिएको हो । यसअघि २०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशम्शेर थापा र सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।
यसैगरी २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो । वि.सं. २०७४ मा साहित्य सम्मान प्रा.डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो भने २०७५ सालमा साहित्य सम्मान साहित्यकार रोचक घिमिरे र सेनानी सम्मान स्व. चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरिएको थियो ।