श्रीलङ्कामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १६० रनले पराजित गरेको छ ।
श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो । २८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ८४ बल खेल्दै एक छक्का र ९ चौका प्रहार गरे ।
सन्दीप जोराले ५३ बलमा ६ चौकासहित ४८, रासिद खानले ४४ बलमा एक छक्का र ५ चौकासहित ४४, आसिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्मा र आकाश ताहिरले ३-३, कात्तिक पलानियाप्यनले २ तथा ऋषभ मुखर्जीले एक विकेट लिए ।
ब्याटिङतर्फ यूएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान सरफुलले २१ तथा सैयद हैदरले १५ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकालले ३, पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले २-२ तथा कमलसिंह ऐरीले एक विकेट लिए ।
समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग ५ विकेटले तथा दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो ।