असिम भूसाल | दृष्टिकोण | भदौ २६, २०७६
छाङ्सा चीनको २३औँ प्रान्तहरूमध्येको हुनान प्रान्तको राजधानी हो । चीनको इतिहासमा छाङ्साको ठूलो भूमिका छ । छाङ्सा शहरलाई सियाङ नदीले बीचबाट छुट्याएको छ– खोलापारि पूर्व र खोलावारि पश्चिम । अझ बुझिने गरी भन्दा वर्तमानमा खोलाको पूर्वपट्टि गगनचुम्बी भवन, अपार्टमेन्ट, सपिङ कम्प्लेक्सहरूको जंगल छ, सिसा र सिमेन्ट मिस्रित जंगल ।
खोलाको पश्चिमपट्टि हरियाली छ, पारि जस्तो धेरै ठूला भवनहरू छैनन् । सँगसँगै ३ वटा विश्वविद्यालय छन् र त्यहाँ अध्ययन गर्ने १०औँ हजार विद्यार्थी । पश्चिमतिर नै येलु डाँडा नजिकै छ । हामी नेपालबाट आएका मान्छेलाई यो ठूलो डाँडा लाग्दैन तैपनि भागदौड र हतारमा हिँडिरहेको छाङ्सा शहरमा सुस्ताउन, केही पल रूख, बिरुवा, प्रकृतिको नजिक हुन धेरै छाङ्सावासीहरूको यो रोजाइको स्थल हो ।
त्यहाँबाट साँझमा सियाङ खोला र खोलापूर्वका अग्ला भवनहरूको झिलिमिली हेर्न सकिन्छ । सियाङ खोलाको बीचमा ओरेन्ज (सुन्तला) टापु छ, जहाँ चिनियाँ सर्वोच्च नेता माओत्से तुङको सम्मानमा युवा माओको टाउकोको निकै ठूलो आकृति छ । नेपालबाट आउने व्यक्तिलाई यो शहर सभ्य र भव्य लाग्छ । खोला पूर्व व्यापारिक केन्द्र र खोला पश्चिम शैक्षिक केन्द्र अनि यी केन्द्रहरूलाई जोड्ने धेरै सेतुहरू या पुलहरू छन् ।
यहाँ विकासको रफ्तार निकै तेज छ । म एक वर्ष अगाडि आउँदा ३ वटा सबवे (मेट्रो) लाइन थिए र अहिले चौथो लाइन पनि संचालनमा आइसक्यो । हाम्रा नेताहरू काठमाडौंमा मेट्रो चलाउने कुरा गर्नुहुन्छ । कुरा त हो, भोट माग्ने बेलामा उठ्छ, भोट पाएपछि हराउँछ । मेट्रो हामी नेपालीका लागि कति व्यावहारिक छ, त्यो कुरा अर्को बेलामा गरौँला तर अहिले यो एक हिसाबले नसुत्ने, सधैँ रफ्तारमा बगिरहेको शहरको इतिहास हेरौँ ।
३५ सय वर्ष पुरानो यो शहर धेरै समय विभिन्न युद्धहरूको साक्षी बन्यो । मूलतः दक्षिणपूर्वी चीनमा अवस्थित छाङ्सा चीनको मध्यबिन्दुमा पर्छ । प्राचीनकालको विभाजित चीनमा छाङ्सा व्यापारिक र रणनीतिक केन्द्र थियो । प्रशस्त उर्वर भूमि भएकाले धान यहाँको मुख्य खेती थियो । विभिन्न राज्य टुक्रामा बाँडिएको चीनमा एउटा राज्यको अर्को राज्यसँग युद्ध भइरहन्थ्यो । छाङ्सा जस्तो प्राचीन, व्यापारिक र रणनीतिक शहर कब्जा गर्नु प्रायः सबै राजाको प्रतिष्ठाको विषय थियो ।
धेरै शासकीय परिवर्तन भोगेको छाङ्सा तैपनि अडिग थियो । प्राचीन चिनियाँ सभ्यता झल्काउने, प्राचीन कला कृति, मूर्ति, साहित्य र भवनहरू सन् १९३८ सम्म उभिएका थिए । इतिहासमा धेरै पटक चीन र जापानबीच युद्ध भएको थियो । दोस्रो विश्वयुद्धको पूर्वाद्र्धमा चीनमाथि जापानको हमला हुन्छ । चीनको उत्तरबाट सुरु भएको युद्धमा जापानले विभिन्न क्षेत्रहरू कब्जा गर्दै दक्षिणतिर अगाडि बढ्छ । साङ्घाई र नानजिङ जितेर हौसिएको जापान मध्य चीनको वुहान शहरतिर अगाडि बढ्छ । वुहान जितेर जापानी आउने भनेको छाङ्सातिर थियो, अक्टुबर १९३८ मा वुहान पनि जापानको कब्जामा गयो ।
आगलागीको ८१ वर्षपछि यो त्यही शहर हो, जहाँका ९० प्रतिशत घर जलेका थिए भन्ने कुराको विश्वास लाग्दैन आज । छाङ्सा कसरी ढल्यो भन्ने कुरा महत्त्वपूर्ण होइन, कसरी उठाइयो भन्ने कुरा हामी नेपालीलाई महत्त्वपूर्ण कुरा र पाठ हो ।
जापानी क्रूरताको डरले धेरै मानिस, घाइते सेनाहरू नजिकैको छाङ्सा शहरमा शरण लिन आए । अब छिट्टै छाङ्सामा पनि युद्ध हुन्छ भन्ने सबैलाई थाहा थियो । धेरै युद्धमा हार व्यहोर्दै पछाडि सर्दै गएको चिनियाँ सेनालाई छाङ्सा शहर जोगाउन सकिन्छ कि सकिन्न भन्ने दुविधा थियो । त्यो बेला लगभग ३ लाख बासिन्दा भएको यो शहरमा अन्य क्षेत्रबाट ज्यान जोगाउन आएका मानिसहरूले गर्दा जनसंख्या पनि ५ लाखभन्दा माथि पुगेको अनुमान थियो ।
अन्य स्थानमा रेलमार्गबाट जोडिएको छाङ्सा चिनियाँ सरकारलाई रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण थियो । जापानीहरू आए र छाङ्सा जोगाउन सकिन्न भन्ने लाग्यो भने पूरा छाङ्सा जलाउने योजना सरकारले बनाएको थियो । छाङ्सामा प्रशस्त अन्न भण्डारण र धन भएकाले जोगाउन नसके जापानीलाई पनि नदिने भनेर त्यो योजना बनेको थियो । त्यस्तो अवस्था आए शहर जलाउन एउटा समूह नै खडा गरिएको थियो तर जनमानसमा भय र त्रास उत्पन्न नगराउन यो कुरा केही उच्च सरकारी कर्मचारीलाई मात्र थाहा थियो । शहरको एउटा अग्लो ठाउँमा आगो बल्यो भने त्यसको संकेत ‘शहर जलाउनू’ भन्ने आदेश थियो ।
१२ नोभेम्बर १९३८ मा लगभग राती २ बजेदेखि छाङ्सा शहर आगोले जल्न थाल्यो । मान्छेहरूको भागाभाग सुरु भयो । धेरै मान्छेहरू दक्षिणतिर भाग्न थाले । आफ्नो घरमा भएको सबैभन्दा बहुमूल्य पर्ने सामानबाहेक सबै कुरा छाडेर मानिसहरू अरू शहर या गाउँतिर जानुपर्ने भयो । ५ दिन र ५ रातसम्म लगातार छाङ्सा जलिरह्यो । र, जले त्यो शहरले सुरक्षित राखेको प्राचीन चिनियाँ संस्कृतिका अवशेषहरू ।
सबैभन्दा दुःखको कुरो, कसैले आगोको संकेत दिएको थिएन । संकेत दिने ठाउँको नजिकै एक ठाउँमा आगलागी भएको रहेछ, त्यही आगोलाई संकेतको रूपमा बुझ्दा एउटा प्राचीन सभ्यताका विभिन्न अवशेषहरू खरानी भए । चिनियाँ सेनाको अनुमान गलत सावित भयो ।
छाङ्सामा जापानले ४ पटक हमला गर्यो र सन् १९४४ मा बल्ल जापानले छाङ्सा कब्जा गर्यो । हिरोसिमा र नागासाकीपछि सन् १९४५ मा जापानले आफ्नो हार स्वीकार्दै आत्मसमर्पण गर्यो ।
आगलागीको ८१ वर्षपछि यो त्यही शहर हो, जहाँका ९० प्रतिशत घर जलेका थिए भन्ने कुराको विश्वास लाग्दैन आज । छाङ्सा कसरी ढल्यो भन्ने कुरा महत्त्वपूर्ण होइन, कसरी उठाइयो भन्ने कुरा हामी नेपालीलाई महत्त्वपूर्ण कुरा र पाठ हो । यसरी अन्याय र अत्याचार भोगेको, लामो समयसम्म आन्तरिक द्वन्द्व र अन्तर्राष्ट्रिय युद्धले थिल्थिएको देश आज यसरी बढ्दै छ, मानौँ, उसको विकासको गतिको कुनै सीमा छैन ।
क्षेत्रफलमा हुनान प्रान्त नेपालभन्दा २ गुणा ठूलो छ र जनसंख्या पनि २ गुणाभन्दा धेरै छ । तर, हुनान चीनको १०औँ ठूलो प्रान्त हो । अब सोचौँ, चीन कति ठूलो छ ? चीनको पूरा नक्सा हेर्दाखेरि नेपाल एउटा सानो धर्को जस्तो देखिन्छ । यति ठूलो देश ४० वर्षमा अहिले सबै क्षेत्रमा अगाडि छ । चीनभन्दा ५१ गुणा सानो नेपाल अझै मस्त निद्रामा छ किनभने देश विकासको सपना देख्दै छ । व्युँझिएर काम गर्न अझै सुरु गरेको छैन ।