साताको सुरुवातदेखि नै ओरालो लागेको धितोपत्र बजार बिहीवार अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोबार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ ।
त्यस्तै, नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ मा रोकिएको छ । आज कुल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपैयाँमा खरिद बिक्री भए । आज कारोबार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.७९, होटल २४.५३, विकास बैंक २.६९, जलविद्युत् ९.३४, वित्त १.१, निर्जीवन बीमा ३४.२५, उत्पादन १८.२१, अन्य ५.६८, लघुवित्त ६.४१, जीवन बीमा ३३.८६ र सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ ।
स्टकका अनुसार कारोबार रकमका आधारमा आज लक्ष्मी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको संस्थापक शेयर चार करोड ७० लाख आठ हजार ३०४ रुपैयाँमा खरिद बिक्री भयो । यस्तै, एनआईसी एसियाको तीन करोड ५४ लाख ७६ हजार ५७०, कुमारी बैंकको दुई करोड ६२ लाख सात हजार ४९७, नेपाल बैंकको दुई करोड दुई लाख ३० हजार ४ र छिमेकी लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक शेयर एक करोड ४९ लाख ४६ हजार रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
परिसूचक घटे पनि कालिका पावर कम्पनीका शेयरधनीले ५ प्रतिशतले कमाए । त्यस्तै, एनआईसी एसिया ग्रोथ फण्ड ३.१४, नाग्दी ग्रुप पावर ३.०९, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था २.९८ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतले कमाए । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ६.७९, हिमालय ऊर्जा विकास कम्पनी ६.५०, नेपाल इन्स्योरेन्स कम्पनी ५.०१, अरुण काबेली पावर ४.८६ र घलेम्दी हाइड्रो लिमिटेडको शेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।