दुरा समुदायमा मृत्यु संस्कार : 'कोर्जे उठाउने'देखि नयाँ घर बनाउनेसम्म

दुरा समुदायमा मृत्यु संस्कार : 'कोर्जे उठाउने'देखि नयाँ घर बनाउनेसम्म

यमबहादुर दुरा  |  दृष्टिकोण  |  भदौ २७, २०७६

जन्मेदेखि मृत्युसम्मका हरेक समुदायका आआफ्नै संस्कार प्रचलनमा छन् ।  दुरा समुदायको पनि अन्य समुदायको जस्तै आफ्नै प्रकारको वा आफ्नै पद्धतिको संस्कार छ । यस आलेखमा दुरा समुदायको मृत्यु संस्कारबारे चर्चा गरिएको छ ।

कसैको मत्यु भएपछि ठाउँ सारेर लासलाई पिँढीमा राखिन्छ । लासलाई कुकुर, बिरालो, कुखुरा जस्ता जीवजन्तुलाई छुन दिइँदैन । पहिले पहिले ग्रामीण समाजमा लासलाई गुन्द्री वा भकारीले बारेर राखिन्थ्यो । मृत्युको खबर पाउनासाथ गाउँवासी जम्मा हुन्छन् । गाउँवासीबीच कार्यविभाजन गरिन्छ । कोही लामा लिन जान्छन् । कोही छोरीचेली बोलाउन जान्छन् । कोही कपडा (कात्रो) किन्न जान्छन् । कोही घाट व्यवस्थापनमा जुट्छन् ।

दुरा समुदायको मृत्यु संस्कारमा छोरीचेलीको उपस्थिति र पिउरी अपरिहार्य मानिन्छ । पराईघर पुगेका छोरीचेली नआएसम्म र पिउरी नल्याएसम्म सतगत प्रक्रिया अघि बढ्दैन । मृत व्यक्तिको माइती वा ससुरालीबाट एक माना चामल, केही नगद र कपास टपरीमा राखेर ल्याइन्छ । यस कार्यलाई पिउरी ल्याउने भनिन्छ । पिउरी लिन दुई जना जानुपर्छ । उनीहरू एकअर्कामा कुटुम्ब नाता पर्ने हुनुपर्छ ।

मृत्यु संस्कार लामाको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । यद्यपि, दुरा समुदायभित्र कतिपयले मृत्यु संस्कारमा लामा प्रयोग गर्दैनन् । लामाले मृत्यु संस्कारको शास्त्रीय कर्मकाण्डको जिम्मेवारी सम्हाल्छन् । लामा लिन पनि दुई जना जानुपर्छ । उनीहरू एकअर्कामा कुटुम्ब नाता पर्ने हुनुपर्छ । विगतमा कतिपयले मृत्यु संस्कारमा घ्याब्रे तथा पच्यु पनि प्रयोग गर्थे तर अहिले यो प्रचलन हटिसकेको छ ।

मृत्यु संस्कारका लागि आवश्यक सबै आधारभूत कार्य पूरा भएपछि विशेष किसिमको वस्त्र पहिरिएर लामा शास्त्र पढ्दै जान्छन् । उनका सहयोगीहरूले झ्याली–ढ्याङ्ग्रो बजाउँछन् । शंख फुक्छन् । मृत्यु संस्कारमा अपनाइने फरक फरक चरणको कर्मकाण्डका लागि झ्याली–ढ्याङ्ग्रोको ताल पनि फरक फरक हुन्छ ।

छोरीचेलीले भित्रबाट बाहिरतिर उल्टो दिशामा घर लिप्छन् । अन्तिम संस्कारका लागि लासलाई आँगनमा निकालिन्छ । बाँस काटेर ल्याइन्छ र त्यसको घारो बनाइन्छ । लासलाई कात्रो बेरेर बाँसको चोया तथा बाबियोको डोरीले बाँधिन्छ । यस कार्यमा ज्वाइँ–चेला सरिक हुन्छन् । दुरा समुदायको मृत्यु संस्कारमा छिकुटा नामक वनस्पतिको प्रयोग अपरिहार्य मानिन्छ । यो वनस्पतिलाई लासको टाउकोमा सिरानी जस्तो गरेर राखिन्छ । त्यसैले यस वनस्पतिलाई ‘मरेको मान्छेको सिरानी’ भन्ने चलन पनि छ ।

मृत्यु संस्कार अघि बढाउने क्रममा एक माना चामलको भात पकाइन्छ । त्यही भातको पिण्ड बनाइन्छ । एक जनाले आकाश–पाताल तथा चार दिशातिर धनुषकाण ताक्छन् । त्यसपछि निश्चित ठाउँमा राखिएको केराको सुप्लोमा धनुषकाण हानिन्छ । जुनजुन दिशामा धनुषकाण ताकिएको हो, त्यही दिशामा छोराले त्यस पिण्ड फाल्नुपर्छ । यसलाई वर्षा हान्ने भनिन्छ । यो काम घर र घाट दुवै ठाउँमा गरिन्छ ।

वर्षा हान्ने काम सकिएपछि मृत व्यक्तिको निधारमा छोरीले तेल लगाइदिन्छन् । आँगनमा निकालिएको लासलाई फूल, माला, अबीर तथा नगद चढाएर श्रद्धाञ्जलि दिइन्छ । अहिले लासलाई खादा चढाउने चलन पनि आएको छ ।

मृत्यु संस्कार अघि बढाउने क्रममा लामाले झ्याली बजाएर लासलाई परिक्रमा गर्दै नाच्छन् । छोराले मुखमा पिउरी र मावली/माइतीतर्फकाले खुट्टातर्फ पिउरी चढाएर मात्र लास चलाइन्छ । लामाले मृतकको घरमा विधि पूरा गरेपछि लासलाई घाटतिर लगिन्छ ।

यस क्रममा आफ्नो खलकको सबैभन्दा जेठो व्यक्तिले बा“सको दुइटा लठ्ठीमा उनिएको सेतो कपडा तथा खुर्पा वा खुकुरी बोकी ह..ह..ह..ह..ह..भनेर आवाज निकाल्दै लासको अघिल्तिर हिँड्छन् । यसलाई ‘बाटो देखाउने’ भनिन्छ । सम्बन्धित खलकमा बाटो देखाउने पाको व्यक्ति नभए गाउँको जेठो व्यक्तिले यस्तो जिम्मेवारी सम्हाल्छन् । छोराहरूले लास बोक्छन्, अरूले हात लगाउँछन् ।

लासको पछिपछि छोरीचेलीले कपाल फुकाएर बुर्की (धान, जौ, चामल र पैसा) छर्दै जान्छन् । लासलाई घरबाट निकालेर घाटतिर लैजाने क्रममा गाउँवासीले आफ्ना घरमा रहेका सबै गाग्री तथा घैँटाको पानी फाल्छन् । यसैगरी लास निकाल्ने बेलामा केटाकेटीको घाँटीमा अगाडि नै बाँधेर राखिएको धागो वा धजा चुँडालिन्छ । बालबच्चाको सातो नजाओस् भनेर यसो गरिएको बूढापाकाको भनाइ छ ।

विगतमा दाह संस्कार गर्नुअघि लासलाई गाड्ने वा जलाउने भन्नेबारे लामाले निधो गर्थे । लामाको शास्त्रअनुसार लासले आगो मागेमा जलाइन्थ्यो भने माटो मागेमा गाडिन्थ्यो । तर, अहिले गाड्ने चलन हराइसकेको छ । धेरैजसो अवस्थामा लास जलाइन्छ ।

पहिले घाटमा लास लिएर जाँदा साथमा कुकुराको चल्ला पनि सँगै लगिन्थ्यो । मसानघाटमा पुगेपछि त्यो चल्लाले जहाँ खोस्रियो, त्यहीँ चिता (सोला) वा चिहान बनाउने चलन थियो । पुरुष भए आयताकार र महिला भए त्रिकोणात्मक चिहान बनाउने चलन थियो भनेर कतिपय बूढापाकाले भनेका छन् । तर, अहिले यस्तो चलन हराइसकेको छ । अहिले गाउँघरमा पनि निश्चित शव दाहगृह बनिसकेकाले पुरानो चलन सन्दर्भहीन भइसकेको छ । यद्यपि, लासको साथमा कुकुराको चल्ला लैजाने चलन कतिपय ठाउँमा अझै पनि कायमै छ ।

घाटमा छोरीबेटीले मृतकको निधारमा तेल लगाउँछन् । तेल लगाउँदा प्रयोग भएको चरेसको थाल र कचौरा तेल लगाउने चेलीले नै लैजानुपर्छ । मृतकको छोराले मुखमा मृत्यु संस्कार सम्पन्न गर्नका लागि मृत व्यक्तिको मावली, छोरा र छोरी अनिवार्य उपस्थिति हुनुपर्छ । मृतकलाई दागबत्ती दिने कामका लागि उनीहरूको उपस्थिति अनिवार्य भएको हो ।

किरिया बस्नेहरूले छोरी–ज्वाइँ, भान्जा–भान्जी, दिदीबहिनीलाई टीकाटालो गरेर दक्षिणा प्रदान गर्ने गरिन्छ । यस कार्यको टीका फुकाउने काम विशेष गरेर मावली पक्षले गर्ने चलन छ । टीका फुकाउने दिनमा सामूहिक खानपानको व्यवस्था गरिन्छ । पहिले पहिले यस्तो खानपानमा मासुको प्रयोग हुन्थ्यो, अहिले यस्तो चलन अन्त्य गर्दै लगिएको छ ।

अन्त्यमा लासलाई जलाउने वा गाड्ने भन्दा ठीक अघि दुईवटा विधि गर्नुपर्ने हुन्छ । कटुसको काठलाई सानोसानो गरी १०८ टुक्रा बनाई टपरीमा राखिन्छ । यसलाई ‘धर्मकाठ’ भनिन्छ । उक्त काठको टुक्रा भएभरका मलामीलाई छुन लगाइन्छ । यसो गर्दा मृतकले आफ्नो अन्तिम संस्कारमा कोको आए भन्ने थाहा पाउँछन् भन्ने विश्वास गरिन्छ । पछि त्यस काठलाई लाससँगै जलाइन्छ ।

कतिपय ठाउँमा दाह संस्कार अघि बढाउने क्रममा माटो, हँसिया, कुटो तथा कोदालो लासलाई चढाइन्छ । काँचो धागोले सात वा नौ फन्कोले चिता वा चिहानलाई बेरिन्छ । त्यसका साथै गाड्ने वा जलाउने स्थानदेखि सेतो धागो बाहिरसम्म निकालिन्छ । लास गाड्नु वा लासमा आगो लगाउनुभन्दा ठीक अगाडि चिता वा चिहानतिर ढाड फर्काएर उक्त धागो तानिन्छ । यतिबेला सबैजना चर्को, लामो र अखण्डित स्वरमा ‘ओ’ भन्दै कुर्लिने गर्छन् । यसो गर्दा कसैको पनि सातो जाँदैन भन्ने भनाइ छ । श्रीमान् बितेको भए श्रीमतीले चुरा तथा पोते फुकालेर श्रीमान्‌को छातीमा राखिन्छ । छोराले मुखमा दागबत्ती दिन्छन् भने मावलीले गोडामा दिन्छन् ।

दाह संस्कार गरेर फर्किने बेलामा बाटो धुप बालिन्छ । सामान्यतया जेठो व्यक्तिले धुप सल्काउँछन् । सबैले धुपको आगोतिर हात लम्काएर त्यसको ताप अनुहारमा तीन पटक लगाइन्छ । यसलाई ‘धुप खाने’ भनिन्छ । यसो गर्दा सिमेभूमे नलाग्ने र मृत व्यक्तिको आत्माले नपछ्याउने विश्वास गरिन्छ । घर फर्केपछि सबै मलामी नुहाइधुवाइ गरेर सफासुग्घर रहन्छन् । गाउँवासीहरू मृतकको घरमा गएर दुःखको घडीमा साथ र सान्त्वना दिन्छन् ।

दाह संस्कर सकेर घर फर्किएपछि मृतकका छोरा तथा भाइभतिजाको कपाल, दाह्री–जुँगा तथा आँखीभौँ काटिन्छ । तर, बा–आमा जिउँदै भएका भाइभतिजाले कपाल तथा दाह्री कटाउँदैनन् । किरिया बस्ने व्यक्तिहरू पानीले मात्र नुहाउँछन् ।

उनीहरूले जीवजन्तुलाई छुँदैनन्, घरको कुनामा परालमाथि बस्छन्, कम्मल ओढ्छन् र सफासुग्घर रहन्छन् । तामाको ताउलोमा पकाएर एक छाक मात्र भात खान्छन् । खानेकुरामा नुन बर्जित गरिन्छ । परिवारजन तथा भाइ खलकका सबैजनाले छाक छोडी तीन दिनसम्म नुन बार्छन् ।

पहिले पहिले १३ दिनसम्म किरिया बासिन्थ्यो । आजकल यसलाई घटाउँदै गएको पाइन्छ । अहिले ११, ९ वा ७ दिनमा पनि चोख्याएको पाइन्छ । अपर्झट परेको बेला वा अघिल्लो महिनाको मसान्त र आउँदो महिनाको संक्रान्ति जोडिएर दुई महिना लाग्ने अवस्था आएमा ५ वा ३ दिनमा पनि चोख्याउने (उम्काउने) चलन छ । यसलाई बरखी गर्ने वा टीका फुकाउने भनिन्छ ।

टीका फुकाउने दिनमा मृतकको चिहानमा पुगेर मासु, भात, जाँड, रक्सी र चुरोट खानेकुरा चढाइन्छ । यस्तो बेलामा मृतकले आफ्नो जीवनकालमा मनपराएका परिकारलाई प्राथमिकता दिने चलन छ । चिहानमा खानेकुरा चढाउने कार्यमा छोरी–ज्वाइँ खटिन्छन् ।

चोख्याउने दिनमा मावली पक्षले किरियापुत्रलाई टोपी लगाइदिन्छन् भने किरियापुत्रीलाई मजेत्रो ओढाइदिन्छन् । पहिले पहिले किरियापुत्रलाई सेतो टोपी लगाइदिने चलन थियो । यस क्रममा उनीहरूलाई दही र चामलबाट बनेको सेतो टीका पनि लगाइदिने चलन छ । अहिले ढाकाटोपी लगाइदिने चलन पनि आएको छ ।

कसैकसैले उनीहरूलाई खादा पनि लगाइदिन्छन् । यो नयाँ चलन हो । पहिले खादा लगाउने चलन थिएन । त्यसपछि मात्र किरियापुत्र तथा किरियापुत्रीको भाइ खलक राखेर मावलीले सेतो टीका लगाइदिन्छन् । त्यसपछि स्थानीय परिकारहरू खुवाइन्छ । उनीहरूलाई सबै आफन्तजनले रख्खेडोरो गर्ने चलन पनि छ ।

सदस्य गुमाएको परिवारका सम्पूर्णलाई आफन्तजन तथा शुभचिन्तकहरूले रख्खेडोरो गर्छन् । यसलाई स्थानीय लवजमा ‘स्याई स्याई गर्ने’ भनिन्छ । परिवारको सदस्य गुमाउँदा आत्मा विचलित नहोस् तथा उनीहरू सातो नजाओस् भनेर रख्खेडोरो गरिन्छ ।

किरिया बस्नेहरूले छोरी–ज्वाइँ, भान्जा–भान्जी, दिदीबहिनीलाई टीकाटालो गरेर दक्षिणा प्रदान गर्ने गरिन्छ । यस कार्यको टीका फुकाउने काम विशेष गरेर मावली पक्षले गर्ने चलन छ । टीका फुकाउने दिनमा सामूहिक खानपानको व्यवस्था गरिन्छ । पहिले पहिले यस्तो खानपानमा मासुको प्रयोग हुन्थ्यो, अहिले यस्तो चलन अन्त्य गर्दै लगिएको छ ।

मृत्यु संस्कारबारे दुरा समुदायमा आफ्नै किसिमको विश्वास प्रणाली छ । जस्तै : चिहान खन्दा कडा खालको ढुंगा भेटियो र खन्न कठिन भयो भने पनि त्यसलाई रोक्न मिल्दैन । मलामी जाँदा बाटोमा खुट्टा ठोक्कियो भने मलामी नगई घर फर्कनुपर्छ । बाउ र छोरा सँगै मलामी जानुहुँदैन । लास लगेको दृश्य गर्भवतीले हेरेमा बच्चा जन्मँदा घाँटीमा साल बेरिएर जन्मन्छ ।

परिवारजनले मृतकको स्मृतिमा चौतारी, मठ तथा ठाँटी बनाउने चलन थियो । अहिले यो प्रचलनमा पनि ह्रास आएको देखिन्छ । गाउँघर छाड्ने प्रवृत्तिले यस्तो अवस्था आएको हुनुपर्छ । एकाध परिवारले मृतकको स्मृतिमा कोष खडा गरेर लोकहितकारी काम गरेका पनि पाइन्छ, जुन नयाँ चलन हो ।

आमाको मृत्यु हुँदा दूध र बुबाको मृत्यु हुँदा मद्यमान बारिन्छ । यो अवधि एक वर्षसम्म कायम रहन्छ । त्यस वर्ष चौतारीमा पनि बसिँदैन । उनीहरूले त्यस वर्ष दशैँ–तिहारको टीकालगायत कुनै पनि टीका ग्रहण गर्दैनन् । भाइ खलकका अग्रज सदस्यहरूले पनि टीका लगाउँदैनन् । बरखी बार्नेहरूले सेतो लुगा लगाउन अनिवार्य मानिँदैन । परिवारमा कुनै सदस्यको मृत्यु भएको वर्ष नयाँ घर बनाउने चलन पनि कतै कतै भेटिन्छ ।

दुरा समुदायमा सामूहिक जीवनशैलीको अवशेष अझै पनि कायमै छ । गाउँमा कुनै परिवारमा मृत्युको घटना हुँदा हरेक घरधुरीले एक माना चामल, एक पुङ रक्सी तथा निश्चित रकम सम्बन्धित परिवारलाई बुझाउँछन् । यसलाई ‘कोर्जे उठाउने’ भनिन्छ । यसलाई कतै कतै ‘खरेल उठाउने’ पनि भन्ने गरिएको पाइन्छ ।

माथि वर्णन गरिएका मृत्यु संस्कारका आयामहरू ग्रामीण परिवेशमा आधारित छन् । अहिले दुरा समुदायको मृत्यु संस्कारमा व्यापक परिवर्तन आएको छ । गाउँ छाडेर शहर बजारमा बस्ने चलनसँगै मृत्यु संस्कारमा थुप्रै परिवर्तन आएको अनुभूति गर्न सकिन्छ ।

विगतमा डाँडामा लगेर गाड्ने वा जलाउने चलन थियो । अहिले दुरा समुदाय शहर बजार, बेँसी वा नदी किनारमा पनि बस्न थालेकाले खोलाको किनार वा अन्य घाटमा सद्गत गर्ने चलन आइसकेको छ । पहिले महिला मलामी जाने चलन थिएन तर अहिले शहर बजारमा महिला पनि मलामी जाने चलन सुरु भइसकेको छ ।

अहिले सम्बन्धित व्यक्ति परलोक भएको एक वर्षको तिथि पारेर लाखबत्ती बाल्ने चलन निकै बढेर गएको छ । पहिले यस्तो चलन भए पनि त्यति व्यापक थिएन । परिवारजनले मृतकको स्मृतिमा चौतारी, मठ तथा ठाँटी बनाउने चलन थियो । अहिले यो प्रचलनमा पनि ह्रास आएको देखिन्छ । गाउँघर छाड्ने प्रवृत्तिले यस्तो अवस्था आएको हुनुपर्छ । एकाध परिवारले मृतकको स्मृतिमा कोष खडा गरेर लोकहितकारी काम गरेका पनि पाइन्छ, जुन नयाँ चलन हो ।

दुरा समुदायको हरेक चालचलनमा हिन्दु, बौद्ध तथा बोन परम्पराको प्रभाव देखिन्छ । मृत्यु संस्कार पनि यसको अपवाद बन्न सक्दैन । दुराहरूको हरेक चालचलनमा स्थानीय संस्करण पनि पाइन्छन् । दुरा एकदमै सानो समूह भएकाले यस समुदायमा अन्य ठूलो समुदायको प्रभाव पर्न गएको देखिन्छ । यस अर्थमा दुरा समुदायमा हाल प्रचलनमा रहेका कतिपय संस्कार मौलिक हुन् भन्न सकिने अवस्था छैन । बाहिरी संस्कार कसरी र कुन समयमा कसरी भित्रिए बन्नेबारे बेग्लै खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।