डा. सदानन्द कडेल | शिक्षा | भदौ २९, २०७६
कलङ्की चोकको रुद्रबजार अगाडि एटा माइक्रो बस हुइँकिँदै आयो र टक्क रोकियो । अन्दाजी १०-११ वर्षका जस्ता देखिने एउटा बालक माइक्रो बसको ढोकाबाट फुत्त झरेर 'स्वयम्भू, बालाजु, बसपार्क' भनेर पटक पटक सम्भावित यात्रुको ध्यान तान्न चिच्याउन थाले ।
बसका कन्डक्टरले झैँ उनले देब्रे हातको औँलामा मिलाएर नोटहरू राखेका थिए । उनले बीचमा यात्रुसँ पैसा पनि उठाए । उनको आत्मविस्वास र काम गर्ने शैली हेर्दा व्यावसायिक कन्डक्टरभन्दा कम देखिँदैनथे । विद्यालय जानुपर्ने बालक विद्यालय चलिरहेकै समयमा यसरी काम गरिरहेको देखेपछि एउटा शिक्षाकर्मीको मन नराम्रोसँग बरालियो । किन यी भाइले स्कुल जान नपाएका होलान् ? यसबारे उनका अभिभावक वा सम्बन्धित निकायको ध्यान किन जान नसकेको होला ?
उनलाई भेटेर एउटा घटना अध्ययन (केस स्टडी) नै तयार गरौँ कि भन्ने पनि लाग्यो । तथापि मनमा लागेर पनि त्यतिबेला ती भाइसँग कुराकानी गर्न सम्भव थिएन । बाल अधिकारबारे मनमा कुरा खेलाउँदै घर गएँ । राष्ट्रियय बाल दिवस पनि आउनै लागेको हेक्का भएकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वेबसाइट खोलेर हेेरेँ । प्रधानमन्त्री, मन्त्री तथा अन्य बरिष्ठहरूका फोटाहरूसँगै एउटा सूचना आउँदै रहेछ- राष्ट्रिय बाल दिवस, २०७६ भाद्र २९ गते आइतबार, मूल नारा 'सुनिश्चित बाल अधिकार : समृद्द नेपालको आधार ।'
यसै सन्दर्भमा यस आलेखमार्फत बाल दिवस कहाँ, कसरी र किन मनाइन्छ भन्नेबारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
काठमाडौं, ललितपुर, पोखरा, वीरगंज, विराटनगर र भरतपुर महानगरपालिकाका वेबसाइटहरू पनि बाल दिवसबारे बेखबर छन् । त्यति मात्र होइन, बालबालिकाको लागि काम गर्ने संयुक्त राष्ट्र संघका एजेन्सीलगायत अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूका वेबसाइटमा पनि खास केही देखिँदै । यसबाट के छर्लंग हुन आउँछ भने माथि उल्लेखित निकायहरू बाल दिवसलाई जनस्तरमा बाल अधिकारसम्बन्धी सचेतना फैलाउने अवसरको रूपमा प्रयोग गर्न चुकिरहेका छन्
सन् १९४९ मा मस्कोमा आयोजित अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महिला सम्मेलनको निर्णयपश्चात सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । सोहीअनुसार अहिले चीन, कम्बोडिया, इक्वेडर, इथियोपिया, म्यान्मार, पोल्याण्ड, उत्तर कोरिया, पोर्चुगल, रुस, भियतनाम, रुमानिया, तान्जानिया, युक्रेनलगायतका ५० देशमा जुन १ को दिन नै बाल दिवस मनाउने गरिन्छ ।
त्यस्तै, सन् १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा विश्वभर बालबालिकाको हितका खातिर अन्तर्राष्ट्रि बाल दिवस मनाउने गरिँदै आएको छ । फ्रान्स, फिनल्याण्ड, स्विट्जरल्याण्ड, क्यानडा, फिलिपिन्स, स्पेन, स्विडेन, दक्षिण अफ्रिका, इजरायल, इजिप्ट, मलेसियालगायतका २६ राष्ट्रहरूले यही दिन नै बाल दिवस मनाउने गर्छन् । कंगो, क्यामरुन, चादलगायतका ७ मुलुकमा २५ डिसेम्बरमा मनाउने गरिन्छ ।
अमेरिकाले जुन महिनाको दोस्रो आइतबार बाल दिवस मनाउने गर्छ भने भारतमा नोभेम्बर १४ मा मनाउने गरिन्छ । बालबालिकाबीच 'नेहरु चाचा' (काका)को नामले लोकप्रिय तथा बालबालिकाको शिक्षाका लागि प्रखर रूपमा वकालत गर्ने भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको सम्मानमा उनकै जन्म जयन्तीको दिन बाल दिवस मनाउने गर्न थालिएको हो । त्यसअघि नोभेम्बर २० मा मनाउने गरिन्थ्यो ।
नेपालमा वि. सं. २०२१ देखि २०६२ सम्म ४२ वटा राष्ट्रिय बाल दिवस भाद्र ४ गते अर्थात् तत्कालीन रानी रत्नको जन्म दिनको दिन अर्थात् नेपाल बाल संगठनको स्थापना भएको दिनमा मनाउने काम भयो । राजतन्त्रको अन्त्यसँगै वि. सं. २०६३ देखि भाद्र २९ गते अर्थात संयुक्त रास्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बर (भाद्र २९ गते) प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको अन्तरिम सरकारले अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन थालिएको हो ।
राष्ट्रिय बाल दिवस कताकता कसरी मनाइँदै रहेछ त अथवा कुनकुन सरकार वा निकायले कसरी जनतालाई राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको बचाऊ, संरक्षण, सहभागिता र विकाससम्बन्धी अधिकारको बढोत्तरीका लागि आह्वान गरेका छन् त भनेर हेर्दा त्यति उत्साह हात लाग्दैन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वेबसाइटमा माथि उल्लेखित मूल नाराबाहेक केही भेटिँदैन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय बाल कल्याण समितिको वेबसाइटमा पनि केही भेटिँदैन । यसबारे सातवटै प्रदेश सरकारका वेबसाइटहरू मौनब्रत बसेजस्ता देखिन्छन् । राष्ट्रिय बाल दिवस वा बालमैत्री समृद्धिबारे केही पनि उल्लेख छैन ।
काठमाडौं, ललितपुर, पोखरा, वीरगंज, विराटनगर र भरतपुर महानगरपालिकाका वेबसाइटहरू पनि बाल दिवसबारे बेखबर छन् । त्यति मात्र होइन, बालबालिकाको लागि काम गर्ने संयुक्त राष्ट्र संघका एजेन्सीलगायत अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूका वेबसाइटमा पनि खास केही देखिँदै । यसबाट के छर्लंग हुन आउँछ भने माथि उल्लेखित निकायहरू बाल दिवसलाई जनस्तरमा बाल अधिकारसम्बन्धी सचेतना फैलाउने अवसरको रूपमा प्रयोग गर्न चुकिरहेका छन् । अर्को शब्दमा भन्दा केही कार्यक्रम गर्ने योजना भए तापनि त्यसलाई सर्वसाधारण सामु संचारको सजिलो माध्यमबाट बाहिर ल्याउने काम गर्न सकिरहेका छैनन् ।
बाल दिवस कार्यक्रम भइसकेपछि त्यसबारेका खबरहरू त धेरैतिरबाट आउलान् तर कार्यक्रम हुनुभन्दा पहिल्यै जनसमक्ष अनुरोध तथा आह्वानसहित केवल कर्मकाण्डी दिवस नभई बाल अधिकार र बाल विकासबारे राम्रो सन्देश दिने र बालबालिकाको क्षमता प्रस्फुटनका लागि पहलकदमी लिने केही स्थानीय सरकारहरूको प्रयास सराहनीय छ ।
रुकुमपूर्वको भूमे गाउँपालिकाले 'बालबालिकाका लागि स्थानीय सरकार' विषयमा विभिन्न विद्यालयबाट छानिएर आएका (आधारभूत तहबाट एक छात्र र एक छात्रा तथा माध्यमिक तहबाट एक छात्र र एक छात्रा) बालबालिकाहरूबीच वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै छ । हेटौंडा उपमहानगरपालिकाले आफ्नो वेबसाइटमार्फत राष्ट्रिय बाल दिवसको अवसरमा 'बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका' शीर्षकमा बक्तृत्वकला प्रतियोगिता र राष्ट्रिय लोक संस्कृति झल्किने गरी खुला नृत्य प्रतियोगिताको आयोजना गर्ने र विजयीलाई नगद पुरस्कारसमेत दिने घोषणा गरेको छ ।
गोदावरी नगरपालिकाले पनि हरेक विद्यालयबाट १ जना प्रतियोगी, ४ जना अन्य विद्यार्थीहरू र १ जना शिक्षक बोलाई जनभावना क्याम्पस चापागाउँमा 'अबको प्रतिबध्दता, बाल श्रम र बाल विवाहविरुद्ध हाम्रो एकता' बिषयमा वक्तृत्वकला प्रतियोगिता संचालन गर्दै छ । त्यस्तै, नेपालगंज उपमहानगरपालिकाले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमसहित राष्ट्रिय बाल दिवस मनाउने तयारी गरेको छ भने दक्षिणकाली नगरपालिकाले पनि सबैलाई नगरपालिकाको प्रांगणमा भेला भई बाल दिवस मनाउन निमन्त्रणा गरेको छ ।
पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भन्नुभएको छ- 'बालबालिकाहरू विश्वकै सबैभन्दा मूल्यवान् स्रोत हुन् र यसको भविष्यका लागि सर्वश्रेष्ठ आशा हुन् ।' आजका ससाना बालबालिकाहरू हाम्रा आशा तथा भरोसाका केन्द्र हुन्, भोलि देश हाँक्ने नागरिक हुन् । संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धिलाई अमेरिका, सोमालिया र दक्षिण सुडानबाहेक १९४ राष्ट्रले अनुमोदन गरेका छन् । यो इतिहासमै सबैभन्दा छिट्टो र फराकिलो ढंगले अनुमोदन भएको मानव अधिकारसम्बन्धी सन्धि हो । तर, अझै पनि बालबालिकाको शिक्षा र स्वास्थ्यसम्बन्धी अवस्था नाजुक नै छ ।
राष्ट्रियय बाल दिवस पनि आउनै लागेको हेक्का भएकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वेबसाइट खोलेर हेेरेँ । प्रधानमन्त्री, मन्त्री तथा अन्य बरिष्ठहरूका फोटाहरूसँगै एउटा सूचना आउँदै रहेछ- राष्ट्रिय बाल दिवस, २०७६ भाद्र २९ गते आइतबार, मूल नारा 'सुनिश्चित बाल अधिकार : समृद्द नेपालको आधार ।'
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१७ मा मात्रै ५४ लाख पाँच वर्षमुनिका बालबालिकाहरूको मृत्यु भएको थियो । सन् २०१५ मा हरेक दिन ८३० जना महिलाहरूले गर्भावस्थाको जटिलताको कारण र बच्चा जन्माउने बेला आफ्नो ज्यान गुमाए । युनेस्कोका अनुसार सन् २०१७ मा ६ करोड ४० लाख प्राथमिक विद्यालय जाने उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट बन्चित रहे । त्यसैले यस्तो अवस्थालाई सम्बोधन गर्नका लागि हरेक मुलुकका सरकारले बाल दिवसलाई केवल कर्मकाण्डी हुन नदिई बढी अर्थपूर्ण र नतिजामुखी बनाउन प्रयास गर्नुपर्छ । दिगो र समृद्ध समाजको जग नै प्रारम्भिक बाल विकास भएकाले त्यसमा लगानी वृद्धि गर्नुपर्छ ।
वि. सं. २१०० मा पुग्दा (२४ बर्षपछि) हाम्रो मुलुकलाई कस्तो बनाउने भनेर समृद्धिको स्वप्नचित्र (भिजन) बनाइरहँदा, तदनुकूल योजना बनाइरहँदा आजका बालबालिकालाई प्राथमिकतामा राख्नबाट चुक्यौँ भने ठूलो भूल हुनेछ । हामीले सोचेजस्तै रेलगाडी त आउला, मोनो रेल, मेट्रो रेल पनि आउला, पानी जहाजसँग जोडिने दिन पनि आउला, ठूलाठूला ८ लेनका सडकहरू पनि बन्लान् । तर, त्यो रेल चढ्ने, पानी जहाज चढ्ने र बडेबडे गाडीमा चढ्ने नागरिकहरू अर्थात् अहिलेका बालबालिकाहरू कुपोषित भए, विद्यालय तथा कलेज जानबाट बन्चित भए अथवा स्वास्थ्य र शिक्षित भए पनि आफ्नो समाज र देशलाई माया नगर्ने भएर निस्किए भने के हुन्छ ? फरर अंग्रेजी त बोल्ने तर आफ्नै भाषा र संस्कृति बिर्सने, सम्झे पनि तिरस्कार गर्ने नागरिक तयार भए भने के हुन्छ ? हरेक नागरिक आर्थिक रूपमा समृद्ध भए पनि उनीहरूमा शैक्षिक, संवेगात्मक, मनो-सामाजिक र सांस्कृतिक रूपमा समृद्धि आएन भने के हुन्छ ? यतातिर हामीले गम्भीर भएर सोच्नुपर्ने भएको छ ।
सामाजिक विकासलाई पूर्वाधार विकासले किचेर घाइते नपारोस् भन्ने कामना गर्ने हो भने काम पनि सन्तुलित रूपमै गर्नुपर्छ । हामी धेरै स्वप्नद्रष्टा मात्र भएर ठूलाठूला कुरा मात्रै गरिरह्यौँ तर कालीमाटीका सडकका खाल्डा पूर्न सकेनौँ भने, नागढुंगाको जाम घटाउने वा हटाउने शीघ्र कदम चालेनौँ भने, रेस्टुरेन्टमा होस् वा गाडीमा बालश्रम र बाल श्रमिक भएको टुलुटुलु हेरिरह्यौँ भने निर्जीव संविधानले पनि हामीलाई धिक्कार्नेछ ।
अन्जुलीमा उठाउँछु भन्दा पोल्टाको पनि पोखिएको चालै नपाएर एक दिन पछुताउनुपर्नेछ । आशा गरौँ, त्यस्तो नहोस् । अर्को राष्ट्रिय बाल दिवस आउने बेलासम्ममा काठमाडौं महानगरमा मात्र होइन, कुनै पनि ठाउँमा माइक्रो बस, बस वा अरू कुनै सवारी साधनमा स्कुल जान बन्चित बालबालिकाको श्रम शोषण भएको देख्न नसकिने अवस्थाको सिर्जना होस् अनि मात्रै हाम्रो बाल दिवसको मूल नारा सार्थक भएको देख्न सकिनेछ । त्यसपछि चाणक्यले भनेजस्तै हुर्केका बालबालिका हाम्रा बेजोडका साथी हुनेछन् ।
उनी भन्छन्, 'पहिलो पाँच वर्षसम्म बालबालिकालाई मायालु व्यवहार गर । त्यसपछिको पाँच वर्ष हप्काऊ (सम्झाऊ) । १६ वर्ष पुगेपछि साथी जस्तो व्यवहार गर । हुर्केका बालबालिकाहरू तिम्रा सबभन्दा राम्रा साथी हुन् ।'