पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाला सुन प्रति तोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति तोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रति तोला ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला २००/२०० रुपैयाँले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेर प्रति तोला ८४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
शुक्रबार चाँदी प्रति तोला ८७० रुपैयाँमा खरिद बिक्री भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्व बजारमा सुनको मूल्य प्रति औँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रति औँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।