सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छाया गभर्नर मौलवी नुरुद्दीनसमेत कम्तीमा १२ जना तालिबान लडाकुहरू मारिएका छन् ।
सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबानविरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताउनुभयो । द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ । प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा आइतवार बिहान लडाकु विमानले तालिबान विद्रोहीहरू लुकेर बसेका स्थानमा हवाई कारबाही गरेको बताउनुभयो ।
रेजाइले प्रान्तको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन तालिबानविरुद्धको कारबाहीलाई अझ कडा बनाइने जानकारी दिनुभयो । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन ।