भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतवार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेको बेला दुर्घटना भएको आन्ध्र प्रदेशका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।
घटनामा कम्तीमा २५ जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुङ्गामा ११ जना चालक दलका सदस्य र ५० जना पर्यटक रहेको बताइएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिनुभएको छ । उहाँले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिनुभएको छ । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।