आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले सोमवार पनि सोही लय पछ्याएको छ । कारोबार सुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर २४६.३५ बिन्दुमा ओर्लिएको छ । नेप्से दोहोरो अङ्कले घटे पनि आइतवारको तुलनामा कारोबार रकम भने बढेको छ । कुल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर ३४ करोड ३९ लाख १८ हजार २२१ रुपैयाँमा खरिद बिक्री भए । आइतवार कुल १६२ कम्पनीको शेयर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
स्टकका अनुसार कारोबारका आधारमा आज छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको एक करोड ८० लाख १९ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, नेपाल बैंक एक करोड ७९ लाख ८३ हजार ३१६, सिटिजन बैंक एक करोड ४९ लाख ४४ हजार १९५, एनआईसी एसिया एक करोड १९ लाख ९५ हजार ४५५, सिद्धार्थ बैंक एक करोड १९ लाख २७ हजार ७९५, नेपाल लाइफ इन्स्योरेन्स एक करोड १२ लाख ३७ हजार ३८७ र शिवम् सिमेन्टको शेयर ९७ लाख ७० हजार ५३८ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, घटेको बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आईएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।