जोर्डनमा जारी एएफसी यु- १६ च्याम्पियनसीप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबार राती भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।
नेपलाका लागि दीपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै, कुवेतका अब्दुलवाहब अलहिन्दीले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । कुवेतले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो । अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन्, जसलाई ११ समूहमा विभाजन गरिएको छ ।
समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसीपका लागि छनोट हुनेछ । त्यस्तै, उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछन् ।