अफगानिस्तानमा मंगलबार भएका दुईवटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुका साथै अरु ३२ जना घाइते भएका पुष्टि गरिएको मंगलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो । तर, बुधबार सो सङ्ख्या बढेर मृतकको सङ्ख्या ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गिनले एएफपीसँग बताउनुभएको छ । राष्ट्रपति घानीको चुनावी अभियानलाई बिथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् ।
विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहनुभएको बताइएको छ । राष्ट्रपति असरफ घानी राजधानीको उत्तरमा पर्ने पारवान प्रान्तमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा प्रहरी चौकी नजिकै मोटरसाइकलकमा आएका एक आक्रमणकारीले विस्फोट गराएको र विस्फोटमा परी २६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४२ घाइते भएका थिए । एक घण्टापछि तालिबानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो । यस विस्फोटमा परी २२ व्यक्ति मारिनुका साथै अन्य ३८ घाइते भए थिए ।