विश्वकर्मा पूजा र हाम्रो सामाजिक अव्यवस्था

विश्वकर्मा पूजा र हाम्रो सामाजिक अव्यवस्था

रूपक अलङ्कार  |  दृष्टिकोण  |  असोज ०२, २०७६

हाम्रो संस्कृतिमा यमलाई मृत्युका देवता, वरुणलाई जलका देवता, सरस्वतीलाई विद्याको देवता भनेर पूजा गर्ने चलन छ । कुनै पनि तत्त्वविशेषलाई सम्बन्धित देवतासित जोडेर सम्मान गर्नु सनातन परम्परा हो । हुनत सबै धर्मले विशेष विषयलाई विशेष देवतासित जेड्ने गरेको इतिहास पाइन्छ । 

मानिसले  बाँच्न, संघर्ष गर्न र जीवनलाई अगाडि बढाउने बाटो खोज्न प्रकृतिबाट सिकेको हुनाले आफ्नो जीवनाधारका रूपमा त्यस्ता प्राकृतिक तत्त्वलाई  अभिन्न मान्दै आएको हो । त्यस्ता प्राकृतिक तत्त्वमा हातखुट्टा, आँखा, नाक, कान आदि जोडेर मानवाकार र त्यसमा पनि अझ अनौठा अंगप्रत्यंगको अतिकल्पना गरेर लोकोत्तर वा अलौकिक रूप निर्माण गर्ने काम भयो, जसका कारण हामी अहिले अतिमानवीय, अतिकल्पनायुक्त मूर्तिहरू पूजा गर्ने गर्छाै । गणेश, महादेव, विष्णु, ब्रह्म, देवी, भैरव आदि देवताका मूर्तिहरू  कुनै भयंकर, कुनै अद्भुत र कुनै हाँसो उठ्दा देखिन्छन् । हामी यी देवीदेवताका मूर्तिलाई विनासंशय नैवेद-भेटी चढाउँर्छाै र धर्म कमाउँछौँ किनभने धर्म गर्नेले संशय गर्दैन विश्वास गर्छ । 

हाम्रो जीवनमा अत्यन्त निकट सम्बन्ध रहेको देवताको नाम विश्वकर्मा पनि हो । अहिले पनि विश्वकर्मा पूजा वा विश्वकर्मा जयन्ती धुमधामसित मनाउने चलन नेपाल तथा भारतका हिन्दु समुदायमा पाइन्छ ।

विश्वकर्माको चर्चा ऋग्वेदमा नै पाइन्छ । त्यस कारण विश्वकर्मा वैदिक देवता हुन् । विशेषगरी निर्माणका अधिष्ठाताका रूपमा विश्वकर्मालाई पुजिन्छ । विश्वम् करोति (विश्व बनाउँछ) भन्ने अर्थमा विश्वकर्मा शब्द प्रयोग भएका कारण जगतकर्ता ब्रह्मालाई नै विश्वकर्मा भनिएको पनि पाइन्छ । ईन्द्रलाई पनि विश्वकर्मा नामले पुकारेको पाइन्छ । विश्वकार्माको सम्बन्ध खासगरी विश्व तथा भौतिक ब्रह्माण्डसित प्रत्यक्ष रुपमा रहेको हुन्छ । 

देवतातत्त्वको योग आत्मा वा अध्यात्मसित रहे तापनि शरीरमाद्यं खलुधर्मसाधनम् (सांसारिक व्यवहारका लागि पहिलो साधन वा आवश्यकता शरीर हो) । शरीरमार्फत नै आत्मा वा चेतनाले अभिव्यक्त हुने अवसर पाउँछ । त्यस कारण शरीरलाई बेवास्ता गरेर स्वस्थ आध्यात्मिक बन्न सकिँदैन । यो विश्वकर्मा तत्त्व शरीरसित सम्बन्धित भएको मान्न सकिन्छ । 

विश्वकर्मा भौवन नामक ऋषि थिए, उनका पिता भुवन ऋषि थिए  । भौवन ऋषि मात्र थिएनन् राजा पनि थिए । उनले एउटा सर्वमेध महायज्ञको आयोजना गरे । यज्ञमा आफ्ना सम्पति अन्नपातहरु दान दिएर हवन गरेर सकिएपछि उनले आफैँलाई  हविका रुपमा प्रस्तुत गरे । तिनै सर्वदानी महर्षिलाई र्न कालान्तरमा विश्वकर्मा भनियो, यिनै विश्वकर्मा द्रष्टा भएका मन्त्रहरू ऋग्वेदमा पढ्न पाइन्छ, जसलाई विश्वकर्मा सूक्त भनिन्छ । विश्वकर्मालाई, ब्रह्मा, ईन्द्र, रुद्र, वाचस्पति आदि नामले पुकारिएको पनि पाइन्छ । 

त्यसरी नै पृथ्वी,जल, तेज, वायु, आकाशसंयुक्त पाञ्चभौतिक संसारलाई आन्तरिक ढंगले जोड्ने तत्त्व आध्यात्मिकतामा भेट्न सकिएला तर त्यसको स्थूल बाह्यसंरचनालाई सुदृढ गराउने तत्त्व भनेको विश्वकर्मा देवता नै हो । त्यस कारण यस आधिभौतिक संसारका अवयवलाई जोड्ने काम विश्वकर्माले गरेका छन् । 

विश्वकर्मा भौवन नामक ऋषि थिए, उनका पिता भुवन ऋषि थिए  । भौवन ऋषि मात्र थिएनन् राजा पनि थिए । उनले एउटा सर्वमेध महायज्ञको आयोजना गरे । यज्ञमा आफ्ना सम्पति अन्नपातहरु दान दिएर हवन गरेर सकिएपछि उनले आफैँलाई  हविका रुपमा प्रस्तुत गरे । तिनै सर्वदानी महर्षिलाई र्न कालान्तरमा विश्वकर्मा भनियो, यिनै विश्वकर्मा द्रष्टा भएका मन्त्रहरू ऋग्वेदमा पढ्न पाइन्छ, जसलाई विश्वकर्मा सूक्त भनिन्छ । विश्वकर्मालाई, ब्रह्मा, ईन्द्र, रुद्र, वाचस्पति आदि नामले पुकारिएको पनि पाइन्छ । 

सर्वमेध यज्ञमा सारा भौतिक सामग्रीलाई यज्ञकुण्डमा होमेर आफूलाई समेत हवि(चरु)का रूपमा स्थापित गर्ने विश्वकर्माले आफूलाई संसार निर्माणरूपी यज्ञमा समर्पण गरे भन्ने कुरा ऋग्वेदीय विश्वकार्मा सूक्तमा संकेतित भएको छ । 

सामान्य शहर या नगर निर्माताका रूपमा मात्र नभएर जगत् निर्माताका रुमा वेदले प्रस्तुत गरेको विश्वकर्मालाई ब्राह्मण, आरण्यक या उपनिषद्मा पनि जगत्कर्ता वा निर्माता तत्त्वकै रुपमा व्याख्या गरेको पाइन्छ । तर, पौराणिक समयमा आइपुग्दा विश्वकर्मा कुनै सृष्टि तत्त्वका  रुपमा नभएर  दरबार, महल, मन्दिर र नगरहरूको ढाँचा तयार गरेर हिँड्ने निर्माण तथा नमुनाविद्का  रूपमा चिनिएका छन् । त्यस कारण विश्वकर्मालाई प्राचीन इन्जिनियर भन्न थालिएको छ । उनले सत्ययुगमा स्वर्ग, त्रेतामा लंका द्वापरमा द्वारकाको निर्माण (डिजायनिङ) गरे भन्ने भनाइ छ । 

यसरी पौराणिक विश्वकर्मा एक  वास्तुविद् राजर्षिका रूपमा परिचित भए । तिनै लोक चौधै भुवनमा यिनको ख्याति थियो । त्यस कारण यिनी लंकामा पनि पुगे र द्वारका पनि पुगे । कामप्रतिको लगनशीलता, दक्षता आदिले हुनसक्छ देव, दानव र मानव तिनै समुदायले  यिनलाई उत्तिकै श्रद्धा र विश्वास गरेको पाइन्छ । कला र सिपको सम्मान गर्नुपर्छ भन्ने मान्यता पहिले पनि स्थापित भएको कुरा विश्वकर्माको सर्वत्र उपस्थितिले जनाउँछ । विश्वकर्माले यज्ञमा बसेर यज्ञस्वरूप बनेर यज्ञ गरे भन्ने कुरालाई यसै भौतिक जगतका अवयवबाट नित्यनवीन निर्माण गरे भन्ने अर्थमा ग्रहण गर्दा उपयुक्त हुन्छ । त्यस कारण विश्वकर्मा निर्माणका अधिष्ठाता बने । 

कामका आधारमा जात त्यसपछि जातका आधारमा काम अर्थात् आदिमकालमा जसले अध्ययन, अध्यापन तथा यागयागादिमा आफूलाई समर्पित गर्‍यो, त्यो जाता समुदाय ब्राह्मण भयो । कालान्तरमा ब्राह्मणको मात्र वेदाध्ययन र यज्ञादिमा अधिकार रह्यो, यस्तै प्रक्रिया अरू जात र व्यवसायमा पनि रहेको पाइन्छ । यस किसिमले हाम्रो समाज अघि बढेको पाइन्छ । 

वैदिक वाङ्मयमा एउटा देवतातत्त्वविशेषका रूपमा वर्णित विश्वकर्मा मन्त्रद्रष्टा ऋषि हुँदै पौराणिक वाङ्मयमा नगर, पुर वा भवनहरूका निर्माताका रूपमा स्थापित भएको देखिन्छ भने विश्वकर्मा पनि एकबाट अनेक हुँदै गएको स्थिति ज्ञात हुन आउँछ । सम्बन्धित पेसा वा व्यवसायमा लागेका व्यक्ति वा समुदाय नै विश्वकर्मा वा विश्वकर्माका वंशजका रूपमा बुझ्न थालियो । 

यसरी विश्वकर्मा तत्त्वबाट व्यक्ति र व्यक्तिबाट पदवीका रूपमा विकास भयो भने जातीयताको विकास वा जातीय विभेदको चरम अवस्था भएको सामन्ती युगमा विश्वकर्मासम्बद्ध समुदायले मात्र कला, सीप र निर्माणका क्षेत्रमा लाग्नुपर्ने  बाध्यकारी नियम स्थापना भयो । 
त्यसपछि भने विश्वकर्माहरू ज्याला मजदुरका परिचयमा रूपान्तरण भए । राज्यसत्ता ब्राह्मण क्षेत्रीका स्वामित्वमा भएकाले सरस्वतीबल र लक्ष्मीबलका अगाडि मुढेबल (मुढा चिरेर रथ बनाउने)को केही सीप चलेन । राज्यसत्ताको बलमा त्यस्ता विश्वकर्माजनित समुदायलाई कामअनुसार अनेक जाति उपजातिमा बाँडेर कित्ताकाट वा वर्गविभाजन गर्ने काम गरियो । उनीहरूका बीचमै ऊँचनीचको भावनाको विकास गरेर एकताबद्ध हुनबाट वञ्चित गरेर उनीहरूको श्रम र सीपको निरन्तर दोहन गर्ने काम भने भइ नै रह्यो । 

वेदाध्यायन र यज्ञबाट वञ्चित ती श्रमजीवीहरूमाथि छुवाछुत जस्तो  अत्यन्त घृणित, बर्बर र अमानवीय प्रथा लाद्ने काम पनि भयो । तिनीहरूले 'हामी अछुत हौँ, हामी आफैँ पूर्वजन्मका कारण दलित भएका हौँ, हामीलाई छोएर, हामीले छोएको खाएर, तपाइँहरू त बर्बाद भई नै हाल्नुहुन्छ । हामीलाई पनि घोर पाप लाग्छ' भनेर आफैँ भनेन् होला । यसमा पक्कै पनि राज्यलक्ष्मीलाई हातमा लिएर अरूमाथि शासन गर्नेहरूको स्वार्थ र दुर्भावना जिम्मेवार छ । 

आफूलाई अत्रि, काश्यप, विश्वामित्र, वशिष्ट जस्ता महर्षिहरूको सन्तानका रूपमा गौरव गर्ने त्रैवर्णिकहरूले समाजका लागि अत्यन्त उपयोगी सामग्रीहरूको निर्मातालाई चाहिँ विश्वकर्माका वंशज हुन् भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन र विश्वकर्मालाई देवता मानेर पूजा गर्ने उनैबाट विकसित मानवमाथि भने अन्यायको बर्काे ओढाउनुपर्छ जस्ता लाग्दैन  । 

असोज संक्रान्ति, महानवमीजस्ता अवसरमा र विभिन्न देवकार्यमा हामी विश्वकर्माको पूजा गर्छाै, यो हाम्रो परम्परा हो तर उनका मानसपुत्र (जसले विचार, ज्ञान, पेसा, सीप, कला आदि सिक्छ) माथि अमानुषिक व्यवहार गरेर उनको पूजा गर्नु अवश्य पनि वञ्छनीय कुरा होइन ।