लोकसंवाद संवाददाता | समाचार | असोज ०३, २०७६
काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर दिने विभिन्न पदकहरू विभिन्न चिकित्सकहरूले समेत पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)बाट विभूषित हुनुहुने भएको छ । उहाँसँगै प्रधानमन्त्री ओलीले हालै उपचार गराउनुभएको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल, भारतको म्याक्स अस्पताल, अपोलो अस्पतालका चिकित्सकहरू समेत सोही पदवीबाट विभूषित हुने सूचीमा पर्नुभएको छ । नेसनल युनिभर्सिंटी अस्पताल सिंगापुरका सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिष्ट प्रा.डा. अनन्तरमण भाटशाला, युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्लीका अध्यक्ष प्रा.डा. अनन्तकुमार, इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्लीका अध्यक्षा डा. राजिवकुमार शर्मा र अपोलो अस्पतालका डिपार्टमेन्ट अफ अंकोलोजीका प्रमुख डा. हर्ष दुवा रहनुभएको छ ।
यस्तै, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला तेस्रो ठूलो पदवी सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट विभुषित हुनुहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र महाराजगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्योतिन्द्र शर्मा, त्रिवि शिक्षण अस्पतालका प्रा.डा. उत्तमकुमार शर्मा र डा. ईश्वर लोहनी, ग्राण्डी अस्पतालका डा चक्रराज पाण्डे, काठमाडौं मोडेल अस्पतालका डा. भरत प्रधान, विराटनगरका डा. योगेन्द्रप्रसाद यादव, धनुषाका अनुसन्धानकर्ता डा. राजिव झा, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. प्रेम ज्ञवाली पनि उक्त पदकबाट विभूषित हुनुभएको छ ।
यसरी नै त्रिवि शिक्षण अस्पतालका रेडियोलोजिष्टद्वय प्रा.डा. रामकुमार घिमिरे र डा. शर्मा पौडेल, त्यहीँका चिकित्सक डा. रत्नमणि गजुरेल, मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारी र गुल्मी अस्पताल तम्घासका मेडिकल जनरलिष्ट डा. उत्तम पच्यासमेत उक्त पदकबाट विभूषित हुनुभएको छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. पलेस्वा जोशी लाखे, वीर अस्पतालका ग्यास्ट्रो सर्जन डा. सुवोधकुमार अधिकारी, नेपाली सेना चिकित्साशास्त्र महाविद्यालयका प्रा.डा. नगेन्द्रबहादुर केसी, वीरेन्द्र सैनिक अस्पतालका डा. भरतबहादुर भण्डारी पनि उक्त पदक पाउनेको सूचीमा हुनुहुन्छ ।
प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) सप्तरीका चिकित्सक डा. अशोकानन्द मिश्रले पाउनुभएको छ राम आयुर्वेद अस्पतालका निमित्त निर्देशक कामेश्वर ठाकुर र जन स्वास्थ्य निरीक्षक जिल्ला अस्पताल मुगुका ज्ञानसिंह बुढाले पाउनुभएको छ ।