महेश क्षितिज | साहित्य | असोज ०३, २०७६
निधारको लेकबाट नदी नबग्नु हो भने पसिना
असारको हरियो पहाड अडिने थिएन हत्केलामा ।
छातीको टारीखेतमा तराई नझुल्नु हो भने सुन बोकेर
सँगिनी खेल्न मङ्सिर आउने थिएन पहाडको आँगनसम्म ।
मैले उघारेको छु र न पूर्वी धराको झ्याल ढोका
सभ्यता बोकेर घाम एकाबिहानै छिर्छ राजधानीलाई उठाउन ।
मैले तमोर र अरुणका हाँगाबाट टिपेर
चण्डी र धाननाचको सिसार सैपालतिर पठाइदिएको हुँ ।
महाकालीले देउडा र गौराको उपहार पठाइदिएपछि
मैले भएभरका संस्कृति रोपेँ मेरो छातीमा
हलीजति सार्वभौम को होला र अरू यो माटोमा ?
यो शिरको टोपीभरी खिपिएका छन् कर्खा, भारत, चैत र सबाई
हल गोरुले बुझेका छन् श्रीकृष्णको धमारी र लोखाडी मष्टको चैत
मेरो खेतका गराभरी छन् सोरठीका मिथ र घाटु नाचको चित्र ।
मेरो पौरखमा वेदव्यास पनि फेल हुन्छन्
कृष्ण द्वैपायनहरूलाई मैले गाइदिएको छु सुसेलीमा
यो शरीरभरी कट्कटिएको माटोमा
भेट्नुभएन एक भूगोल मागल ?
ओठभरी दाइँगीत छ, आँखा नै त हुन् सुनको खलो
मेरो हुलियाले देखाउँदैन र दयेरो ?
खन्दा र जोत्दा ध्यान नै नाङ्गिन्छ
त्यतिबेला च्यातिएर लुगाबाट देखिने
लाज, लाज होइन, किसानको गहना हो
माटो नाङ्गो नभए कसरी उम्रिन्छ र अन्न ?
ढुङ्गाहरू मसँग यति धेरै आत्मीय बनेका छन् कि
तिनीहरूले घाउ बनाइदिएको मेरो शरीरमा
म देख्छु देश हेर्ने ऐना
श्रमगीत गाइरहेका मेरा ओठमा
तराकासुर दैत्य बधको लोकोक्ति पढिरहेको छ समाज
हलीहरू पनि जान्दछन् कुमारसम्भवको कथा ।
यी औँलाका फेदैभरी
ठेलाका पर्वतमा फुलेका छन्- आशाका गुराँस
कोदालोमा छन् उषा-सूक्त
सुमार्गको बाटोमा देशलाई लैजान सक्दैन र हलीले ?
आवाद माटोसँग सहवास गरेर
धरतीलाई मातृत्वको बोध गराउने हलीलाई
मान्छेहरू किन गर्छन् उपेक्षा ?
हलीहरू बर्बरिक बाँच्न सक्छन्
र, सक्छन् हरिया पातलाई क्षति नपुर्याई
एकै तीरले सुकेका पात भष्म पार्न
विडम्बना, मेरो दिव्य शक्तिसँग डराएर
अहिलेका कृष्णहरू पनि मेरै शिर माग्छन् ।
मलाई सार्वभौम हली मान्नुहुन्छ भने
स्वाभिमानको इतिहास लेख्ने मौका दिनुहोस्
म हल गोरु नारेर भए पनि
जन्मभूमिको लाज बचाएर
देशमा स्वाभिमानको मागल गाइदिन्छु
हलीले जति देश अरू कसैले चिनेको हुँदैन ।