लोकसंवाद संवाददाता | स्वास्थ्य | असोज ०५, २०७६
काठमाडौं । केही समय अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा गम्भीर समस्या आएपछि विदेश उड्नुभयो, केही दिनको फरकमै दुई पटक । १२ वर्षअघि मिर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेपछि उहाँ सिंगापुर जानुभएको हो ।
नेपालमा मिर्गौला रोगको प्रत्यारोपणसहित उपचारको राम्रै प्रबन्ध भए पनि उच्चपदस्थ र विशिष्टहरू भने उपचारका लागि भन्दै विदेश जाने गरेका छन् । प्रम ओली पनि एक महिनाको बीचमा १० दिनको फरकमा दुई पटक सिंगापुर जानुभयो ।
सिंगापुरको अस्पतालमा गरिएको परीक्षणपछि दिइएको औषधिले पनि प्रम ओलीको प्रोटिन र क्रेटिनाइनको मात्रा घट्न सकेको थिएन । यी दुवै तत्त्व झनै बढेपछि प्रत्यारोपण गरिएको मिर्गौलामा क्रमिक असर पुग्ने आशंकामा पुनस् परीक्षण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरूले बताएका थिए । प्रम ओलीको अहिलेकै अवस्थामा स्वास्थ्यमा स्वास्थ्यमा मिर्गौलाको कार्य क्षमता कमजोर हुँदै गएको र प्लाज्मा सेरोसिस् गर्न सिंगापुर पुग्नुभएको थियो ।
तर नेपालमा समेत पछिल्लो समय मिर्गौलाको प्रत्यारोपणदेखि मिर्गौला रोगको विशिष्टीकृत उपचार हुने चिकित्सकहरूले बताउँदै आएका छन् । जुन सुविधा नेपालकै सरकारी अस्पतालमा छ, त्यसकै लागि प्रधानमन्त्री बारम्बार विदेश जानुले मुलुकको आर्थिक क्षति त भएकै छ, सर्वधासारणले यहाँको उपचारमा शंका गर्ने ठाउँ पनि राखिदिएको छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा मिर्गौला रोगको सामान्यदेखि विशिष्ट उपचार हुँदै आएको छ तर सो उपचारका लागि प्रम विदेशी सरकारी अस्पताल पुग्नुभएको थियो ।
अझ वीर अस्पतालमा मिर्गौलाको प्रत्यारोपण हुनुका साथै विशेषज्ञ उपचार सेवासहित भीभीआईपी र भीआईपी उपचारका लागि भव्य स्थान बनाइएको छ तर २०४६ सालदेखि सो भीभीआईपी उपचार कक्ष भीभीआईपीको पर्खाइमा छ।
यस्तो छ भीभीआईपी उपचार कक्षको बिजोग
प्रम ओलीको सिंगापुरको सरकारी अस्पताल नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको हो । उपचारका सुविधाहरू यहीँ स्वदेशमै हुँदाहुँदै विदेशी सरकारी अस्पतालमा आफ्नो उपचार गराएकामा प्रधामन्त्रीको आलोचना पनि भइरहेको छ । यता, आफ्नै देशमा रहेको देशकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा रहेको भीभीआईपी कक्ष भने भीभीआईपी नपाएर वर्षौंदेखि अलपत्र छ ।
भीभीआईपीको उपचारका लागि भनेर वीर अस्पतालमा व्यवस्थित गरिएको विशेष कक्ष छ तर हाल उक्त कक्ष उपयोगहीन अवस्थामा पुगेको छ ।
वीर अस्तालको दोस्रो तल्लामा भुइँमा ओछयाइको आकर्षक गलैँचा, बिरामीका लागि एउटा आकर्षक बेड, बेडको छेउमा मोनिटर तथा अक्सिजन सिलिन्डर, बिरामीका आफन्तका लागि छुट्टै बेड तथा बिरामीको बेडबाट आगन्तुकसँग कुरा गर्न मिल्ने सोफा र आकर्षक पर्दा छन् ।
बाथ टबसहितको अट्याच ट्वाइलेट र बाथरुमसहितको भीभीआईपी उपचार कक्ष भए पनि त्यो प्रहयोगविहीन छ । पाँचवटा कक्षसहितको भीभीआईपी उपचार कक्षमा एउटामा बिरामीको शैय्या र अर्कोमा बिरामीका आफन्त बस्ने, मेडिकल टिम र सुरक्षाकर्मीका लागि फरक फरक कोटा छुट्याइएको छ । अझै भीभीआईपी कक्षभित्रै भान्सा कोठाको पनि व्यवस्था छ ।
एयर कन्डिसनसहितको भीभीआईपी कक्षमा स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सनलगायत आपतकालीन उपचारका निम्ति आवश्यक सामग्री पनि राखिएको छ ।
कक्षमा ईसीजी मेसिन, भेन्टिलेटर छन् । अस्पतालले पछिल्लो समय भीभीआईपी तथा भीआईपी उपचारका लागि छुट्टै लिफ्टसमेत निर्माण गरिरहेको छ तर कक्षको हाल भने बेहाल छ ।
अस्पतालले यो सुविधावापत दिनको २४ सय रुपैयाँ शुल्क तोकेको छ। भीआईपीका लागि मेडिकल सुविधा समान रहे पनि स्वकीय सचिवका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छैन ।
वीर अस्पतालको तथ्याङ्कअनुसार २०४६ सालदेखि यस उपचार कक्षमा कुनै पनि भीभीआईपी उचारका लागि गएका छैनन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव तत्कालीन समयमा त्यस समय उपचारका लागि गए पनि भर्ना गरी ओपीडीबाटै फर्कने गर्नुहुन्थ्यो भने हालकी राष्ट्रपति विद्यादेवी भण्डारी बेलाबेलामा दाँतको उपचार गराउन वीर अस्पताल पुगे पनि ओपीडीबाटै उपचार गरेर फर्कने गर्नुहुन्छ । बरु उहाँले केही समयअघि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । त्यहाँ उहाँले पेटको इन्डोस्कोपीसमेत गराउनुभएको थियो । तर, वीर अस्पतालमा उहाँले आजसम्म बेलाबेलामा दाँतको उपचारबाहेक अन्य उपचार नगराउनुभएको अस्पतालले जनाएको छ।
पाँच वर्षयता १० जना भीआइपी
वीर अस्पतालका अनुसार पछिल्लो पाँच वर्षमा १० जना भीआईपीले उपचार गराएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल एक हप्तासम्म अस्पतालमा रहेर उपचार गराउनुभएको थियो । उनीहरूले क्रमशस् २०७२ साउनमा रक्तचाप बढेपछि भर्ना भएर उपचार गराउनुभएको थियो । अघिलल्लो संविधानसभाका महिला सासंदहरू कमलादेवी महतो, अम्बिका खवास चौधरी र कमला शर्माले पनि वीर अस्पतालको भीआईपी उपचार कक्षमा बसेर उपचार गर्नुभएको थियो ।
२०७२ सालमा दुई जना बिरामी त्यहाँ पुगेका थिए भने ०७३ मा तीन जना, ०७४ मा चार, ०७५ मा चार र ०७६ मा दुई जनाले भीआईपी कक्षमा उपचार गराएका अस्पताले जनाएको छ।
केही समयअघि तत्कालीन स्वास्थ्य सचिव चन्द्र घिमिरे, तत्कालीन स्वास्थमन्त्री गिरिराजमणि पोखरेल, ०७५ मा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र सर्वोच्च अदालतका न्यायाधीश गोविन्द शर्मा, पछिल्लो पटक गत जेठ १२ मा सांसद उमाकान्त चौधरीले भीआईपी उपचार कक्षमा बसेर वीर अस्पतालको विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा लिनुभएको थियो ।
यी पर्छन् भीभीआईपी र भीआईपी
वीर अस्पतालमा रहेका विशिष्ट उपचार कक्ष दुई प्रकारका छन् । एउटा भीभीआईपीका लागि र अर्को भीआईपीका लागि । भीभीआईपीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख पर्छन् भने भीआईपीमा मन्त्रीहरू, सांसद, पार्टीका शीर्ष नेताहरू, संवैधानिक अंगका प्रमुख, पूर्वमन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरू पर्छन् ।
भीभीआईपी र भीआईपी उपचार कक्षको इतिहास
नेपालकै पुरानो वीर अस्पतालमा पंचायतकालमा राजपरिवारका सदस्यहरूले भीभीआईपी कक्षमा रहेर उपचार गराउने गर्थे । २०६२र०६३ को जनआन्दोलनपछि भीभीआईपी उपचार कक्ष प्रयोगविहीन बनेको छ । गणतन्त्र स्थापनायता कुनै भीभीआईपीले यस कक्षबाट उपचार सेवा लिएका छैनन् । अस्पतालका अनुसार २०६२र०६३ पछि प्रयोगविहीन भएको यो उपचार कक्ष २०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनको बेलामा संचालनमा ल्याउने प्रयास भएको थियो । २७ लाख रुपैयाँ खर्च गरेर मर्मत पनि गरियो तर त्यसबेलादेखि अहिलेसम्म त्यसको प्रयोग भएको छैन ।
बेलाबेलामा सरसफाइ गरेर राखिन्छ तर उपयोग भने भएको छैन । भीआईपी उपचार कक्षको भने यदाकदा प्रयोग हुने गरेको छ । नेपालमै उपचार गराए पनि धेरै भीभीआईपीको वीर अस्पताल रोजाइमा पर्ने गरेको छैन । प्रायस् सबै नेपालका नाम चलेका निजी अस्पतालमा धाउने गर्छन् ।