लोकसंवाद संवाददाता | स्वास्थ्य | असोज ०५, २०७६
काठमाडौं । वैशाखको पहिलो हप्ता धरानबाट फैलिएको डेंगु हाल देशका अधिकांश जिल्लामा फैलिएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ७ हजार ३७० जना डेंगुबाट प्रभावित छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रदेश ३ मा ३ हजार ९२९ जना, प्रदेश १ मा ९५६ जना, गण्डकी प्रदेशमा एक हजार ९६४ जना डेंगु प्रभावित भएका छन् । यस्तै, सबैभन्दा धेरै डेंगु देखिने जिल्ला काठमाडौंमा एक हजार ३३१, मकवानपुर ७८३, चितवन एक हजार २३७, झापा ३९० र सुनसरी ३८२ जनामा डेंगु देखिएको छ ।
तराईदेखि पहाड हुँदै हिमालसम्म डेंगु फैलिएको छ । महामारीको रूप लिने चिन्ता बढ्दै गर्दा यो रोग नियन्त्रणमा चुनौती खडा भएको छ ।
के हो डेंगु ?
डेंगु एक प्रकारको भाइरल ज्वरो हो । यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्छ । यो लामखुट्टे दिउँसोको समयमा धेरै सक्रिय हुन्छ ।
डेंगु भाइरस (डीइएन भी) ले हुने रोग हो । जुनसुकै उमेरका मानिसलाई पनि यो रोग लाग्न सक्छ । डेंगु भाइरसका चार प्रजाति छन्, डीइएन भी १, डीइएन भी २, डीइएन भी ३ र डीइएन भी ४ । डेंगु रोगबाट संक्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनभित्रमा लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवनभर संक्रमित रहन्छ ।
कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया ४ देखि ७ दिनभित्रमा रोगको लक्षण देखिन्छ । तर, संक्रमित लामखुटे्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुन्छन्।
यी हुन् डेंगुका लक्षण
एडिस नामक लमखुट्टेले टोकेको एक हप्तामै डेंगुका लक्षण देखा पर्न थाल्छन् ।
ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासु लुछेजस्तो अनुभूति हुने, ढाड–जोर्नी दुख्ने, छालामा रातोरातो दाग देखापर्नेजस्ता लक्षण देखिन्छन् । तर, कतिपय मानिस संक्रमित भएर पनि कुनै पनि लक्षण नदेखिनेसमेत हुन्छ । डेंगु भएका कतिपय मानिसलाई फ्लु जस्ता लक्षण देखिन्छन् भने भने कतिलाई डेंगु ज्वरो देखिन्छ ।
त्यसैगरी एकदमै कम व्यक्तिमा मात्र डेंगुका कारणले हुने जटिलता देखिने हुन्छ । जटिलता भएको खण्डमा मानिसको रक्तनलीबाट प्लाज्मा बहिर निस्किन्छ । यस कारण फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा, मुखबाट रक्तश्राव हुने, कलेजो सुन्निने जस्ता लक्षण देखिन थाल्छन् ।
बिरामीको रक्त सञ्चालन नभएर रक्तचाप कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसकै कारण मिर्गौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन् । कहिलेकाहीँ रक्तश्राव हुने समस्या पनि देखिन सक्छ ।
डेंगु भएका व्यक्तिले चिकित्सकको सल्लाहमा औषधिको रूपमा पारासिटामोलको सेवन गर्नुपर्छ । प्रशस्त मात्रामा झोलयुक्त खानेकुरा खानुपर्छ ।
रक्तश्राव धेरै भएको खण्डमा भने प्लेट्लेसको संख्या घटेर जान्छ । यो अवस्थामा रगत चढाउनुपर्ने पनि हुनसक्छ । कुनै व्यक्तिमा अन्य व्याक्टेरियाको संक्रमण हुन सक्छ । यस्तो अवस्थामा भने चिकित्सकले एन्टिबायोटिक चलाउन सक्छन् । नत्र डेंगु ज्वरोमा एन्टिबायोटिकको आवश्यकता हुँदैन ।
यसरी बच्न सकिन्छ
घरबाहिर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने । गमला, फूलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे जान नसक्नेगरी राम्ररी बन्द गरेर राख्ने । कुलरमा जम्मा भएको पानी सफा गर्ने । यसमा रहेको पानीमा प्रत्येक साता एक-दुई चम्चा मट्टितेल हालिदिने ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउने । सुत्दा पनि झुल प्रयोग गर्नुका साथै दिउँसो सुतेका साना केटाकेटीलाई झुल हाल्ने । लामखुट्टेको टोकाइबाट बच्न शरीरका देखिने अंगमा लामखुट्टे भगाउने मह्लम वा घरेलु तेल लगाउने । घरका झ्याल-ढोकामा जाली हाल्ने ।