दक्षिण एसियाली देशमा बाथ रोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथ रोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुई दिने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करिव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ ।
नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथ रोगसम्बन्धी काठमाडौं घोषणापत्रसमेत जारी गर्नेछ । सङ्घका कार्यसमिति सदस्य एवं बाथ रोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथ रोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथ रोगको समस्या भएको र तीमध्ये करिव १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।
करिव ७० प्रतिशत बाथ रोगीले औषधि खाँदाखाँदै बीचमै छाड्ने गरेका छन् । नेपालमा बाथ रोग विशेषज्ञ चिकित्सक करिव ३० जना मात्र छन् । विशेषज्ञ चिकित्सक नकर्मी भन्नुहुन्छ, 'बाथ रोग एक सयभन्दा बढी प्रकारका छन्, रगत परीक्षण गराएपछि मात्र बाथ रोगका पहिलो जानकारी प्राप्त हुन्छ ।'
नेपालमा बढी मात्रामा युरिक एसिड, हाडजोर्नी सुन्निने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बढी देखिने चिकित्सकले जनाएका छन् । साथै बालबालिका बढी मात्रामा जोर्नी दुख्ने बाथ रोगबाट ग्रस्त भएको पाइन्छ । हाडजोर्नी दुख्ने, सुन्निने कक्रक्क हुने, घुँडा, कुहिनो दुख्ने, सामान्य ज्वरो आउनेलगायतका लक्षण बाथ रोगका हुन् । समयमा उपचार नभएमा यस रोगले आँखा, मिर्गाैला र मुटुलाई समेत असर पुर्याउने चिकित्सकले जनाएका छन् ।