नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सोमवार सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पाेरेसनले ४२ महिनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत २२ अर्ब रुपैयाँ हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार सो रकममध्ये नेपाल सरकारले छ अर्ब रुपैयाँ जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब रुपैयाँ मुआब्जावापतको रकम बाँडिसकिएको छ ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडकसमेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।' जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उहाँले जानकारी दिनुभयो ।
अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर-सूर्यविनायक सडक निर्माण गरेको थियो ।