लोकसंवाद संवाददाता | कारोबार | माघ २९, २०७५
म्याग्दी । जिल्लाको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रूपैयाँसम्म कमाउन सफल भएका छन् ।
गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रूपैयाँ भित्र्याउने गरेका छन् ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बालीको खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताउनुभयो । ‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ,’ सापकोटाले भन्नुभयो, ‘यहाँको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।’ सापकोटाका अनुसार विगत तीन वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन् । करीब १५० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केरा खेती गरेका छन् ।
खबराकी जाँगरिली महिला तारा कुँवरको जीवनस्तर पनि केरा खेतीबाटै फेरिएको छ । वार्षिक रु तीन लाखको केरा बिक्री गर्दै आएकी कुँवरले केरासँगै तरकारी खेती पनि गर्नुभएको छ । ‘वार्षिक दुई लाखदेखि तीन लाख रूपैयाँसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो,’ कुँवरले भन्नुभयो । करीब ५० घरले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । १०/१५ घारी केरा नलगाएको घर नै छैन ।
मजदुर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुँवरले बताउनुभयो । ‘केरा बेचेर वार्षिक ५० हजारदेखि ६० हजार रूपैयाँ आम्दानी नगर्ने खबरामा कुनै घर नै छैन,’ उहाँले भन्नुभयो । खबराको केरा बेनीमा खपत हुन्छ । दैनिक पाँचभारीका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएको प्रति १२ कोसा १०० रूपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।
बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष तीन लाख रूपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभएको खबर राससमा ध्रुवसागर शर्माले लेख्नुभएको छ ।