कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करिव १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो ।
आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७५० मिटर तटबन्ध भत्किएको छ । प्राप्त विवरणअनुसार नदीको दुवैतर्फ ६८.२५ किलोमिटर तटबन्ध रहेको छ । धनुषातर्फ ३३.६ किलोमिटर र सिराहातर्फ ३४.६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ । सिराहातर्फ ४०० मिटर र धनुषातर्फको ३५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक पटक माग भए पनि बजेट नआएको प्रमुख साहको भनाइ छ । बाँध निर्माण नहुँदा जीउधन र बालीनालीको व्यापक क्षति हुने गरेको उहाँले बताउनुभयो ।
उक्त भत्किएको तटबन्ध समयमा नबनेमा त्यहाँ सिँचाइमा अभाव बढ्नाका साथै ग्रामीण क्षेत्रमा नोक्सानी हुने धनुषा इनरवाका बासिन्दाको गुनासो पाइएको छ । सो आयोजनाबाट भएको क्षतिको सम्बन्धमा क्षति कम गर्न सुझावसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा पठाइएको छ । सुझावपत्रमा कमला नदीको उद्गमदेखि भारतीय सीमासम्म विभिन्न स्थानमा नदीमा निर्माण गरिएका पुलहरू पूर्व–पश्चिम राजमार्ग ६४० मिटर, हुलाकी सडक ४५० मिटर र बिहारको जयनगरमा निर्माण भएको ३०० मिटर ब्यारेज प्राविधिक रूपले निर्माण नभएकाले नदीको बहावमा अवरोध भई तटबन्ध भत्किएको र आसपासका ग्रामीण क्षेत्रमा क्षति भएको बताइएको छ ।
हाल सो आयोजनाद्वारा नदीमा पुललगायतका संरचना निर्माण भइरहेको छ । आव २०६५/०६६ मा भारतीय अनुदान तथा नेपाल सरकारको सहयोगमा कमला नदी नियन्त्रणका लागि उक्त तटबन्धका साथै पूर्वाधारको निर्माण भएको हो । कमला नदीको दुवैतिर धनुषा र सिराहा जिल्लामा २५ हजार विगाह जमिनमा सो नदीबाट सिँचाइ हुँदै आएको छ । धनुषामा १२ हजार ५०० विगाह र सिराहामा १२ हजार ५०० विगाह जमिनमा सिँचाइ हुँदै आएको सो आयोजनाबाट थाहा भएको छ ।