लोकसंवाद संवाददाता | दृष्टिकोण | असोज ०९, २०७६
विश्वभरका कवि र गीतकारहरूले हृदयबारे यतिका शब्द खर्चेक़ा छन्, जसको गणना गर्न असम्भव नभए पनि सजिलो भने छैन । यस्तो हुनुका पछाडि विज्ञानको विधार्थी भएका नाताले मलाई यस्तो अदृश्य भाव सम्प्रेषण कवि हृदयसम्म कुनै अज्ञात मार्गबाट आइपुगेको प्रतीत हुन्छ, जसको वास्तविक सम्बन्ध भने जीव विज्ञानको प्रयोगशालासँग रहेको छ ।
वैज्ञानिकले प्रयोगशालामा भ्यागुतामाथि एउटा प्रयोग गरेका थिए । प्रयोगमा उनीहरूले भ्यागुताको मस्तिष्क नष्ट गरेर सूक्ष्म अवलोकन गरे । आश्चर्यजनक रूपले अप्रत्याशित परिणाम प्राप्त भयो ।
भ्यागुताको मस्तिष्क पूर्ण रूपले मृत भए पनि 'रक्त मांशल पुष्ट मुटु' भने आरोह-अवरोहको स्वभावगत प्रक्रिया बेफिक्रीका साथ संचालन भइरहेको थियो । वैज्ञानिकले निष्कर्ष निकाले- 'मुटुका गतिविधि सम्पादित हुनलाई मस्तिष्कको अपरिहार्यता छैन ।'
हृदयको संकुचन स्वायत्त छ, हृदयलाई आरोह-अवरोहको सप्तम तालमा नृत्य गर्न कुनै संगीत मर्मज्ञ वा नृत्य निर्देशकको इशारा आवश्यक छैन । एक गीतकार भन्छन् नि, 'दिल तो पागल है', 'दिल तो बच्चा है, पागल, दिवाना है।' अब पागल, बच्चा, दिवाना र यस्तै आदि अन्य उपमा भएकालाई नियन्त्रणमा राख्नु सम्भव हुन्छ के ? कवि, गीतकारले हृदयको यसै स्वायत्तपनको मर्म बुझी आफ्ना विभिन्न अभिव्यक्तिले यसको गुणगान गर्ने निरन्तरता कायम राख्दै आएका छन् ।
पक्कै पनि कवि, गीतकारलाई शरीरको यस अंग विशेषबारेको वैज्ञानिक तथ्य थाहा छैन कि हृदयको आफनै तन्त्र एवं प्रणाली हुन्छ, जसले आफ्ना समस्त क्रियाकलाप मस्तिष्कको सहयोग नभए पनि सुचारु राख्न सक्छ । आधुनिक विज्ञानभन्दा लौकिक विज्ञानको उदय धेरै पहिला भएको हो । यसै लौकिक विज्ञानको प्रकाशमा कवि, गीतकारले हृदयको महिमा युगौँदेखि गाउँदै आएका छन् ।
सत्य के हो भने मुटुको धुकधुकी मुटुभित्रै जन्मिन्छ । एउटा तरंगको भाँती, लहरका भाँती मुटुको ऐउटा कुनामा उत्पत्ति हुन्छ र सम्पूर्ण मुटुमा विशिष्ट क्रमले फैलिन्छ । विशिष्ट क्रमले फैलिनुको अर्थ मुटुका बेग्लाबेग्लै भागमा रगत एकत्रित होस् र जम्मा भएको रगतलाई शरीरका विभिन्न अंगको आवश्यकतापूर्ति हेतु आपूर्ति गर्ने सहजता कायम होस्।
आधुनिक विज्ञान भन्छ- 'मस्तिष्क नभए पनि मुटुको धुकधुकी, आरोह-अवरोह निर्बाध संचालित भइरहन सक्छन् । तर, यसका लागि एउटा परिस्थति भने रहिरहनुपर्छ, त्यो हो निरन्तर आक्सिजनको आपूर्ति ।' अक्सिजन नै यसको आहारा हो, अक्सिजनको अभावमा यसका मांसपेशी र धुकधुकी उत्पन्न गर्ने तन्त्र बाँच्न सक्दैनन् ।
तर, तपाईं हामीले पढ्दै आएका छौँ- मस्तिष्कको अनुपस्थितिमा शरीरका कुनै अंग सञ्चालन हुन सक्दैनन् । अब यस ज्ञान वा जानकारीबाट बुझ्नुहोस् कि मानिसको शरीर संरचना अत्यन्त जटिल प्रक्रिया हो, एक पक्षको अध्ययनले यसको रहस्यधर्मिता उजागर हुँदैन ।
चिकित्सकीय भाषामा यस व्यक्तिको 'ब्रेन डेड' भइसक्यो । ब्रेन डेड अर्थात् व्यक्ति अब छैन, अब चाहे यसको मुटु वर्षौं स्पन्दन गरिरहोस्, बाह्य उपकरणले यसको श्वासप्रश्वास चलिरहोस् । मुटु चल्नु, श्वास चल्नु, रगत संचालित हुनु आदिको अब यसका लागि कुनै अर्थ छैन किनकि अब यो कहिल्यै चैतन्य हुँदैन । यसले कुनै अनुभूति गर्दैन । न सुख, न दु:ख, न त यसले कहिल्यै केही सोच्छ, न विचार गर्न सक्छ ।
यो बुझ्न समस्त शारीरिक कार्यप्रणाली बुझ्नुपर्छ । अब तपाईंलाई जिज्ञासा भयो होला, त्यसो भए मस्तिष्कले हृदय संचालनमा कस्तो भूमिका राख्छ ? हृदय संचालनमा मस्तिष्कको भूमिका छ कि छैन ?? हृदयमाथि मस्तिष्कको नियन्त्रण हुन्छ कि हुन्न ???
यसमा संशय लिनुपर्दैन । यो सर्वविदित र सर्वस्वीकृत तथ्य हो- शरीरको एकमेव नियन्ता मस्तिष्क नै हो । शरीरका सबै अंगसम्म यसको पहुँच र प्रभावकारिता रहेको विज्ञानसम्मत प्रामाणिक तथ्य हो । तर, हृदय र मस्तिष्कको अन्तर्सम्बन्धबारे तपाईंले बुझ्नुपर्छ । हृदयमाथि मस्तिष्कको नियन्त्रण छैन भन्ने होइन । मस्तिष्कले तन्त्रिकातन्त्रका माध्यमले हृदयमाथि पनि नियन्त्रण राख्छ । मस्तिष्कले हृदयको धुकधुकी घटाउन-बढाउन सक्छ, धुकधुकीमाथि नियन्त्रण राख्छ तर हृदयमा धुकधुकी उत्पन्न हुनुमा मस्तिष्कको कुनै भूमिका हुँदैन । मस्तिष्क हुनु र नहुनुमा हृदयको धुकधुकीले खुसी अथवा दु:ख मनाउ गर्दैन ।
एक जना कोही मानिस अस्पतालमा उपचारार्थ भर्ना छ। उसको रगतमा करोडौँ रसायन छन् । रगतमा भएका केही रसायनको मात्रामा तल-माथि हुन गयो । परिणाम स्वरूप हृदयको धुकधुकी रोकियो । फलस्वरूप उसको मुटुले अन्य अंगलाई गर्दै आएको रगतको वितरण हुने कार्य पनि रोकियो ।
मस्तिष्कलाई पनि रगत आपूर्ति हुन सकेन । रगतबाट प्राप्त हुने आक्सिजन नपाएर मस्तिष्कका विभिन्न भाग मृत्युन्मुखी भए । केही भाग तत्काल मृत्युवरण गरी शान्त भए र केही भाग सुस्तरी मृत्युगामी भई अन्ततः सम्पूर्ण रूपमा मस्तिष्कले सदाका लागि परंशान्तिको अवस्थामा आफूलाइ विलीन गर्यो ।
डाक्टरले भने बिरामीसँग गर्ने आफ्ना प्रयास जारी नै राखिरहे । मुटु थपथपाए, केही इन्जेक्सन लगाए र अन्य जानेका उपलब्ध सबै उपाय प्रयोग गर्दै भने- 'दिल पुकारे आ रे आ रे ....।' बिरामीको हृदयले डाक्टरको पुकारमा पुनः आरोह-अवरोह प्रारम्भ गर्यो, मुटुको जीवन फर्कियो तर मस्तिष्क त परंशान्तिमा गइसक्यो । के मस्तिष्कका मृत भइसकेका कोशिका पुनः ब्युँतिन सक्छन् ? जवाफ बडो निर्दयी छ- 'नो, नेभर, इट्स जर्नी ह्याभ बिन कम्प्लिटेड, नो मोर होप ।' अर्थात् अहँ, कहिल्यै सक्दैनन्, यसकाे यात्रा पूरा भएसक्यो, अब आश छैन ।
अब यस बिरामीको मुटु स्पन्दित भइरहेको छ । श्वासप्रश्वास 'भेन्टिलेटर'का मध्यमले चलिरहेको छ । शरीर तातो र रातो नै छ किनकि रगतको आपूर्ति सुचारु भएको छ तर मस्तिष्क भने जिउँदो छैन, यो सधैँका लागि निदाइसक्यो । चिकित्सकीय भाषामा यस व्यक्तिको 'ब्रेन डेड' भइसक्यो । ब्रेन डेड' अर्थात् व्यक्ति अब छैन । अब चाहे यसको मुटु वर्षौं स्पन्दन गरिरहोस्, बाह्य उपकरणले यसको श्वासप्रश्वास चलिरहोस् । मुटु चल्नु, श्वास चल्नु, रगत संचालित हुनु आदिको अब कुनै अर्थ छैन किनकि अब यो कहिल्यै चैतन्य हुँदैन । यसले कुनै अनुभूति गर्दैन । न सुख, न दु:ख, न त यसले कहिल्यै केही सोच्छ, न विचार गर्न नै सक्छ ।
एउटा वैज्ञानिक उपकरणले यसको श्वास चलाइरहेको छ, जसले यसको मुटुलाई अक्सिजन अहारा उपलब्ध भएर यसको 'जैविक पम्पिङ' गर्ने कार्य भइरहेको छ । यी सबै कार्य उपकरणका माध्यमले भइरहेका छन्, चिकित्सकीय दृष्टिमा यस व्यक्तिको मृत्यु भइसक्यो।
तर, घर परिवारका समान्यजनले कसरी विश्वास गरून् कि बिरामीको शरीर अझै तातो छ, रातो छ, श्वास चलिरहेको छ भने मरिसकेको कसरी विश्वास गरून् ? उसको १५ वर्षीय छोरो भन्छ- 'बाबा अझै श्वास फेर्दै हुनुहुन्छ, मुटु धुकधुक गरिरहेको छ, ल छातीमा कान लगाएर सुन्नुस् त !'
आफन्तजनले डाक्टरसँग सोध्छन्- 'के हाम्रो बिरामी कोमाबाट बाहिर आउन सक्दैन ?'
'हतार नगर्नुस् । भेन्टिलेटर नझिक्नुस्, कस्ताकस्ता केसमा त मानिस बाँचेका छन् । तपाईंहरू प्रयास गर्न नछाड्नुस्', डाक्टर भन्छ ।
डाक्टर के गरोस् ? उसलाई थाहा छ, बिरामी कोमामा होइन, उसको 'ब्रेन डेथ' भइसक्यो । ब्रेन डेथ र कोमा बेग्लाबेग्लै स्थिति हुन् र ?
डाक्टरका लागि यी दुई स्थिति मात्रै होइनन्, उसका लागि 'पर्सिसटेन्ट भेजिटेटिभ स्टेट' र 'लक्ड इन सिन्ड्रोम' अवस्था पनि छन् ।
डाक्टर बिरामीका आफन्तजनलाई बुझाउने प्रयास गर्छ- 'बिरामी कोमामा होइन, उसको 'ब्रेन डेथ' भइसक्यो ।' वैज्ञानिक उपकरण र औषधिले संचालन भइरहेको बिरामीको शरीर अब स्वयं पनि एक यन्त्रभन्दा बढी छैन । हो, यो हृदयकै कारसतानी हो, पागलपन हो, दिवानापन हो, जिद्दीपन हो, बालसुलभ हठ हो, जुन उसले वस्तुस्थितिलाई स्वीकार नगरी आफ्नो ढिपी जारी राखेको छ ।