नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवर्द्धनात्मक गतिविधि प्रभावकारी रूपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा सुरु गरेको छ ।
पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक मिलन नेपालले बताउनुभयो ।
मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा लिइएको पर्यटन क्षेत्रमा भावी विकासलाई मध्यनजर गर्दै लगानी बढाइएको उल्लेख गर्दै उहाँले यसले पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय याममा ठूलो सङ्ख्यामा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै चार्टड सेवा ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।
टोयटा ब्राण्डको यो गाडी आरामदायी र वातावरणमैत्री छ । १७ सिट क्षमताको यो गाडीमा यात्रुको सुरक्षालाई विशेष महत्त्व दिइएको छ । आरामदायी सानो गाडीको जस्तै सुविधा रहेका यी गाडीको ढोका खुला भएमा चालकले एक्सिलेटर पनि दबाउन सक्दैन । वीरगञ्ज, जनकपुरलगायत गन्तव्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
अहिले प्रायः सबै पर्यटक बस बिहान ७ः०० बजे बसपार्कबाट छुट्छन् तर कम्पनीले बिहानको खाजा खाएर मात्र ९ बजेदेखि सेवा सुरु हुने जनाएको छ ।