चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर : सभामुख महरा

चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर : सभामुख महरा

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज ११, २०७६

सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिस्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गर्नुभएको छ ।

कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरूको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो । 

भेटका अवसरमा सभामुख महराले भौगोलिक रूपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा सांस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताउनुभयो । नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ नियमित र सुदृढ गर्न छेन्दूमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको बताउनुभयो ।

निकट भविष्यमै चीनका राष्ट्रपति सी चिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै सभामुख महराले सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिनुभयो । उहाँले जनवादी गणतन्त्र चीनको ७० औं वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको सम्बन्ध झनै मजबुत र बलियो बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

बेल्ड एण्ड रोड परियोजनासम्बन्धी सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको जनाउँदै सभामुख महराले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार बनाउन पनि सबैसँग सहकार्य गर्दै अघि बढाउने बताउनु भयो ।

सिचुवान प्रान्तको भूकम्प प्रभावित क्षेत्र र त्यहाँको पुनर्निर्माणको आफूले अवलोकन गरेको बताउँदै सभामुख महराले नेपालको भूकम्पका बेला चीनले उद्धार एवं राहतका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो ।

सो अवसरमा सीपीसीका सिचुवान प्रान्त सेक्रेटरी पेङले चीन–नेपालबीचको सम्बन्ध सयौँ वर्ष पुरानो रहेको बताउँदै दुई देशका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीच विशिष्ट सम्बन्ध रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

चीनका राष्ट्रपति सिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन् उचाइमा जाने विश्वास गर्दै पेङले चीनको तिब्बतबाट सुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने बताउनुभयो ।

चीनले नेपालको औद्योगिक विकास एवं क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउँदै पेङले शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य सेवामूलक क्षेत्रमा विशेष ध्यान दिने पनि बताउनुभयो । उहाँले दक्षिणी सिल्क रोडको सुरुवाती विन्दुु सिचुवान रहने र बीआरआईले सिचुवान र नेपाललाई नजिकबाट जोड्ने बताउनुभयो ।

सिचुवान र नेपालले उस्तै खालको प्राकृतिक विपदको सामना गर्नुपरेको चर्चा गर्दै उहाँले नेपालमा भूकम्प जाँदा उद्धार र राहतका लागि पहिलो विदेशी टोली पठाउने चीन रहेको बताउनुभयो । उहाँले विपद र अप्ठ्यारो परिस्थितिमा चीन सधैं असल छिमेकीको भूमिकामा रहने बताउनुभयो ।

बेइजिङमा सीपीपीसीसीका उपाध्यक्ष लिउसँग भेट

यसैबीच सभामुख कृष्णबहादुर महराले बेइजिङमा बिहीबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गर्नुभएको थियो । 

कजाखस्तानबाट नेपाल फर्किने क्रममा ट्रान्जिट परेकाले सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले बेइजिङमा भेटघाटको समय निकालेका थियो । 

भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको संसद र चिनियाँ सीपीपीसीसीबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

भेटवार्तामा प्रतिनिधि मण्डलका सदस्यहरु सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी तथा बेइजिङस्थित चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पनि सहभागी रहनुभएको थियो ।

सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डल भोलि शनिबार काठमाडौं फर्किनेछ ।