सभामुख महरालाई पदबाट राजीनामा दिन नेकपाको सुझाव, आजै राजीनामा दिन सक्ने

सभामुख महरालाई पदबाट राजीनामा दिन नेकपाको सुझाव, आजै राजीनामा दिन सक्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज १४, २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन नेकपा सचिवालय बैठकले सुझाव दिएको छ । संसदकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न सुझाव दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महरालाई लागेको आरोप र घटनाको सत्यतथ्य पत्ता लगाउने विषयमा छलफल भएको एक सचिवालय सदस्यले बताएका छन् । नेकपा सचिवालयको निर्णयका आधारमा सभामुख महराले आजै बेलुकीसम्म राजीनामा दिने स्रोतले बताएको छ ।

सरकारले पनि घटनाको छानबिनका लागि समिति बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले आन्तरिक रूपमा नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।

संसद सचिवालयमा काजमा काम गर्ने एक कर्मचारीले सोमबार विभिन्न सञ्चार माध्यममार्फत सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नै निवासमा आइतबार राती आएर महराले बलात्कार गरेको दाबी गरेकी छन् ।

महराको सचिवालयले भने आरोपको खण्डन गरेको छ । सचिवालयका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सभामुखलाई फसाउनका लागि कसैको प्रयोग गरिएको दाबी गरिएको छ ।