लोकसंवाद संवाददाता | समाचार | असोज १४, २०७६
सोलुखुम्बू । सोलुखुम्बूको साविक दूधकौशिका हाल थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले नियम र कानुनको मिचेर गरेका अनियमितता र बदमासीका शृंखलाहरू निरन्तर खुल्दै जाँदा हाम्रा स्थानीय सरकारहरू कसरी सञ्चालन भइरहेका छन् ? भन्ने कुराको सक्कली रूप देखिन थालेको छ । व्यक्तिको जग्गामा झन्डै २ करोड रुपैयाँमा खर्चिएर गाउँपालिका भवन बनाउनेदेखि विना बाेलपत्र राज्य कोषबाट एक करोड १० लाख रुपैयाँ खर्चिएर गाडी खरिद गरेको पाइएको छ ।
अध्यक्ष राईले व्यक्तिको जग्गामा झन्डै २ करोड रुपैयाँ खर्चिएर गाउँपालिका भवन बनाएको विषयमा लोकसंवाद डट कमले ‘व्यक्तिको जग्गामा करिब २ करोड लागतको गाउँपालिका भवन !’ भनेर यसअघि नै खुलासा गरिसकेको छ, जुन कुरा राई स्वयंले वकिल राखेर घरायसी कागज गरी निर्माण गरेको स्वीकार गरेका छन् । उनले गाडी खरिदमा पनि विना टेन्डर खरिद गरेको पाइएको छ ।
अध्यक्ष राईले राज्य कोषको एक करोड १० लाख रुपैयाँ खर्चिएर कार्यालय प्रयोजनका लागि एक वर्षअघि फोर्ड कम्पनीको रेन्जर गाडी खरिद गरेका छन् । काठमाडौँको नक्सालमा रहेको फोर्डको डिलरबाट राईले उक्त गाडी खरिद गरेका हुन् । लोकासंवादसँग कुराकानी गर्दै अध्यक्ष राईले ७८ लाख रुपैयाँमा गाडी खरिद गरेको बताउँदै अरू गाउँपालिका अध्यक्षहरूभन्दा ११ लाख रुपैयाँ कममा खरिद गरेको दाबी गरेका छन् । कम्पनीबाट खरिद गरेपछि पनि राईले लाखौँ खर्चिएर उक्त गाडीको सजावट परिवर्तन गर्न लगाएका छन् । गाउँपालिका महासङ्घ प्रदेश १ को कोषाध्यक्षसमेत रहेका राईले खरिद गरेको गाडी गाउँपालिकाका नाममा आइपुग्दासम्म एक करोड १० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । गाडीको साजसज्जका लागि मात्रै झन्डै ४० लाख रुपैयाँ खर्च गरिएको छ ।
यसरी गाडी खरिद गर्दा सामान्य बोलपत्रसमेत आह्वान नगरी राईले उक्त गाडी खरिद गरेको पाइएको छ । लोकसंवाद डटकमलाई प्राप्त सूचनाअनुसार उक्त गाडी खरिद गर्दा राईले बोलपत्र आह्वानविनै गाडी खरिद गरेको पाइएको हो । गाडी मात्र होइन, गाउँपालिकाका लागि झन्डै एक दर्जन मोटरसाइकल खरिद गरिएको र ती मोटरसाइकल खरिद गर्दा पनि बोलपत्र आह्वानविनै खरिद गरिएको छ ।
सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बोलपत्र आह्वानविनै गाडी खरिद गर्नुभएको रहेछ नि ? भन्ने प्रश्नमा राई भने, ‘सबै प्रक्रिया पुर्याइएको छ ।’ कहिले र कुन पत्रिकामा ? भनी राखिएको जिज्ञासामा त्यो आफूलाई सबै जानकारी नभएको भन्दै कार्यकारी अधिकृत अविलाल राईलाई सोध्न भनी नाम र नम्बर दिए । कार्यकारी अधिकृत राईले बोलपत्र गरिएको र उक्त बोलपत्र ‘त्रियुगा राष्ट्रिय दैनिक’मा प्रकाशन भएको जानकारी दिनुभयो । उक्त पत्रिका कुन मितिमा प्रकाशन भएको ? भनी जानकारी दिन आग्रह गर्दा भने अफिसमा फेला नपरेको जानकारी दिए । कार्यकारी अधिकृत राईले भनेजस्तो ‘त्रियुगा राष्ट्रिय दैनिक’ भन्ने पत्रिका दर्ता सूचीमा नै नरहेको सूचना तथा प्रसारण विभागको अभिलेख देखिन्छ । अर्थात् त्यो नामको दैनिक पत्रिका नै रहेकाे छैन ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ५ लाख रुपैयाँभन्दा माथिका सामग्री खरिद गर्दा अनिवार्य रूपमा बोलपत्र आह्वनन गर्नुपर्छ । राईले भने सवा करोड रुपैयाँको गाडी खरिद गर्दासमेत सरकारी ऐन, कानुनलाई रद्दीको टोकरीमा फालिदिएको स्थानीयको आक्रोश छ । राईले सार्वजनिक खरिद ऐन मात्र होइन, मन्त्रालयले गरेको परिपत्रलाई समेत उल्लङ्घन गरेका छन् । २०७४ सालमा स्थानीय निकायको निर्वाचन भएलगत्तै तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, हाल उनलाई सरकारले प्रमुख निर्वाचन आयुक्त बनाएको छ,ले ‘खर्चमा मीतव्ययिता अपनाउन’ भन्दै ३० लाख रुपैयाँमाथिका सवारी साधन खरिद नगर्न स्थानीय निकायलाई परिपत्र गरेका थिए ।
मन्त्रालयले गरेको परिपत्रअनुसार सोलुखुम्बू जिल्लाका अन्य स्थानीय निकायका मेयर/अध्यक्षलगायतले ३० लाख रुपैयाँ हाराहारीकै स्कर्पियो गाडी चढेका बताइन्छ । सोलुखुम्बू जिल्लामा राई मात्र यस्ता अपवाद अध्यक्ष हुन्, जसले करोड रुपैयाँमाथिको गाडी चढिरहेका छन् ।
त्यसैगरी गाउँपालिकामा अस्पताल निर्माण गर्ने भनेर लगाइएको पुराणको रकमसमेत राईले अनियमितता गरेको आरोप लाग्ने गरेको छ । थुलुङ दूधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा भेन्टिलेटरसहित ५० शय्याको अत्याधुनिक अस्पताल बनाउने भनेर २०७५ चैत ३ देखि ९ गतेसम्म सप्ताह पुराण लगाइएको थियो । उक्त पुराण सरकारी कोष खर्च गरेर लगाइएको थियो । पुराणमा नगद र चेक गरी एक करोड ७७ लाख ४२ हजार ६५८ रुपैयाँ सङ्कलन भएको विवरण गाउँपालिकाले सार्वजनिक गरेको थियो । त्यसमध्ये ९३ लाख २५ हजार १२५ रुपैयाँ पुराण अवधिभित्रै खर्च गरिएको विवरण दिइएको छ ।
पुरानबाट रकम संकलन भएकाे गाउँपालिकाले उपलब्ध गराएकाे विवरण
दाताहरूले अस्पताल बनोस भन्ने शुभेच्छाले दिएको रकमको बहुमत हिस्सा साता दिनकै अवधिमा खर्च गरी सकेकाले अस्पताल निर्माण कार्य खासै अगाडि बढाइएको छैन । कतिसम्म भने यातायातमा मात्र १७ लाख रूपैयाँ खर्च भएको छ । पण्डितका लागि १७ लाख ९२ हजार खर्च गरेको विवरण सार्वजनिक गरेको पाइएको छ । यस हिसाबलाई पत्याउने हो भने पण्डितलाई मात्र दैनिक २ लाख ५६ हजार पारिश्रमिक दिएको देखिन्छ । यसबाहेक यज्ञयज्ञादी, ब्रह्माण्ड, बटुकहरूका नाममा ८३ हजार खर्च गरिएको छ । खर्चको यो विवरण पत्याई नसक्नु छ ।
पुराण लगाउने क्रममा भएकाे खर्च गाउँपालिकाले उपलब्ध गराएकाे विवरण
पुराणमा कुल उठेको रकमको आधाभन्दा बढी खर्च गर्नुभएको रहेछ त ? भन्दा राईले पुराणको सन्दर्भमा आफ्नो व्यक्तिगत रूपमा आठ लाख रुपैयाँ खर्च भएको समेत जानकारी दिए । राई भन्छन्, 'राईहरूको गाउँमा पुराण, त्यसमा पनि उपप्रधानमन्त्री र मुख्यमन्त्री लिएर गर्नु चानचुने होइन । यसलाई सकारात्मक रूपमा हेरिनुपर्छ ।' स्मरण रहोस्, उक्त गाउँपालिकाले आयोजना गरेको पुराणमा वर्तमान सरकारका उपप्रधनमन्त्री ईश्वर पोखरेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेत गएका थिए ।
पुराणमा वितरण गरिएकाे निमन्त्रणापत्र
सरकारी लोगो र खर्च प्रयोग गरी गत चैतमै पुराण लगाइएको भए पनि अहिलेसम्म भवन बनाउने सुरसार गरिएको छैन । त्यसमाथि अस्पताल भवन बनाउन भनेर स्थानीय गोरे राई नामक ‘दाता’बाट लिइएको जग्गामा अस्पताल बन्ने सम्भावना नै नरहेको स्थानीय बताउँछन् किनभने राईले दान दिएको जग्गाको ५०० मिटर नजिक लिखु खोलाको थामी नसक्नु पहिरो आई पुरिसकेको अवस्था छ ।