कृष्ण धरावासी | दृष्टिकोण | असोज १५, २०७६
दशैँबारे मेरो खासै रमाइला अनुभवहरू छैनन् । दशैँ हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । यो धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो दशैँ । सामान्यतया यसलाई हिन्दु धर्मसँग जोडेर व्याख्या गरिन्छ । नेपालको पनि पहाडिया समुदायबाहिर दशैँ हिन्दुहरूको मात्र भनेर पनि मानिन्छ तर हिन्दुहरूको हुँदा यो नौरथापछि दशमीको दिन पूजा सकिएको उपलक्ष्यमा टीका र दक्षिणा दिएर सकिने हो । भन्दै ‘दशहरा’ भनिन्छ ।
नवदुर्गाको नौ दिनसम्म पूजा गरी दशमीको दिन समापन गरेपछि हिन्दुहरूको दशैँ सकिन्छ तर हामी पहाडिया नेपालीहरूको भने नौ दिनसम्म पूजा गरे पनि नगरे पनि दशमीदेखि पूर्णिमासम्म दशैँ सुरु हुन्छ । सरकारले पनि यही पाँच दिन राष्ट्रिय पर्वका रूपमा बिदा दिने गरेको छ ।
संसारमा पहाडिया नेपालीहरूले मात्रै दशैँमा पाँच दिनसम्म निधारमा अक्षताको टीका लगाउने चलन छ । यथार्थमा हिन्दुले अक्षता चलाउँदैनन् । उनीहरूले तिलक चलाउने हुन् । अक्षता हिन्दुहरूका लागि जुठो मानिन्छ ।
अक्षतासँग पहाडिया नेपालीहरूको फरक सम्बन्ध छ । पहाडिया आदिवासी, जनजातिहरूको संस्कृतिसँग मिलेर बस्नुपर्दा पहाडिया हिन्दुहरूले आफूमा धेरै परिवर्तन र संशोधन गर्दै आउँदा आज नेपाली संस्कृति नै एकदम नै फरक परेर गएको छ । सबै जातजाति र भाषाभाषीको साझा पर्वको रूपमा विकसित भइसकेको यस चाडलाई हिन्दु मात्रको महान् चाड भन्ने गरेको सुन्दा मलाई जहिले पनि असुहाउँदो लाग्छ ।
हिन्दु धर्ममा दशमीपछि लगातार पाँच दिनसम्म निधारमा टीको लगाएर घरघर घुम्ने कुरा थियो भने संसारको सबैभन्दा धेरै र कट्टर हिन्दुहरू भएको देश भारतमा किन लगाइँदैन ? नेपालका अधिकांश पण्डितहरू भारतको बनारसबाट उत्पादितहरू नै हुन् । उनीहरूले भारतकै तरिकाले मात्र दशैँ मान्न मिल्छ किन भन्न सक्दैनन् ।
धेरै संस्कृतिहरू राजनीतिले निर्धारण गर्दै आएका हुन्छन् । जति पनि धर्मशास्त्र मानिएका ग्रन्थहरू छन्, ती सबै राजा महाराजाका कथाहरूले भरिएका हुन्छन् र उनीहरूले भनेका कुराहरू नै कैयौँ अध्यात्मिक कानुन बन्छन् । आज पनि कति कुरा राजनीतिले निर्धारण गरिरहेको छ । परम्परादेखि मानी आएका कति पर्वहरू गौण हुँदै गएका छन् र कति नयाँहरू मुखरित भइरहेका छन् ।
हरेक पर्वहरू सांस्कृतिक हुन्छन् । तिनलाई धर्मले पनि छोप्ने गरिन्छ तर नेपालमा दशैँ र तिहारलाई हिन्दु धर्मले छोप्न सकेको छैन । किनकि यी पर्वहरू एउटा विशेष जाति र संस्कृतिले मात्र विकास गरेर ल्याएको होइन । मलाई अचम्म लाग्ने कुराचाहिँ के हो भने दशैँलाई शत प्रतिशत आफ्नो मान्ने र शत प्रतिशत आफ्नो नमान्नेहरूको माझ मच्चिएको बहसका बीचमा यी पर्वहरूको ऐतिहासिक र सांस्कृतिक अन्तर्घुलनका बारेमा छुट्टै अध्ययन गर्ने काममा किन कोही अग्रसर देखिँदैन ?
राजनीतिक बहस र विश्लेषणमा वर्षौं दिमाग घोट्न जाँगर चलाउनेहरू सांस्कृतिक अध्ययनमा किन अल्छी गर्छन् ? अब हाम्रो देशमा राजनीति मुद्दा होइन । अबको मुद्दा भनेको सांस्कृतिक भाषिक र आञ्चलिक हो । केके कुरा फरक छन्, केके कुरा समान छन् र ती किन छन् ? ती फरक र समानहरूका बीच के कस्तो समन्वयको आवश्यकता छ भन्ने विषयमा काम किन थालनी हुँदैन ? हामीले सयौँ वर्षदेखि मान्दै आएको दशैँको यथार्थ पृष्ठभूमि के हो ? पुराणले भनेकै आधार अन्तिम हो कि यसको सुरुवातमा बेग्लै सन्दर्भहरू छन् ?
वास्तवमा नेपालमा दशैँको शुरुवात भएको चाहिं कहिलेदेखि हो ? के केही जातिबादी राजनीतिक दल र ती दलसँग सम्बद्ध विद्वानहरूले भनेझैँ यहाँका आदिवासी जनजातिहरूलाई दमन गरेर आफ्नो सत्ता कायम गरेको उपलक्ष्यमै दशैँको सुरुवात भएको हो त ? रातो रङको टीका पनि उनीहरूलाई हराएकै उपलक्ष्यमा हो ? होइन भने देशका विश्वविद्यालयहरू यस्ता सांस्कृतिक अध्ययनमा किन लागेका छैनन् ? छन् भने अहिलेसम्म केके कुरा पत्ता लाग्यो र ती कुरा जनतासम्म कहिले आइपुगे वा आइपुग्छन् ?
पहिलो कुरा त मलाई दशैँबारेका यस्ता अपरिपक्व सन्दर्भहरूदेखि नै वाक्क लाग्छ । कुनै पनि पर्व मनाउँदा भित्र मनैदेखि मनाउन पाइयोस् न ! एउटै समुदायभित्र कोही यसको विशेषतामाथि नै प्रश्न गरिरहेको हुन्छ, कोही यसको पौराणिक, ऐतिहासिक विशेषताहरूको पुष्टि गर्नु आवश्यक नै ठान्दैन । हिन्दुसँग जोड्छ तर नेपालको पहाडेबाहेक अरू हिन्दुहरू यसलाई किन पछ्याउँदैनन् ? नेपालकै मधेसीहरू हिन्दु भएर पनि किन पछ्याउँदैनन् ? हामीले यसलाई साझा र मौलिक चाडका रूपमा अझ पनि स्थापित गर्ने अभ्यासमा किन प्रवेश नगरेको ?
देशमा नयाँ संविधान लागू भएयता इसाईहरूको प्रवेश अत्यन्तै बाक्लिँदै गएको छ र धेरैजसो जनजाति, आदिवासी र दलितहरूले हिन्दु धर्म परित्याग गरिरहेका छन् भन्ने ठूलो पिरोलो पनि सुनिन्छ । त्यस्तो हुनु कानुनले सजिलो पारेर मात्र हो कि हिन्दु हौँ भन्नेहरूले आफ्ना कमी कमजोरीमा संशोधन गर्न नसकेर हो ? हामीसँग रहेका कट्टरताहरू, जसले सँगैको साथी, छिमेकी र शुभचिन्तकलाई पनि विभेद गर्छ । यो दशैँमा दुर्गाको मन्दिरमा बलि दिन चाहने कुनै दलितले आफ्नो बोको लैजान पाउँछ कि पाउँदैन ? कुनै जनजाति मन्दिरको पुजारी हुन सक्छ ? मन्दिर र त्यहाँ स्थापना गरेको देवता कुनै खास जाति र समुदायको मात्र हुन्छ ?
सबैभन्दा जरुरी कुरा छ सांस्कृतिक अनुसन्धानको । सुनेका भरमा, अनुमानका भरमा, किंवदन्तीका भरमा र हरेक कुरालाई अरे परम्परामा टुंग्याएर आरामले बस्ने र कसैले जिज्ञासा राख्यो वा प्रश्न उठायो भने त्यसैमाथि जाई लाग्ने प्रवृत्ति हाम्रो सांस्कृतिक भविष्यका लागि खतरनाक छ । विगत पुस्ताले बुझेरै केही गरेका थिए भने पनि वर्तमान पुस्ता बिरालो बाँध्ने संस्कृतिमा फर्किएको छ । हाम्रा कैयौँ कट्टरताहरू अज्ञानताबाट आएका छन् । तिनले हामीलाई कतै पनि पुग्ने बाटो देखाउँदैनन् ।
चाडपर्व त फेरि पनि मानौँला तर ती किन मान्ने र कसरी मान्ने भन्ने कुराको सहज आधारको उत्खनन् हुनुपर्छ । हिन्दुका अनुसार नौरथाभरि नवदुर्गाको पूजा र चण्डी पाठ त ठीकै रहेछ । त्यसपछिको सप्ताहव्यापी निधारको टीकोचाहिँ के हो र किन हो ? आज हामी फरक समय र परिस्थितिमा आइपुगेका छौँ । सधैँ दैलोमा टीको लगाएर मात्र निधारमा टीको लाग्थ्यो । दैलोको टीको राजालाई भनिन्थ्यो । अबको त्यो टीको कसलाई हो ?
स्पष्ट छ– धेरै संस्कृतिहरू राजनीतिले निर्धारण गर्दै आएका हुन्छन् । जति पनि धर्मशास्त्र मानिएका ग्रन्थहरू छन्, ती सबै राजा महाराजाका कथाहरूले भरिएका हुन्छन् र उनीहरूले भनेका कुराहरू नै कैयौँ अध्यात्मिक कानुन बन्छन् । आज पनि कति कुरा राजनीतिले निर्धारण गरिरहेको छ । परम्परादेखि मानी आएका कति पर्वहरू गौण हुँदै गएका छन् र कति नयाँहरू मुखरित भइरहेका छन् । सरकारले कति धार्मिक पर्व बिदाहरूलाई कटौती गर्दै गएको छ । त्यसको अर्थ हुन्छ– अब विस्तारै ती पर्वहरू लोप हुँदै जानेछन् ।
अधिकांश कुराको निर्धारण सरकारीतर्फबाटै हुने हो । हामीले इतिहास पढ्यौँ भने कर्मकाण्डहरूको निर्धारणसमेत राजाहरूको उर्दीसँग जोडिएका छन् । जस्तो कि हिजोआज मानिस मरेपछि क्षेत्रीबाहुनहरूले गर्ने तेह्र दिने किरिया विधिलाई गरुड पुराणमा जे लेखिएको भए पनि जुद्धशमशेरको पालादेखि तेह्र महिनालाई घटाएर तेह्र दिन बनाएको कुरा इतिहासमा उल्लेखित छ । सयौँ वर्षदेखि चलिआएको सतीप्रथा चन्द्रशमशेरको एक उर्दीले उन्मूलन नै भयो । धार्मिक ग्रन्थले निर्धारण गर्ने भए एउटा शासकले घोषणा गर्दैमा त्यो हट्नुपर्ने कुरा हो र !
पारिवारिक भेटघाट र मनका गुनासाहरू पखाल्ने बेला पनि हो । अग्रजहरूको आशीर्वादले टाउको झुकाउने बेला पनि हो । केही नभए पनि वर्षमा एकपल्ट परिवारलाई तानेर एक ठाउँमा ल्याउने दिन हो । आपसमा बोलचाल नभएका आफन्तहरूको बोली पनि त्यसैबेला फुट्छ । एकअर्कासँगका गुनासोहरू मेट्ने पनि यही बेला हो तर यसलाई सैद्धान्तीकीकरण गर्नु पनि आवश्यक छ ।
दशैँ हाम्रो सबैभन्दा रमाइलो र महत्त्वपूर्ण चाड हो । पारिवारिक भेटघाट र मनका गुनासाहरू पखाल्ने बेला पनि हो । अग्रजहरूको आशीर्वादले टाउको झुकाउने बेला पनि हो । केही नभए पनि वर्षमा एकपल्ट परिवारलाई तानेर एक ठाउँमा ल्याउने दिन हो । आपसमा बोलचाल नभएका आफन्तहरूको बोली पनि त्यसैबेला फुट्छ । एकअर्कासँगका गुनासोहरू मेट्ने पनि यही बेला हो तर यसलाई सैद्धान्तीकीकरण गर्नु पनि आवश्यक छ । आउँदो पुस्ता तर्कशील छ । उसले हरेक कुराको कारण खोज्छ । उसलाई कारणहरूले सम्झाउन सकिएन भने विस्तारै बिर्संदै जानेछ ।
स्पष्ट छ– यो पहाडेमूलका नेपाली जातिहरूको महान् चाड हो । यसको अन्तर्यमा हिन्दु धर्म जोडिएको भए पनि अब यो धर्मको आडले मात्र दह्रो छैन । आज देश विदेशमा यो चाड मान्नेहरू फरक प्रकारले बढिरहेका छन् । हामी हरेक दशैँमा देखिरहेछौँ तराईतिर मुसलमानहरूले पनि र पहाडतिर इसाईहरूले पनि यसलाई मान्ने गरेका छन् । धर्म भनेको पुरानो राज्य चलाउने कानुन नै हो । धार्मिक किताबका आधारमा राजाहरूले शासन गर्थे । आज न राजा छन्, न त्यस्तो निरंकुश कानुन नै छ । यसबेला सरकारले खासखास विषयका लागि फरक प्रकारका अनुसन्धानहरूमा जनशक्ति परिचालित गर्नुपर्थ्यो ।
चलेका मान्यताहरूलाई तार्किक र वैज्ञानिकीकरण गर्नु अबको प्रारम्भिक अनिवार्यता हो । वास्तवमा यो दशैँ मान्न थालिएको कहिलेदेखि हो र यसको ऐतिहासिक आधार के छ ? किताब पढेर कसैले चाड स्थापित गर्न सक्दैन । एउटा पुरेतको उर्दीले पनि पर्वहरू सुरु हुँदैनन् ।
आज हिन्दु धर्मले अंगीकार गरेको विक्रम सम्वत् पनि एउटा राजाका नाममा चलेको सम्वत् हो । तर, त्यस सम्वतलाई कसरी तमाम शास्त्रीय आधारमा उभ्याइयो ? के हिन्दु धर्म २०७६ वर्ष मात्र पुरानो हो ? बुद्ध जन्मेको बेला पनि ज्योतिषीहरू थिए । तिनीहरूले बुद्धको चिना कुन सम्वत्को आधारमा बनाएका थिए होला त !
दशैँ मैले थाहा पाएदेखि नै मान्दै आएको छु तर बुद्धि पस्न थालेपछि मलाई लगातार उठिरहने यी माथिका जिज्ञासाहरूको अन्त्य भएको छैन । मनभरि प्रश्न बोकेर म हरेक वर्ष निधारमा टीको थापिरहेछु । अरूलाई लगाइदिँदै छु । मलाई नै थाहा छैन यी सब कुरा म किन गरिरहेछु । उसो त सबै जाति वा व्यक्तिका आफ्ना विशेष कुरा हुन्छन् तर जब कुनै कुरा राष्ट्रभरिको हुन्छ, त्यसले सबैको चासो र जिज्ञासालाई पूरा गर्न सक्नुपर्छ । मेरो जिज्ञासा कहिले कसले पूरा गरिदेला ?