साहित्यकारद्वय कृष्ण धरावासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘आमा सम्मान’बाट विर्तामोड नगरपालिका– २ चारपानेकी मायादेवी रिजाल सम्मानित हुनुहुने भएको छ ।
अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैँको अष्टमीका दिन सो सम्मान प्रदान गर्दै आएको छ । उहाँलाई नगद ११ हजार रुपैयाँ र सम्मानपत्रले यही असोज १९ गते अष्टमीका दिन सम्मान गरिने प्रतिष्ठानका सचिव केशव मैनालीले जानकारी दिनुभयो ।
भोजपुर ४ नम्बर पख्वाभिरालेमा बुबा जनकलाल चम्लगाईं र आमा डिकुरादेवी चम्लगाईको कोखबाट जन्मिनुभएकी मायाको १६ वर्षको कलिलो उमेरमै झापा चारपानेका शिवप्रसाद रिजालसँग २०३१ सालमा विवाह भएको थियो । विवाह भएको १९ वर्ष बित्न नपाउँदै दुवै मिर्गौला खराब भएका कारण २०५० सालमा श्रीमान् शिवप्रसादले धर्ती छाडेपछि तीन सन्तान हुर्काउनेदेखि घर व्यवहार चलाउनेसम्म जिम्मा आइलाग्यो उहाँको काँधमा ।
छोरी र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरूलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेका एकल आमाहरूलाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको र यस पटक मायालाई सम्मान गरिने सचिव मैनालीले बताउनुभयो ।
सो सम्मानबाट यसअघि आठ महिला सम्मानित भइसकेका छन् ।