रूपक अलङ्कार | दृष्टिकोण | असोज १५, २०७६
यतिबेला समस्त हिन्दु समुदायमा नवरात्र सुरु भएको छ । घरघरमा घटस्थापना गरेर भक्तजनहरू देवीको उपासना गरिरहेका छन् । प्रतिपदादेखि नवमीसम्म चल्ने भएकाले यस पर्वलाई नवरात्र वा नवरथा पनि भनिन्छ । यस पर्वलाई विजया दशमी, बडा दशैँ वा दशैँ मात्र पनि भनिएको पाइन्छ ।
दशैँ पर्व मनाउने र देवीको उपासना गर्ने अत्यन्त पुरानो परम्परालाई सनातन धर्मले अक्षुण्ण राख्दै आएको छ । वैदिक परम्परामा हेर्ने हो भने वर्षभरिमा चारवटा नवरात्रको विधि पढ्न पाइन्छ । तीमध्ये शारदीय नवरात्र र चैतमा पर्ने नवरात्र अहिले पनि हाम्रो समाजमा मनाउने गरिन्छ । कुनैकुनै वैदिक उपासकहरू भने अहिले पनि चारवटै नवरात्रमा उपासना गर्छन् । देवीको उपासना गर्दा देवी महात्म्य पाठ र देवीका मन्त्रहरूको जप गर्ने प्रचलन देखिन्छ । हुनत दशैँ जस्तो महत्त्वपूर्ण पर्वको अनेक दृष्टिले विवेचना गर्न सकिन्छ तथापि दशैँ र चण्डीको सम्बन्धका विषयमा केही छलफल गर्नु यस आलेखको अभीष्ट हो ।
चण्डीलाई दुर्गा सप्तसती वा देवीमहात्म्य पनि भनिन्छ । अष्टादश महापुराणमध्ये एक मार्कण्डेय महापुराणबाट चण्डी साभार गरिएको हो । मार्कण्डेय पुराणमा १३४ अध्याय र १३ हजार श्लोकहरू छन् । मार्कण्डेय पुराणको ७८ देखि ९०औँ अध्यायलाई नै दुर्गासप्तसती वा चण्डी भनिन्छ ।
हुनत अरू समयमा पनि चण्डी पाठ गर्ने चलन छ तथापि नवरात्रमा चण्डी पाठ गर्नुको परम्परा र महत्त्व बेग्लै छ । चण्डी पुराणको विशिष्ट अंश त हुँदै हो, यो एउटा काव्यात्मक सौन्दर्यले ओतप्रोत ग्रन्थ पनि हो । भक्तहरू भने यसलाई यम्यम् चिन्तयते कामम् तम्तम् प्राप्नोति निश्चितम् अर्थात् जेजे इच्छा गर्यो, त्यहीत्यही पुर्याउने साधनका रूपमा चण्डीलाई स्वीकार्छन् ।
विशेषगरी यस ग्रन्थमा देवी र दैत्यका बीचको युद्ध र देवताहरूले गरेको देवीको स्तुति वर्णन गरिएको छ ।
चण्डीको प्रथम अध्यायलाई प्रथम चरित्र भनिन्छ । यसमा स्वारोचिष मन्वन्तरका सुरथ राजाको कथा पढ्न पाइन्छ । राजा सुरथले युद्धमा पराजय व्ययहोर्नुपर्यो । त्यसपछि बिरक्तिएका उनी एक्लै जंगलमा पुगे । उनको भेट मेधा ऋषिको आश्रम परिसरमा समाधि नामक वैश्यसित भयो । वैश्य पनि आफ्ना स्त्री र सन्तानहरूको व्यवहारबाट आजित भएर त्यहाँ आइपुगेको थियो । एउटा राज्य वैभवबाट र अर्को परिवार सुखबाट वन्चित बन्न पुगेका उनीहरू दुवै जना मेधा ऋषिका शरणमा पुगे । उनीहरूको मोह र भ्रमलाई चिर्न मेधाले विभिन्न प्रसंग सुनाउन थाले । ब्रह्माले गरेको देवीको स्तुति र योगनिद्राका कारण विष्णुले मधुकैटभ वधको प्रसंग प्रथम अध्यायमा वर्णन गरिएको छ ।
चण्डी, सप्तसती, देवीमहत्म्य आदि नामले प्रसिद्ध यस पौराणिक साहित्यको महत्त्वले हाम्रो समाज युगौँदेखि प्रभावित भएको छ । चण्डी स्तुति साहित्यको नमुना त हुँदै हो, नारी शक्तिको परिचायक पनि हो ।
द्वितीय अध्यायमा महिषासुरको प्रसंग उल्लेख गरिएको छ । महिषासुरको उत्पात खप्न नसकेर देवलोकमा हाहाकर भयो । देवताहरू भागेर व्रह्मलाई अघि लगाएर विष्णु र शिव भएका ठाउँमा पुगेर हाल खबर बेलिविस्तार लगाए । यस परिस्थितिबाट रिसाएका देवताहरू एउटा तेज उत्पन्न भएर एकाकार भयो । त्यो एकाकार भएको तत्त्व नारी रूपमा मूर्तीकरण भयो । सारा देवताले आआफ्ना शक्ति र आयूधहरूले सुसज्जित पारे र महिषासुरविरुद्ध लड्न तयार पारे । महिषासुरका सेनासित देवीको घनघोर संग्राम भयो ।
जसरी आगाले एकछिनमै सुकेका घाँस, पराल र दाउरालाई भष्म पार्छ, त्यसरी नै देवीले पनि दैत्य दललाई सखाप पारिन् ।
चण्डीको दोस्रो अध्याय अत्यन्त रोमाञ्चककारी छ । विष्मयकारी कल्पनाले सिँगारिएको यस अख्यानले जस्तोसुकै पाठकलाई पनि आकर्षित गर्छ ।
चण्डीको तेस्रो अध्याय पनि युद्धको वर्णनले भरिएको छ । यस अध्यायमा देवी र महिषासुरको भीषण युद्धको अत्यन्त आकर्षक प्रस्तुति पाइन्छ । युद्ध सौन्दर्यको उत्कट नमुना यस अध्यायमा देख्न पाइन्छ ।
चण्डीको चौथो अध्याय स्तुतिकाव्यको नमुना हो । देवीद्वारा महिषासुरको वध भएपछि खुसी भएका देवताहरूले दुर्गाको स्तुति गरे । देवीलाई अतिशय बलशालिनी, जगत्को आत्मशक्ति, संसार सृष्टिको हेतु, सृष्टिरूपा, स्थितिरूपा र संहाररूपाका उपाधिले सम्मान गरे । भागवतीले आवश्यकता पर्दा सहयोग गर्ने वरदान दिएर देवताहरूलाई आश्वस्त पारिन् ।
पाँचौँ अध्यायमा शुम्भ, निशुम्भ दैत्य र देवीको प्रसंग वर्णित छ । शुम्भ, निशुम्भ दैत्यबाट पराजित देवताहरू देवीले दिएको वरदानलाई सम्झिएर अपराजिता देवीको स्तुति गर्न थाले । देवताहरूको स्तुतिबाट प्रसन्न भएकी देवी सुन्दरी रूप धारण गरी हिमालय क्षेत्रमा घुम्न लागिन् । उनको रूप सौन्दर्यबाट मर्माहत भएका शुम्भ, निशुम्भका सेनामेनाले त्यस्ती परंलावण्यवतीस्त्रीलाई आफ्नी बनाउनुहोस् भनेर शुम्भ, निशुम्भलाई उचाले । शुम्भ, निशुम्भले पनि सुन्दरी रूपधारिणी देवीलाई लिन दूत पठाए तर जसले युद्धमा आफूलाई जित्छ, उसैसित विवाह गर्छु भनेर अड्डी लिइन् । नारी स्वाभिमान र प्रतिष्ठाका हिसाबले पाँचौँ अध्यायको महत्त्व अवर्णनीय पाइन्छ ।
छैटौँ अध्यायमा धुम्रलोचन वध र सातौँ अध्यायमा चण्डमुण्ड वधको वर्णन अत्यन्त आह्लादकारी ढंगमा गरिएको छ ।
आठौँ अध्यायमा ब्राह्मी, माहेश्वरी आदि देवीसित रक्तबीजलगायतका दानवहरूले युद्ध गरेको र मृत्युवरण गरेको सन्दर्भ पढ्न पाइन्छ । युद्धको घोर प्रचण्ड रूप यहाँ देख्न पाइन्छ ।
नवौँ अध्यायमा देवी र निशुम्भको संग्राम अनि दशौँ अध्यायमा शुम्भको संहार भएको कथा पढ्न पाइन्छ ।
यसरी चण्डीमा देवी र दानवका संग्रामको आकर्षक कथा पढ्न पाइन्छ ।
एघारौँ अध्यायमा देवताहरू फेरि देवीको स्तुति गर्न थाले । यस अध्यायमा देवीका विभिन्न रूप र विग्रहहरूको वर्णन गरिएको छ । यी श्लोकहरूले देवीको प्रशंसाका साथै गहन दार्शनिकता पनि वहन गरेका छन् ।
चण्डीको बाह्रौँ अध्याय फलस्तुति विषयमा आधारित छ । चण्डी अर्थात् दुर्गा सप्तसतीलाई गरिमामय बनाउने काम यही अध्यायले गरेको हो । चण्डी पाठ किन गर्ने, कहिले गर्ने ? जस्ता विषयमा यस अध्यायले प्रकाश पारेको छ ।
मेधा ऋषिबाट देवीको कथा सुनेपछि सुरथ राजा र समाधि वैश्य देवीको तपस्या गर्न थाले । तपस्याबाट प्रसन्न भएकी देवीले अभिलाषित वरदान दिइन् । यसरी दुर्गा सप्तसती तेह्र अध्यायमा पुगेर सकिएको छ ।
चण्डी पाठ गर्ने क्रममा कवच, किलक, अर्गलास्तोत्र, रातृसूक्त, देव्यथर्वशीर्ष, रहस्यलगायतका स्तोत्रहरू पनि पाठ गरिन्छ ।
चण्डी, सप्तसती, देवीमहत्म्य आदि नामले प्रसिद्ध यस पौराणिक साहित्यको महत्त्वले हाम्रो समाज युगौँदेखि प्रभावित भएको छ । चण्डी स्तुति साहित्यको नमुना त हुँदै हो, नारी शक्तिको परिचायक पनि हो । चण्डीको अर्थज्ञानविना पाठ गर्दा पनि फलप्राप्ति हुन्छ भन्ने विश्वास हामीलाई छँदै छ, अर्थसहितको अध्ययन गर्ने हो भने ज्ञान र रस दुवैबाट हामी लाभान्वित हुन सक्छौँ ।