प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरू बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रूपमा उदाउँदै आगामी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा प्रतिनिधित्व गर्दै छन् ।
आगामी मङ्सिरमा नेपालमा हुने १३औँ सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीको सम्मानजनक सहभागिता रहेको छ । हेटौँडामा भइरहेको बन्द प्रशिक्षणको क्रममा बुधबार गरिएको अन्तिम खेलाडी छनोटमा भीमदत्तनगरका आठ जना महिला खेलाडी छनोट भएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताउनुभयो । '६ जना महिला खेलाडी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै सागमा छनोटमा परे', प्रशिक्षक चन्दले भन्नुभयो, 'अन्य दुई जना महिला खेलाडी विभागीय टिमबाट खेल्दै छन् ।'
उहाँले खेलाडीको नियमित प्रशिक्षण र मिहिनेतको कारण सागसम्म पुग्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । 'यो चार/पाँच वर्षको मिहिनेतको फल हो', चन्दले भन्नुभयो, 'एउटै जिल्लाबाट सागमा यति ठूलो सङ्ख्यामा सहभागी हुनु उदाहरणीय हो ।' साग छनोटमा पर्ने महिला खेलाडीमा ५० किलो तौल समूहमा मनीषा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री र ६५ किलो तौल समूहमा नीरा आउजी रहेको प्रशिक्षक चन्दले बताउनुभयो ।
त्यसैगरी सुदूरपश्चिमकै महिला खेलाडी ६८ किलो तौल समूहकी निर्मला जागरी र ७२ किलो तौल समूहमा छनोट भएकी रेखा रावल नेपाल प्रहरीको विभागीय टिममा छन् । 'निर्मला र रेखा पनि कञ्चनपुरकै उत्पादन हुन्', प्रशिक्षक चन्दले भन्नुभयो, 'नेपाली सेनामा अनुबन्धित यहाँका पुरुष खेलाडी सुरेश चुनारा पनि ६० किलो तौल समूहमा आगामी सागमा भिडन्तको तयारीमा छन् ।' सागमा महिला र पुरुष गरी दश/दश तौल समूहका खेलाडी प्रतिस्प्रर्धा गर्ने चन्दको भनाइ छ ।
विगत पाँच महिनादेखि सागको बन्द प्रशिक्षणमा रहेका ४२ जनामध्ये अन्तिम छनोटमा २२ जना खेलाडी छानिएका छन् । '२२ मध्ये २० जना प्रतिस्प्रर्धामा उत्रिन्छन्', चन्दले भन्नुभयो, 'महिलातर्फ पूरै सुदूरपश्चिमको वर्चश्व छ ।'
सागमा ५३ किलो तौल समूहमा भिडन्तको तयारीमा रहेकी शिवाङ्गी दुबे दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी थिइन् । गत चैतमा भएको आठौँ वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी उनले आफ्नो तौल समूहमा स्वर्ण जितेपछि शिवाङ्गी चर्चाको पात्र बनेकी थिइन् । 'हामीलाई भारतका खेलाडी नै आगामी सागमा चुनौतीका रूपमा छन्', साग छनोटमा परेकी शिवाङ्गीले भन्नुभयो, 'स्वर्ण त भन्दिन, पदक दिलाउने प्रयत्न गर्दै छु ।'
भारतको गवाहटीमा भएको १२औँ सागमा पहिलो पटक कुस्ती खेल समावेश गरिएको थियो । १२औँ सागमा कञ्चनपुरका लीला सिंह, ईश्वरी थापा र लक्ष्मी खत्री सहभागी थिए । 'सागका लागि महिलातर्फ अहिले सबै नयाँ अनुहार छनोट भएका छन्', प्रशिक्षक चन्दले भन्नुभयो, 'खेलाडीले मिहिनेत हेर्दा फल पाउने आशा गरेका छौँ ।'