रामायणमा नारी: प्रतिभा, मेधा र अन्तर्दृष्टी आत्माका धर्म हुन्, शरीरका होइनन्

रामायणमा नारी:  प्रतिभा, मेधा र अन्तर्दृष्टी आत्माका धर्म हुन्, शरीरका होइनन्

लक्ष्मी गौतम  |  दृष्टिकोण  |  असोज १७, २०७६

आदर्श महाकाव्य रामायण, जसमा नारी आदर्शको उच्च महत्ता प्रदर्शन गरिएको छ, त्यस युगकी नारी आदर्शकी प्रतिपूर्ति आदर्शभूत सीताको चरित्र चित्रण नारी संस्कृतिको यथार्थ स्वरूप बोध गर्न पर्याप्त छ । कुनै पनि राष्ट्रको संस्कृतिको उच्चताको परिचायक नारीप्रति गरिने सामाजिक व्यवहार नै हो । रामायणकालीन संस्कृतिलाई अहिले पनि आर्य संस्कृतिको मूल आदर्श मानिन्छ । कन्या होस्, प्रौढ होस्, वृद्धा होस्, जुनसुकै अवस्थाका नारीको चारित्रिक आदर्शलाई उच्च सम्मानका साथ प्रस्तुत गरिएको छ ।

कन्याको भावी जीवन उत्कृष्ट, सुखी र वैभवशाली होस् भन्ने कामना प्रत्येक पिताको हुने गर्दछ, त्यसैले राजा जनकले सीताको विवाहार्थ विशाल स्वयम्वरको आयोजना गरे । त्यसको तात्पर्य मेरी छोरीले सर्वोत्कृष्ट संसारका सर्वश्रेष्ठ धनुर्धर पति रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्य रहेको छ । कन्या हो, जस्तोसुकै जुनसुकै वरलाई समर्पित गरौँ भन्ने भाव संसारका कुनै पनि मातापितालाई हुँदैन किनभने नारी सम्मान र इज्जतकै लागि सबैको कामना असल वरको चयन नै हुने गर्दछ । यो पनि नारी सम्मानकै प्रतीक हो ।

वर्तमान हाम्रो समाज भनूँ अथवा रामायणकालीन समाज, जहाँ अविवाहित कन्याहरूको माङ्गलिक उपस्थिति शुभ र मङ्गल मानिन्छ र मानिन्थ्यो । उत्सवहरूमा कुमारी कन्याहरूको उपस्थिति वाञ्छनीय मानिन्छ । जसरी प्राचीनकालमा कन्याको महत्त्व थियो, वर्तमानकालमा पनि त्यो सम्मान यथावत् देखिन्छ, जस्तै: अहिले पनि विवाहको पुनीत अवसरमा कन्यालाई अग्रसर गराई प्रस्थान गरिन्छ, यो पनि नारी सम्मानको प्रतीक हो । प्राचीनकालमा नारीहरूलाई व्यावहारिक र नैतिक शिक्षा दिइन्थ्यो, जुन कुरा वर्तमानमा पनि समान शिक्षाको नारा उद्घोषित गरिएको छ ।

वाल्मीकि रामायण (३/१६/२) मा सीतालाई पति सम्मानिता भन्दै अगस्त्य ऋषिले रामसँग भनेको प्रसङ्ग द्रष्टव्य छ– हे राम, जुनसुकै अवस्थामा पनि वनमा सीता प्रसन्न रहन सकून्, त्यही कार्य गर्नूृ । अर्थात् सीता सामान्य नारी होइनन्, राजा जनककी आदर्श पुत्री, अयोध्याका नरेश चक्रवर्ती सम्राट दशरथकी पुत्रवधूका साथै समस्त मर्यादाहरूका परिपालक, मर्यादा पुरुषोत्तम श्रीरामकी धर्मपत्नी हुन्, भन्ने आशय सम्मानका सूचक हुन् । नारीलाई सम्बोधन गर्दा देवी, आर्ये, भद्रे कल्याणी आदि शब्दद्वारा सम्मानपूर्वक सम्बोधन गरिन्थ्यो ।

राम वन गमनको सन्दर्भमा जसरी सीता प्रसन्न रहन्छिन्, त्यही कार्य गर्नू भन्ने आदेश अवलोकनीय छ:

यथैषा रमते राम इह सीता तथां कुरु ।
दुष्करं कृतवत्येषा वने त्वामनुगच्छति ।।
(वा.रा. ४/२४/३५)

राम वनवास प्रस्थान गर्दा सीता पनि वल्कल वस्त्रधारण गरेर राम समक्ष उपस्थित भएको देखेर महर्षि वशिष्ठले महारानी कैकेयीलाई निर्दिष्ट गर्दै भन्नुहुन्छ– ‘रामका लागि जुन सिंहासन तयार गरिएको छ, त्यस सिंहासनमा सीता नै बसून् भनेर वशिष्ठद्वारा नै अयोध्याको उच्च सिंहासनमा बसून् ।’ यही आदेश भएको दृष्टान्त रामायणमा प्रस्तुत भएको छ:

न गन्तव्यं वनं देव्या सीतया शीलवर्जितः ।
अनुष्ठास्यति रामस्य सीता प्रकृतमासनम् ।।

आत्मा हि दारा सर्वेषां दारसङ्ग्रह वर्तिनाम् ।
आत्मेयमिति रामस्य पालयिष्यति मेदिनिम् ।।

(वा.रा.३/१३/४)

उपर्युक्त तथ्यहरूको आधारमा स्पष्ट हुन्छ, नारी शारीरिक वा मानसिक रूपमा कमजोर नभई देशकाल परिस्थितिअनुसार जुनसुकै ठाउँ वा सन्दर्भमा सम्मानित भएका छन् । यदि नारी आत्मविश्वासपूर्वक कुनै पनि कार्य क्षेत्रमा प्रवेश गरिन् भने सहज र सफलतापूर्वक कार्य सम्पन्न गरी आफ्नो दक्षता लोकलाई देखाउन सक्छन् भन्ने कुरा वेद, ब्राह्मण, आरण्यक, उपनिषद्, रामायण र नीतिशास्त्रका पंक्ति वा वाक्यहरूले सुस्पष्ट गरेका छन् ।

नारी सम्मानको उद्गार

वैदिककालमा नारीहरूको जुन सम्मान र इज्जत प्रतिष्ठा थियो, उत्तरवैदिककाल हुँदै वर्तमानसम्मको अवलोकन गर्दा नारी सम्मानमा कहीँ न कहीँ आघातहरू आइपरेका छन् तथापि नारी जागृति र चेतनाको विकासले पुनः त्यो सम्मानको मार्ग प्रशस्त भइरहेको छ ।

पूर्वीय वाङ्मयको चर्चा गर्दा वराहमिहिर यस्ता विद्वान् लेखक हुन्, जसले नारीको प्रशंसा मुक्तकण्ठले गरेका छन्:

श्रुतं दृष्टं स्पृष्टं स्मृतमपि नृणां ह्लादजननं–
न रत्नं स्त्रीभ्योऽन्यत् क्वचिदपि कृतं लोकपतिना ।

तदर्थं धर्मार्थौ सुतविषय सौख्यानि च ततः ।
गृहे लक्ष्म्यो मान्याः सतमबला मानविभवै ?।।

(बृहत्संहिता– ७४/४)

अर्थात् सृष्तिकर्ता ब्रह्माजीले यस्तो दिव्य रचना गर्नुभयो– सुन्दा, हेर्दा, स्पर्श गर्दा अथवा स्मरण गर्नाले पनि श्रेष्ठ व्यक्तिको हृदयमा आह्लाद= आनन्द उत्पन्न गर्ने भएकी स्त्रीरूपी रत्न संसारमा अर्को कुनै रत्न छैन । तिनै स्त्री रत्नमै आधारित भएर धर्म– अर्थ पुत्रपौत्रदि (कामविषयक) सुख पनि तिनैका माध्यमबाट पाइन्छ । नारीहरू घरमा साक्षात् लक्ष्मी हुन्, मान र वैभव आदिद्वारा नारीहरू लोकमा सदैव सम्माननीय भएर रहेका छन् । यसरी विद्वान् कविहरूले नारी सम्मानका आफ्ना भावपुञ्जहरू लोकमा प्रवाहित गरेका छन् । त्यसैगरी कविले नारी सम्मानमा काव्यात्मक भावगुच्छाहरू व्यक्त गर्दै लेखेका छन्:

येऽङ्गनानां प्रवदन्ति दोषान् वैराग्यमार्गेण गुणान् विहाय ।
ते दुुर्जना मे मनसो विर्तक सद्भाववाक्यानि न तानि तेषाम् ।। ७४/५

प्रबूत सत्यं कतारोऽङ्गनानां दोषोऽस्ति यो नाचरितो मनुष्यै: ।
धाष्टेन पुम्भिः प्रमदा निरस्ता गुणाधिकास्ता मनुनात्र चोक्तम् । ७४/६

अर्थात्– जुनसुकै व्यक्तिले वैराग्य मार्ग अवलम्बन गरेका कारण नारीहरूमा रहेका गुणहरूलाई नहेरी दोषहरू मात्र वर्णन गर्दछन्, ती दुर्जन हुन् भन्ने मेरो तर्क छ । तिनीहरूका विचारमा कुनै सत्य वा प्रमाण छैन । नारीहरूमा के यस्ता दोषहरू छन्, जुन पुरुषहरूले पहिले गरेनन् ? अर्थात् पुरुषहरूले पहिले ती दोषहरू गरेर देखाए, त्यसैलाई नारीहरूले पछि सिके । पुरुषहरूका धृष्टताले गर्दा नारीहरू पराजित हुनुपर्‍यो किनभने पुरुषहरूमा भन्दा नारीहरूमा अधिक गुण भएका कारण सामथ्र्य हुँदा पनि मर्यादाको रक्षा गरे ।

यसरी वेददेखि साहित्य स्रष्टाहरूसम्मले नारी सम्मानका बारेमा मुक्तकण्ठले प्रशंसा गरेबाट स्वतः स्पष्ट हुन्छ । समाजमा नारीको स्थान यदाकदा नारीकै कारणले सम्मान क्षयीकृत भएका अनेक उदाहरणहरू देखिन्छन् । लोकजीवनमा नारीहरूले लोकसम्मान प्राप्त गर्न आफ्नै चारित्रिक संस्कारको रक्षा गर्नु नितान्त आवश्यक छ । योग्यता, दक्षता– बौद्धिक कार्यक्षमता आदिले नारीले सम्मान प्राप्त गरेका छन् ।

अबका दिनमा नारीले सम्मान पाएनन् वा उनीहरूलाई दिइएन भन्ने आलाप पनि आवश्यक जस्तो लाग्दैन किनभने नारी राष्ट्रका प्रमुख अर्थात् राष्ट्रपति, प्रधानन्यायाधीश, प्राध्यापक, इन्जिनियर, सचिव, निर्देशक, कुलपति, पाइलट, विज्ञानको सन्दर्भमा नासाको केन्द्रका समेत रहेर आफ्नो अनुसन्धानात्मक कार्य दक्षताद्वारा उच्च राख्न सफल भइसकेका छन् । कसैले कसैलाई आरोप प्रत्यारोप होइन, एकले अर्कोलाई सम्मान गर्दा आफैँ सम्मानित भइन्छ भन्ने वातावरणको सिर्जना गर्नुपर्छ भन्ने समयको माग सर्वत्र बोध गर्नुपर्ने देखिन्छ । ऋग्वेदको मन्त्रले भन्दछ– अहं केतु, अहं मूर्धा= म नै फर्फरायमान झण्डातुल्य अग्रगामी ज्ञानवती विदूषी हुँ । म नै समस्त नारीहरूमा मूर्धन्य= श्रेष्ठ, शिरतुल्य भएर रहन्छु ।

यस्ता अमूल्य वैदिक वाणीले प्रशंसनीय भएका नारीको सम्मान लोकजीवनमा शाश्वत रहिरहन्छ । यो कुनै व्यक्ति विशेषले कृपा गरेर नभई नारी चेतना, जागृति र कार्यक्षमताको विकासले प्राप्त गरेको सम्मान हो । जीवनका अनेक कालखण्डमा नारीहरूले समाजमा विभिन्न खालका दुःख–कष्ट, यातना–सम्मान, आरोह–अवरोह आदि परिस्थितिजन्य घटनाहरूलाई आत्मसात् गर्दै यस जागृतिको अवस्थासम्मका सोपानहरूमा आवद्ध हुने सौभाग्य हस्तगत गरिरहेका नारी सुसम्मानका उचाइहरूले क्षितिज चुम्न सक्ने सफलताका मार्गहरू प्रशस्त भइरहेका छन् ।

वैदिककालमा नारीको सामाजिक मर्यादा अत्यन्त उच्च तथा गरिमामय देखिन्छ । पूर्वीय ग्रन्थहरूको अध्ययनबाट समाजमा सामाजिक मर्यादा र मानवीय मूल्यलाई संस्थापित गर्ने हो भने नारी र पुरुष दुवैको सहअस्तित्वलाई सहज रूपमा आत्मसात् गर्न सक्नुपर्छ भन्ने सार निस्कन्छ । दुवै एकअर्काका परिपूरक हुन् । एकाकी अस्तित्व कसैको पनि सम्भव छैन ।

विद्या मुक्तिको द्वार

हाम्रा ऋषि महर्षिहरूले भनेका छन्– सा विद्या या विमुक्तये । विद्या त्यही हो, जसले हामीलाई अज्ञानको बन्धनबाट विमुक्त गर्दछ । समदर्शी एवं त्रिकालज्ञ ऋषिहरूले चार आश्रमहरू ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्यासको सुन्दर व्यवस्था गरेका थिए । ब्रह्मचर्यको कठोर नियमलाई पालन गर्दै ब्रह्मचारी छात्राले जब संयमपूर्वक व्यावहारिक शिक्षाका साथै लौकिक र पारलौकिक अर्थात् यस लोकसम्बन्धी र परलोकसम्बन्धी कल्याणकारी विद्या पढेर स्वस्थ एवं संयमी भई ज्ञान प्राप्त गर्दथे, त्यही नै आर्य जातिको स्वरूप थियो । पौरस्त्य शास्त्रहरूमा नीतिशिक्षाको सम्बन्धमा पूर्ण गहिराइपूर्वक विचार भएको छ । शिक्षाको उद्देश्य लोकजीवनको अभ्युदयका साथै प्राप्तिको इच्छा मानव जातिको मूल प्रवृत्ति रह्यो, त्यसैले वर्तमान समयमा समष्टिगत रूपले शिक्षाको उद्देश्य भौतिक समुन्नति नै हुन गयो । तथापि, हाम्रा पूर्वज मनीषिहरूले मानव जीवनलाई सदासर्वदाका लागि सुखी बनाउने मार्ग प्रशस्त गरे । हाम्रा शास्त्रहरूमा विद्याका दुई रूप प्रस्तुत गरिएका छन्–

द्वे विद्ये वेदितव्ये परा चैवापरा च । पत्रापरा ऋग्वेदो यजुर्वेद...
तदक्षरमधिगम्यतेः ।

भगवती श्रुतिको भनाइ छ– ऐहिक र आमुष्मिक सुख शान्ति र अभ्युदय प्रदान गर्ने भएका समस्त विद्या अपरा हुन् भने परिपूर्ण अक्षर तत्त्व परमात्माको उपलब्धि गराउने सर्वोत्तम विद्या परा नामले समादृत भएकी छन् । महर्षिहरूका विचारमा नियन्त्रित भौतिक विज्ञान कलाकौशलादिको उन्नतिपूर्वक अध्यात्मिक उन्नयन गर्दै परमात्मा तत्त्वको प्राप्ति जुन शिक्षाद्वारा हुन्छ, त्यही शिक्षा सर्वाङ्गपूर्ण अमृत तत्त्व हो । त्यसैले पूर्वज मनीषिहरूले स्पष्ट शब्दमा भने–

अविद्यया मृत्युं तीत्र्वा विद्ययाऽमृताश्नुते (ईशोपनिषद् ११)

अर्थात् जुन विद्या र शिक्षाले मानवलाई मृत्युबाट स्वाभाविक साधारण कर्म र त्यसको बोध तथा अमृत शब्दले देवभाव अर्थात् अमृत तत्त्वको प्राप्ति गराउँछ, त्यही विद्या हो भन्ने निर्देश गर्नुभयो ।

मन्त्रद्रष्टा नारी

नारीहरूका बारेमा प्राचीनकालदेखि आधुनिककालसम्म अवलोकन गर्दा आफ्नै बौद्धिक क्षमताको विकास गर्दै वैदिक ज्ञानविज्ञान, सभ्यता, संस्कृति, धर्म–दर्शन सामाजिक, नैतिक व्यवस्था र जीवनका मूल्यहरूको निर्माणमा ऋषिका नारीहरूको महनीय भूमिका रहेको छ । ऋग्वेदमा ती ऋषिकाहरूद्वारा दृष्ट (२७६) मन्त्रहरूले प्रकृति, जीवन–जगत् र जीविकाका बारेमा आफ्ना प्रष्ट विचारहरू प्रवाहित गरी ऋषिधारामा समाहित भएका छन् । प्रतिभा, मेधा र अन्तर्दृष्टि आत्माका धर्म हुन् । शरीरका होइनन् । त्यसैले दिव्य गुणहरूले समन्वित भएर पुरुष ऋषिहरूका समान नारी ऋषिकाहरू पनि भए । अल्पसङ्ख्यामा रहे पनि नारी ऋषिकाहरूको नाम वृहत्देवता ग्रन्थ (/२/८२–८४) मा निम्नानुसार उल्लेख गरेको पाइन्छ–

घोषा गोधा विश्ववारा अपालोपनिषन्निषत् ।
ब्रह्मजाया जुहूर्नामागस्त्यस्य स्वसादिति: ।

इन्द्राणि चेन्द्रमाता च सरमा रोमशोर्वशी ।
लोपामुद्रा च नद्यश्च यमी नारी च शश्वती ।

श्रीर्लाक्षा सार्पराज्ञी वाक्श्रद्धा मेधा च दक्षिणा ।
रात्रि सूर्या च सावित्री ब्रह्मवादिन्य ईरिता:।

(बृहद्देवता २/८२–८४)

ऋषिका घोषाले आफ्नो प्रतिभाजन्य चातुर्यले निर्भीकतापूर्वक नारीका अधिकारहरूको घोषणा गर्दै आफ्नो घोषा नामलाई सार्थक बनाएकी छन् ।

जीवं रुदन्ति वि मयन्ते अध्वरे दीर्घामनु प्रसितिं दीधियुर्नरः ।
वामं पितृभ्यो च इदं समेरिरे मयः पतिभ्यो जनयः परिष्वजे ।

(ऋ. १० म. ४०/१०)

नारीहहरूले पितृहरूका लागि असल सन्तान प्रदान गरी पतिहरूलाई सुख दिन्छन् । अर्थात् दाम्पत्य जीवन र पितृहरूको उद्धारका लागि वंश परम्परालाई सार्थक बनाउने नारीहरू पवित्र कर्ममा अनुशासित रहन्छन् । घोषा, अपाला, विश्वारा जस्तै ऋषिकाहरूको अवदानले नै हाम्रो संस्कृतिको महिमा र महत्त्व संसारमा आकर्षणको केन्द्रबिन्दु बनेको छ । वेदका मन्त्रहरूका द्रष्टा अनेक ऋषिकाको दर्शन ऋग्वेदको अनुशीलनबाट हुन्छ । कक्षीवानकी पत्नी घोषाको नाम यस प्रसङ्गमा उल्लेखनीय र महत्त्वशाली पाइन्छ । लोपामुद्राले आफ्ना पति अगस्त्यका साथमा १/१७९ सूक्तको दर्शन गरेकी थिइन् । त्यस्तै, अपाला तथा रोमशाका साथमा सूर्यकी पुत्री सूर्या पनि ऋषिका थिइन् । त्यस समयमा आर्य नारीहरूमा नैतिकता पूर्णहरूले विद्यामान थियो । उनीहरू पवित्र आचरण तथा सदाचारका लागि सर्वत्र प्रसिद्ध थिए ।

निष्कर्ष

समग्रमा भन्दा वैदिककालमा नारीको सामाजिक मर्यादा अत्यन्त उच्च तथा गरिमामय देखिन्छ । पूर्वीय ग्रन्थहरूको अध्ययनबाट समाजमा सामाजिक मर्यादा र मानवीय मूल्यलाई संस्थापित गर्ने हो भने नारी र पुरुष दुवैको सहअस्तित्वलाई सहज रूपमा आत्मसात् गर्न सक्नुपर्छ भन्ने सार निस्कन्छ । दुवै एकअर्काका परिपूरक हुन् । एकाकी अस्तित्व कसैको पनि सम्भव छैन । सम्मान र मर्यादा सबैलाई चाहिन्छ । त्यसैले सामाजिक मर्यादाको परिपालन गर्ने सन्दर्भमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको हुँदा वर्तमानमा पनि नारीहरूले सम्मानित जीवनयापन गर्ने वातावरण सिर्जना होस्, यही वैदिक वाङ्मयको शिक्षा हो ।