लोकसंवाद संवाददाता | समाचार | असोज १९, २०७६
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले आइतवार पक्राउ गरेको छ ।
सभामुखको पदमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो । महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबार (अनामनगर) राखिने सुरक्षा स्रोतले जानकारी दिएको छ ।
महरालाई सभामुख निवासको मूल गेटबाट बाहिर निकालिएको थियो भने पक्राउ गरेर प्रहरीले लिने क्रममा बालुवाटारस्थित सभामुखको सरकारकी निवासबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
महरालाई निजी सवारी साधनमा चढाएर प्रहरीले लगेको थियो ।
महरा पक्राउ परेसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ ।
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महरालाई पक्राउ गरेको जानकारी प्रहरीले उपसभामुख तथा संघीय संसद सचिवालयलाई दिनेछ ।
संविधानको धारा १०३ को उपधारा ६ अनुसार 'संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिनेछैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।'
महराविरुद्ध फौजदारी अभियोग लागेकाले पक्राउ गरिएको हो । अब उनी पक्राउ परेको सूचना उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई प्रहरीले दिनेछ ।
प्रतिनिधिसभा नियमावलीको दफा २२४ को उपदफा २ अनुसार कुनै पनि सांसदलाई संसद अधिवेशन जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन भनेर लेखिएको छ । यसमा पनि संविधानमा व्यवस्था गरिएको विषय जस्ताको तस्तै ल्याइएको हो । यो उपधारामा थप लेखिएको छ, 'तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिनेछैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।'
यही दफा, उपदफाअनुसार 'संसद् अधिवेशन जारी भएको अवस्थामा कुनै सदस्यलाई पक्राउ गर्दा त्यसको सूचना सभामुखले प्रतिनिधिसभामा तत्काल दिनुपर्नेछ तर नियमावलीको उपदफा २ अनुसार बैठक नचलेको अवस्थामा सभामुखले सचिवालयको सूचनापाटीमा सोको सूचना टास गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ ।'
महरा पक्राउ परेपछि संसद सचिवालय सार्वजनिक सूचना जारी गर्नेछ । त्यस्तो सूचना सामान्यतः संसदका महासचिवले जारी गर्छन्, उनको अनुपस्थितिमा संसद सचिवालयका सचिवले जारी गर्ने चलन छ ।
सांसद पदमा रहेको व्यक्तिले गर्ने अपराधबारे संविधानमा थप लेखिएको छ । संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश छ, 'कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।'
यो पक्राउसँगै महराको सांसद पद निलम्बनमा परेको छ। उनीविरुद्धको आरोप पुष्टि भएमा सांसदबाट उनी पदमुक्त हुनेछन् भने सजाय पनि हुनेछ ।
महराले आफूविरुद्ध लागेको आरोपको कानुनी रूपमा प्रतिवाद गर्नेछन् । उनले आफू यो आरोपमा निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
प्रहरीले आफूसँग महरा रोशनीको कोठामा गएको प्रमाण प्राप्त भएको र हातपात गरेको प्रमाण प्राप्त भएको बताएको दाबी गरेको छ ।
महरालाई सुरुमा रोशनीले बलात्कार नै गरेको बताएकी थिइन् । त्यसपछि उनले बयान फेरेर आफूलाई महराले केही पनि नगरेको अभिव्यक्ति दिएकी थिइन् । प्रहरीलाई तत्काल स्वास्थ्य परीक्षण गर्न पनि उनले दिएकी थिइनन् ।
प्रहरीलाई उक्त मुद्दाको अनुसन्धान र छानबिन गर्न दबाब बढेपछि रोशनीको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनलाई उजुरी दिन लगाइएको थियो । रोशनीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन्।
प्रहरीलाई प्राप्त प्रमाण र रोशनीको आरोपमा सत्य भेटिए महराले कैद सजाय भोग्नुपर्नेछ ।
महराले यौन दुर्व्यवहार गरेको विषयमा अपूर्ण अपराध भनेर कानुनमा व्याख्या गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा महराले गरेको अपराध सत्य पाइए दफा ३४ अनुसार सजाय हुनेछ! जसअनुसार महरालाई साढे ३ देखि ५ वर्षसम्म जेल सजाय हुनेछ।